काठमाडौं- फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । निर्माण पक्षले सोमबार टाइटल पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । पृष्ठभूमिमा अस्ताउन लागेको घाम देख्न सकिन्छ ।
सलोन-सलिना फिल्मस् प्रालिको ब्यानरमा यो फिल्मको प्रस्तुतकर्ता सनाले बस्नेत हुन् । पछिल्लो एक दशकदेखि अभिनयमा सक्रिय सलोनले सक्षम सुवेदीसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् ।
यसै फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा सहायक निर्देशन गरेको अनुभव छ ।
सलोनका अनुसार असोज ११ बाट छायाङ्कनमा निस्कने तयारीसाथ कलाकार चयन भइरहेको छ । उनले खबरहबलाई भने, ‘केही नयाँ प्रतिभालाई स्थान दिने सोचमा छौं । बालकलाकार खोजिरहेका छौं ।’
सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले बाबु-छोरीको कथा प्रस्तुत गर्ने सलोनको भनाइ छ । यसको कथा सुमन गजमेरले लेखेका हुन् ।