काठमाडौं– अहिलेको पुस्ताले खलनायक मुकुन्द श्रेष्ठको फिल्म हेर्न पाएको छैन । सयौं सफल फिल्ममा जीवन्त अभिनय गरेका मुकुन्दले अभिनय क्षमताबाट बनाएको छवि हो- ‘डरलाग्दा भिलेन’ ! उनले फिल्म ‘आफ्नो बिरानो’ निर्देशन पनि गरेका छन् ।
मुकुन्द वि.सं. २०४० सालमा फिल्म ‘वासुदेव’बाट ठूलो पर्दामा प्रवेश गरेका थिए । नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’मा अभिनय गरेपछि उनी ठूलो पर्दाबाट अलग भए । कारण थियो– फिल्मप्रतिको वितृष्णा !
फिल्मप्रति वितृष्णा पैदा गर्न दुई कारण रहेको उनी बताउँछन् । ती हुन्– उही ढर्राका फिल्म र राजनीतिक अस्थिरता ।
‘प्रविधि भित्रिए पनि पुरानै तरिकाले फिल्म बने । कथा राम्रो र दमदार नहुने, तडकभडक तथा विवाद मच्चाएर नै फिल्म चलाउने प्रवृत्ति हावी भयो,’ उनी भन्छन्, ‘दर्शकले पर्दामा राम्रो फिल्म हेर्न भने नपाउने स्थिति भएपछि किन अभिनय गर्नुजस्तो भयो ।’
हरेक १० वर्षमा देशमा हुने ठूलो आन्दोलन उनलाई वितृष्णा गराउने अर्को प्रमुख कारण रह्यो । बामे सर्दै गरेको फिल्म क्षेत्रलाई यस्ता राजनीतिक गतिविधिले थाङथिलो बनाएपछि पेशा नै परिवर्तन गर्ने सोच पलाएको उनी बताउँछन् ।
‘आन्दोलन भइरहने, त्यसको प्रत्यक्ष असर फिल्म क्षेत्रलाई तत्कालै पर्ने ! यस्तो अवस्थामा दिगो पेशा अँगाल्नुपर्छ भनेर फिल्म नै छोडेँ,’ उनी भन्छन्, ‘व्यवसायिक खेती र घरेलु उद्योगसम्बन्धी काम गरेँ । अहिले पनि यस्ता केही काम निरन्तर गरिरहेको छु ।’
१२ वर्षपछि फिल्ममा
मुकुन्दले आफ्नो ऊर्जाशील उमेर फिल्म क्षेत्रमा लगानी गरे । २७– ५५ वर्षको समय सक्रिय रूपमा फिल्ममा नै बित्यो ।
फिल्म कोहिनुरबाट फिल्म क्षेत्रबाट टाढिए पनि उनी मिडियामा आइरहेका थिए । उट्पटाङ शीर्षक र थम्ब्नेलले उनलाई मिडियाबाट पनि टाढा गरायो ।
उनी भन्छन्, ‘फिल्म छाडेपछि पनि मैले अन्तर्वार्ता दिएँ, तर शीर्षकहरू भ्यूजका लागि उत्ताउला थिए । त्यसपछि अन्तर्वार्ता नै दिन छाडेँ । उहाँहरूको क्लिकबेट मलाई मन परेन ।’
उनले फिल्म छोड्ने निर्णय गरे पनि यसबीच प्रस्ताव नै नआएका होइनन् । पुरानै ढर्राका फिल्ममा काम नगर्ने भन्दै उनी मेकरबाट पन्छिए ।
यद्यपि पछिल्लो समय उनलाई आफू फिल्म क्षेत्रबाट एक्लिएको महसुस भएको छ । यस्तो महसुस भइरहँदा मुकुन्दले फिल्म ‘लाज शरणम्’बाट कमब्याक गर्ने भएका छन् ।
‘यसको कथा मेरा पुराना फिल्मभन्दा निकै पृथक लाग्यो । सुदूरपश्चिमको कथा छ । मैले पनि सुदूरकै भाषा बोल्नुपर्नेछ । भूमिका मेरा लागि च्यालेन्जिङ नै छ,’ उनी भन्छन्, ‘मलाई मान्छेले बिर्सिए जस्तो लाग्यो । म पनि यस क्षेत्रमा छु है भन्नका यो फिल्म उयुक्त हुन्छ भन्ने लाग्यो ।’
फिल्म खेलेको ४० वर्षपछि पहिलो ‘वर्कसप’
टेलिसिरियल ‘सक्किगोनी’को टिमले फिल्म ‘लाज शरणम्’ निर्माण गर्न लागेको हो । यही फिल्ममा उनले जीवनको पहिलोपटक ‘वर्कसप’को अनुभव लिए पाए ।
‘मैले पहिलो फिल्म खेलेको ४० वर्ष बढी भयो, तर वर्कसपमा बसेको थिइनँ । सीधा छायाङ्कनमा जाने गर्थ्यौं,’ मुकुन्दले अनुभव सुनाए । उनलाई कलाकारहरूबीच आत्मीयता बढाउन सहयोग पुर्याउनु ‘वर्कसप’को सबल पक्ष रहेको महसुस भएको छ ।
