काठमाडौं – हिन्दुहरुको महान पर्व दशैंको नवरात्र चलिरहेको छ। खुसी र उमङ्ग लिएर घर-घरमा दशैंले प्रवेश पाइसकेको छ। अधिकांको घरमा बली दिने चलन हुन्छ भने माछामासु नखानेहरुले पनि विभिन्न फलफूल, तरकारीको बली दिने चलन छ।
पाहुनाको सेवा सत्कार, पूजाआजासँगै साथीभाइ, घरपरिवारको जमघटसँगै रमाइलोका नाममा मदिराले प्रवेश पाउँछ। रमाइलो गर्नको लागि परिवार, आफन्त र साथीभाइबीच बसेर मदिरा सेवन गर्ने गरिन्छ।
तर कहिलेकाहीँ रमाइलोको लागि गरिएको मदिरा सेवनले हिंसाको बाटो पनि तय गर्छ। त्यसमध्येको एक हो, मदिरा सेवनपछि घरभित्रका महिलामाथि कुटपिटलगायत शारीरिक तथा मानसिक हिंसा।
महिला पुनःस्थापना केन्द्र ओरेक नेपालका अध्यक्ष सविता पोखरेलका अनुसार महिलामाथि हुने हिंसाका विभिन्न कारणमध्ये मादक पदार्थ एक भएको बताउँछिन्। उनी भन्छिन्, ‘सोचसँगै उत्तेजित पार्ने खालका पेय पदार्थले सहयोग गर्छ। उसले जहाँ दमन गर्न सक्छ त्यहाँ गएर हिंसा गर्छ। रक्सी खाएको मान्छेले रिस उठेको मालिक कुट्न सक्छ ?’ उनी प्रश्न गर्छिन्, ‘सक्दैन, जहाँ उसले आफ्नो शक्ति देखाउन सक्छ। त्यहाँ पोख्छ। र त्यो प्रायः महिला वा आफनी श्रीमती हुन्छिन्। त्यसैको प्रतिफलस्वरुप चाडवाडमा घरेलु हिंसा बढेको देखिन्छ।’
चाडपर्वमा मात्रै नभएर अरु बेलामा पनि यो खुलेआमा बिक्री हुन्छ। यसलाई नियमन गर्ने भनिए पनि व्यवहारमा कडाई नहुँदा महिलाहरु यसको सिकार बनिरहेको उनले बताइन्। म सुपरियर हुँ भन्ने पुरुषत्वको भावनाले हिंसातिर अग्रसर गराउने उनको बुझाइ छ। महिलाको न्यायका लागि विभिन्न ठाउँमा जाँदाको आफ्नो अनुभव सुनाउँदै भन्छिन्– ‘सामान्य परिवारदेखि सभ्रान्त परिवार सबैतिर हिंसा छ। हिंसाको स्वरुप फरक छन् तर जहाँकहीँ छ। संभ्रान्त परिवारले झनै हिंसा सहेको पाइन्छ।’
‘श्रीमानले हिंसा गर्यो भनेर भन्न सक्ने स्थिति अझै छैन। भोलि मेलमिलापमा जानुपर्छ। त्यही घर फर्किनुपर्छ। कसरी प्रतिरोधमा जाने ?’
पीडितको उजुरी निकै अन्तिममा मात्रै आइपुग्ने उनी बताउँछिन्। भन्छिन्, ‘श्रीमानले हिंसा गर्यो भनेर भन्न सक्ने स्थिति अझै छैन। भोलि मेलमिलापमा जानुपर्छ। त्यही घर फर्किनुपर्छ। कसरी प्रतिरोधमा जाने ?’
