राजनीति

एमालेप्रति माओवादी आक्रोश : दाहालले भने- संसद् विघटन गर्नेले नैतिकताको कुरा नगर्नू

By खबरहब

July 09, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै दाहालले प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति दिने गरेकोमा आक्रोश पोखे ।

उनले असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गर्नेहरूले नैतिकताको कुरा गर्न नसुहाउने बताएका हुन् ।

उनले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य गरेको धारणा राखे ।

तर अहिले एकाएक माओवादीसँग सहकार्य तोडेर कांग्रेससँग सहकार्य गर्ने एमालेको नियममा प्रश्न गर्ने ठाँउ गरेको उनले बताए । दाहालले कांग्रेस–एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाए ।

वर्तमान सरकारले सुशासनको काममा निरन्तरता दिँदै गर्दा बेचन झा प्रकरणपछि सत्ता समीकरण परिवर्तनको अवस्था सिर्जना भएको दाबी दाहालले गरे ।