‘वर्कसपमा सिनियर–जुनियर सबै कलाकारसँग साक्षात्कार, घुलमिल र छलफल हुनेरहेछ । त्यो पक्ष मलाई गजब लाग्यो,’ उनी भन्छन् ।
त्यति बेलाका कुरा
मुकुन्द ५० को दशकमा निकै डिमान्डमा रहेका भिलेन हुन् । भनिन्छ- त्यसबेला पोस्टरमा उनको अनुहार राख्दा फिल्म चल्ने गर्थ्यो ।
पोस्टरमा आफ्नो फोटोको दुरुपयोग बढी हुन थालेपछि ‘गेस्ट रोल’ खेल्न कम गरेको उनी बताउँछन् । ‘मेरो गेस्ट रोल हुँदा पनि ठूलो पोस्टर राख्न थाले । मलाई हेर्न दर्शक आउने, तर सानो भूमिका भएकाले निराश हुन लाग्नुभयो । त्यसपछि कम गरेँ,’ उनी भन्छन् ।
फिल्मको व्यस्ताले घरमा सुत्नै नसक्ने अवस्था उनले भोगे । भन्छन्, ‘फिल्मको तालिका जुधेर घरमा आनन्दले सुत्न पाउदिनँथेँ । भान्सामा गएर सुत्नुपर्थ्यो । नजिकका मेकरहरूले थाहा पाएर भान्सामै आएर उठाएर पनि छायाङ्कनमा लगेका छन् ।’
त्यसबेला उनले एउटा फिल्म खेल्दा डेढ लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्थे रे ! ‘डेढ लाख रुपैयाँले बस्ती भएकै ठाउँमा जग्गा आउँथ्यो,’ उनी भन्छन् ।
फिल्मका किस्सा
निर्देशनमा डेब्यू फिल्म भएकाले ‘आफ्नो बिरानो’ उनका लागि विशेष छ । यसलाई उनले सम्झने अर्को कारण हो– छायाङ्कनस्थलमा २१ दिन रोकिनु !
यो फिल्म सुटिङ युनिट २०५३ मा छायाङ्कनमा निस्किएको थियो । झापामा छायाङ्कन हुँदा आँखा पाक्ने रोगका कारण २१ दिन थन्किनुपर्यो ।
‘आँखा पाक्ने रोग युनिटमा पनि सर्यो । छायांकन रोक्नुपर्यो । त्यो बेला नायक राजेश हमालले मलाई पारिश्रमिक पक्षमा सहयोग गर्नुभयो,’ उनी भन्छन्, ‘छायाङ्कन लम्बिएपछि खर्च भयो धेरै भयो भन्ने सोचेर उहाँले त्यसो गर्नुभएको थियो ।’
त्यस समय राजेश हमाललाई ‘मुडी’को आरोप लाग्ने गरेको उनले सुनेका थिए । तर, काम गर्दै जाँदा त्यस्तो आरोप गलत रहेको महसुस भयो ।
‘त्यो उहाँका शत्रुले फैलाएको कुरा रहेछ । आँखाको समस्या छ, कोहीसँग बोल्दैन भनेर बाहिर फैलाइएको भ्रम रहेछ,’ मुकुन्दले सुनाए ।
अर्को उनले नबिर्सने घटना हो– दीपाश्री निरौलासँगको सुटिङ । सिभी प्रोडक्सनले निर्माण गरेको फिल्मको नाम बिर्सिए । गेस्ट रोलमात्र भएकाले सम्झन खोजे पनि उनलाई सो फिल्मको नाम याद आएन ।
यो फिल्म छायाङ्कन दौरान उनी पुर्ख्यौली घर विराटनगरमा थिए । निर्देशकले हवाई टिकट नै काटिदिएपछि उनी बाध्य भएर गेस्ट रोल गर्न काठमाडौं आए ।
छायाङ्कन स्थलमा पुगेपछि थाहा भयो– दीपाश्रीलाई ‘रेप’ गरेको दृश्य रहेछ । भने, ‘मलाई त्यतिखेर निकै सङ्कट पर्यो । विराटनगरदेखि चिनेको छोरी जस्तो मान्छेसँग कसरी त्यस्तो दृश्य गर्नु !’
यद्यपि दीपाश्रीले नै सहज मानेपछि उनले त्यो दृश्य गरे । तर, उनलाई अहिले पनि त्यो बाध्यतामा फस्नु नपरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
‘त्यही रोपको मात्र दृश्य छ । अलि लामो भए पनि हुन्थ्यो । छोरी जस्तो मानेको दीपासँग त्यो दृश्य गरेँ,’ उनी भन्छन्, ‘अहिले पनि मैले के गरेको होला जस्तो लाग्छ ।’