राजनीति

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

By ज्ञानु घिमिरे

September 09, 2024

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई पनि सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना गरेको आरोप लागेको छ ।

पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङविरुद्ध ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी गरेका छन् ।

धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको उजुरी कुम्भराजले प्रहरीमा हालेका हुन् । उनैले नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको अध्यक्षतामा गठित संसदीय समितिमा पनि उजुरी हालेका छन् ।

तर यसबारे पूर्वकानून मन्त्री गुरूङ कुम्भराजले फसाउने प्रपञ्च रचेको बताउँछन् । कुम्भराजले नै आफ्नी श्रीमतीलाई विभिन्न समयमा खबर नै नगरी विदेश पठाउने गरेको धनराजले दाबी गरे ।

यति मात्र होइनै, कुम्भराजकै कारणले आफू र श्रीमतीको सम्बन्ध विच्छेद हुन पुगेको पनि उनले खबरहबसँग खुलाएका छन् ।

श्रीमतीले मितेरी बचत तथा ऋण सहकारीको म्यानेजरका रुपमा काम गरेको पनि उनले स्वीकार गरेका छन् ।

‘श्रीमती सहकारीकी म्यानेजर थिइन् । उनी कुम्भराजले विदेश पठाएको भन्दै जाने गर्थिन् । तर मलाई कुनै जानकारी हुँदैन थियो’, गुरुङले भने, ‘चेयरमेनले मलाई विदेश पठाएको भन्थिन्, काम नभनेपछि पटक पटक एउटै कुरा दोहोरिन्थ्यो । उनका गतिविधि र कुरा शंकास्पद लाग्दै गएपछि मैले तेस्रो पटक घर नआउने गरी जानू भनेको थिएँ ।’

धनराजका अनुसार त्यसो भनेपछि ज्योतिले अदालतमा डिभोर्सको फाइल गरेकी थिइन् । त्यसपछि २०७६ फागुन २९ गते उनीहरूको डिभोर्स भइसकेको छ। उनका अनुसार उनको डिभोर्स भएको ४ वर्ष ६ महिना बितिसकेको छ ।

धनराज आफू कुनै पनि सहकारीको रकम दुरुपयोगमा संलग्न नभएको दाबी गर्छन् । उनले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।

‘म दोषी भए कारबाही भोग्न तयार छु । तर सत्य र निष्पक्ष छानबिन हुनुपर्छ’, गुरुङले खबरहबसँगको टेलिफोन संवादमा भने ।

समितिमा पनि उजुरी, बयानमा तानिँदै

एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले देशभरका २९ वटा सहकारीको बचत हिनामिनाबारे छानबिन गरिरहेको छ । समितिले प्रतिवेदन लेखन तयारी गरिरहेका बेला उपसभापति गुरुङविरुद्ध पनि उजुरी परेको छ ।

उनको उजुरी ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले दिएको समितिका एक सदस्यले खुलाएका छन् ।

एक साताअगाडि धनराज र ज्योति गुरुङ र अर्का ज्योति भण्डारीले आफ्नो सहकारीबाट रकम ठगी गरेको भन्दै कुम्भराजले निवेदन दिएका हुन् । उनीहरू दुवैजना थाइल्यान्ड या सिंगापुरमा लुकेर बसेको दाबी गरिएको छ ।

कुम्भराजले ज्योति ज्योति गुरुङ, धनराज र ज्योति भण्डारीले सहकारीको पैसा लगेर नदिएको बताएका छन् ।

त्यसपछि समितिले एक पटक धनराजको पनि बयान लिने तयारी गरेको छ । ‘प्रहरीले आफ्नो ठंगले काम गर्छ । ज्योति गुरुङ र सहकारीका अर्का व्यक्ति ज्योति भण्डारीको पनि खोजी भइरहेको छ । हामी समितिमा धनराजजीलाई झिकाएर बयान लिन्छौँ’, समितिका ती सदस्यले भने, ‘अहिले उहाँ उपत्यकाबाहिर हुनुहुन्छ रे ! हामी बयानमा बोलाउँछौँ ।’

उता सहकारीको रकम हिनामिना प्रकरणमा फस्ने डरले ज्योति र धनराजले सम्बन्ध विच्छेद गरेको दाबी कुम्भराजको छ । उनले त्यही ब्यहोरासहितको उजुरी प्रहरीमा दिएका छन् । तर यता धनराज भने कुम्भराजकै कारण आफ्नो घरबार बिग्रिएको जिकिर गरेका छन् ।

धनराजसँग सम्बन्ध विच्छेद गरिसकेकी भनिएकी ज्योति भने अहिले विदेशमा लुकेर बसेकी छन् ।