महिला अधिकारकर्मी सविता प्रसाईले हिंसा सहनु हुँदैन भनेर सिकायौं तर हिंसा गर्नु हुँदैन भनेर पीडकलाई बुझाउन नसकेको उल्लेख गरिन्। ‘हिंसा गर्नेले बुझ्नुपर्छ, हिंसा गर्नु हुँदैन भनेर।’
हिंसा भनेको शारीरिक रुपमा हमला गर्नु मात्रै नभएर बचनले पनि हिंसा हुने उनी बताउँछिन् भन्छिन्, ‘शरीरमा चोटपटक लागे मात्रै हिंसा भयो भन्ने लाग्छ। तर बचनले गरेको हिंसाले मानिस मानसिक रुपमा विक्षिप्त हुन्छ।’
हिंसाकै कारण डिप्रेसनमा जाने र कतिपय अवस्थामा आत्महत्यासमेत गरेको पाइएको उनले बताइन्। ‘कुनै न कुनै रुपमा परनिर्भर रहेकाहरु हिंसामा पर्ने गरेको पाइएको छ। महिला विपन्न समुदाय, किशोरी, बालिकाहरु बढी हिंसामा पर्छन्।’
‘शक्तिविहीनले शक्तिहीनलाई हिंसा गरिरहेको हुन्छ। त्यो शक्ति परिवारको मुलीसँग हुन्छ’ उनले थपिन- ‘उसले श्रमिती मात्रै होइन परिवार अन्य सदस्यलाई पनि विभिन्न माध्यमले हिंसा गरिरहेको हुन्छ।
ओरेक नेपालले संकलन गरेको तथ्याङ अनुसार ५८ प्रतिशत महिला श्रीमानबाटै हिंसामा परेका छन्। हरेक महिना तीन सयको हाराहारीमा उजुरी आउने बताउँदै पोखरेल भन्छिन्, ‘महिला हिंसा सबैभन्दा बढी आफ्नै श्रीमानबाट भएका छन्।’
महिला हिंसा न्यूनीकरणक कसरी गर्ने ? पोखरेल र प्रसाई दुवैले हिंसा कम गर्नको लागि महिलामाथिको धारणा परिवर्तन गर्नुपर्ने समान मत व्यक्त गरेका छन्। भन्छन्, ‘आजसम्म महिलालाई परिवारमा दोस्रो दर्जाको रुपमा राखिएको छ। श्रीमानको हप्काइदप्काइ वा पिटाइलाई नै सामान्य हो भनिएको छ।’
मानसिक असन्तुलन छ भनेर पीडकलाई छुट दिएर हिंसालाई सामान्यीकरण गरेको पाइन्छ। गल्ती गर्नेलाई नै ढाकछोप गर्ने गर्दा यस्ता घटना न्यूनीकरण हुन नसकेको उनीहरुको टिप्पणी छ।
‘हिंसा सामान्य होइन, यसलाई सुरुमै रोक्नुपर्छ। श्रीमान, श्रीमती समभावको विचारमा परिष्कृत हुँदै जानुपर्छ। मैले बोलेको शब्दले पनि हिंसा गरेको हुन्छ।’ उनीहरुले भने, ‘अधिकांश घटना नजिकको मान्छेबाट हुन्छ। छिमेकी र आफन्तबाट हुन्छ। साना नानीदेखि वृद्ध आमाहरुहरुको सिकार भएका छन्।’
मानसिक असन्तुलन छ भनेर पीडकलाई छुट दिएर हिंसालाई सामान्यीकरण गरेको पाइन्छ। गल्ती गर्नेलाई नै ढाकछोप गर्ने गर्दा यस्ता घटना न्यूनीकरण हुन नसकेको उनीहरुको टिप्पणी छ। ‘जबसम्म पीडकले सजाय पाउने अवस्था रहँदैन, तबसम्म यस्ता घटना घटिरहन्छन्’ उनीहरुले भने।
यो कानुनले मात्रै सम्बोधन गर्ने विषय नभएकाले घरपरिवार भित्रको समस्या भएको हुँदा हरेक व्यक्तिले हिंसाको विरोध गर्न र पीडकलाई सजाय दिनमा समन्वयकारी भूमिका खेल्नुपर्ने उनीहरु बताउँछन्।