अन्तर्राष्ट्रिय

बंगलादेशका हिन्दूसहित अल्पसंख्यकको पक्षमा भारतको नयाँ कदम

By खबरहब

August 09, 2024

नयाँदिल्ली- भारतले बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको निगरानीका लागि एक समिति बनाउने निर्णय गरेको छ ।

यो समिति बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा जुट्ने छ।

भारतीय गृहमन्त्री अमित शाहले शुक्रबार एक ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

‘बंगलादेशमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मोदी सरकारले भारत-बंगलादेश सीमा (आईबीबी) मा जारी अवस्थाको निगरानीका लागि एक समिति गठन गरेको छ’, उनले भनेका छन् ।

उनका अनुसार यो समिति बंगलादेशमा आफ्ना समकक्षी अधिकारीसँग संवादमा रहने छ । यो समितिले बंगलादेशमा नियमित संवादमा रहेर त्यहाँका भारतीय नागरिक, हिन्दु र अन्यअल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्ने छ । यस समितिको अध्यक्षता एडीजी, सीमा सुरक्षा बल र पूर्वी कमानले गर्नेछन् ।

बंगलादेशमा शेख हसिनाले देश छोडेर गएपछि सामाजिक सञ्जालमा हिन्दुहरूको सम्पत्ति र मन्दिरमा हमला गरिएका समाचार लगातार आइरहेका छन् ।

भारतका विदेश मन्त्री एस. जयशंकरले ६ अगस्टमा बंगलादेशको अवस्थाबारे सम्बोधन गरेका थिए ।

‘जुन कुराले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ, त्यो हो बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दा । उनीहरूको पसल र कयौँ स्थान‍का मन्दिरमा आक्रमणको खबर आएको छ। तर अहिले पनि हामीलाई यसबारेमा पूरा जानकारी आइसकेको छैन ।’

In the wake of the ongoing situation in Bangladesh, the Modi government has constituted a committee to monitor the current situation on the Indo-Bangladesh Border (IBB). The committee will maintain communication channels with their counterpart authorities in Bangladesh to ensure…

— Amit Shah (@AmitShah) August 9, 2024