धनराजको भनाइ जस्ताको तस्तै

म अहिले सुनसरीमा छु । यस कुराबारे गाइँगुइँ चलेपछि मैले पनि थाहा पाएँ । यसको यथार्थ छानबिन माग गर्दछु । मलाई यो विषयमा चासो थियो । सहकारीकै कारण मेरो घरबार बिग्रिएको हो । ज्योति र मेरो पाँच वर्षअगाडि नै सम्बन्ध विच्छेद भएको हो । उनी ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी म्यानेजर थिइन् ।

संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नै उनलाई कहिले थाइल्यान्ड, कहिले सिङ्गापुर पठाउने गरेका थिए । उनी महिना दिनसम्म विदेश हुँदा पनि मलाई कुनै जानकारी हुँदैन थियो । त्यही कुरामा मेरो विवाद भयो । मैले ज्योतिलाई किन महिना महिनौँसम्म विदेश गएको भनेर सोध्दा, होइन चेयरम्यानसँग मेरो सल्लाह भएको छ भन्ने जवाफ आउँथ्यो । के काममा गएको हो भन्दा जहिले तपाईँलाई किन चाहियो, अफिसको काम हो भन्ने जवाफ आउँथ्यो

बारम्बार एकै कुरा र बहाना दोहोरिन थालेपछि तेस्रो पटक पनि विदेश जान तयार भएको बुझेँ । मैले महिनौँसम्म तिम्रो बिदा कसरी हुन्छ भनेपछि, चेयरम्यान कुम्भराज र मेरो सल्लाह छ तपाईंलाई किन चाहियो भन्ने जवाफ दिइन् । घरीघरी त्यही कुरा दोहोरिइरह्यो । तेस्रो पटक हो क्यारे, थाइल्यान्ड कि सिङ्गापुर जान तयार भएपछि मैले रिस उठेर घरीघरी जानुभन्दा एकै पटक गए हुन्छ भनेँ । किन जाँदै आउँदै गर्नु, बरु घरबाटै निस्केर जाऊ भनेँ ।

काम नभन्ने तर श्रीमती विदेश गइरहने, मलाई पनि जानकारी नहुने । मैले यति भनेपछि उनले अरु कोहीसँग मिलेर सम्बन्ध विच्छेदको मुद्दा अदालतमा हालेकी रहिछन् । त्यसपछि मैले सम्झाउने कोसिस गरेँ अदालतमा, तर कुरा मिलेन । यस्तो रहस्य रहेछ । २०७६ फागुन २९ गते डिभोर्स भएपछियताको कुरा मलाई थाहा छैन ।

कता छिन्, कहाँ छिन्, त्यसपछि फर्किएर घर आएकी छैनन् । कुम्भराज र ज्योति मिलेर अहिले मलाई डोमिनेट गर्न यस्तो जालझेल गरेको बुझेको छु । यसको निष्पक्ष छानबिन माग गर्दछु । म दोषी भए कारबाही भोग्न तयार छु । मेरो घरबार बिगार्न भूमिका खेल्ने कुम्भराज नै हो । श्रीमीतलाई मलाई थाहा नदिई विदेश पठाउने कुम्भराज नै हो । अहिले उनैले ज्योतिलाई कहाँ लुकाएर राखेका होलान् । मेरो त ज्योतिसँग डिभोर्स भइसकेको हो । मलाई अब कुनै हक छैन, उसलाई खोज्ने । यो सबै कुरा कुम्भराजले गरेका हुन् ।

कुम्भराज गुरुङ र ज्योति विदेश पनि सँगै जान्थे कि थाहा भएन । तर घरबाट उनी मात्रै जाने गरेकी थिइन् । त्यो उनीहरू नै जानुन् । कानुनी र व्यावहारिक दुवै रूपमा ०७६ फागुन २९ गतेदेखि हामी लोग्ने स्वास्नीका रुपमा छैनौँ । त्यसपछि उनी घर आएकी पनि छैनन् । मैले पनि खोजी गर्ने विषय भएन । मैले सुनेअनुसार कुम्भराज र ज्योति दुवै मिलेर धनराजलाई पनि मुछेर बर्बाद गर्दिने योजना बनाएका छन् रे !

तर म त्यस्तो नचाहिने कुरामा संलग्न छैन । यसको निष्पक्ष छानबिन हुनुपर्छ । दोषीलाई कारबाही हुनुपर्छ । सहकारीको रकम दुरुपयोग गरेर श्रीमती विदेशमा लुकाएको अफवाह कसैले फैल्याउँदै छन् रे ! म फेरि पनि भन्छु, मलाई यसबारे केही थाहा थिएन । मेरो घरबार बिगार्न लागेका शत्रुबाट म आफैँ पीडित थिएँ । ५ वर्षअगाडि डिर्भोस भइसकेको कानुनी र व्यवहारिक प्रमाण मसँग सुरक्षित छन् ।’