समाचार

बढी मूल्यमा पानी बेच्नेलाई दुईलाख रुपैयाँ जरिवाना

By खबरहब

October 09, 2024

कास्की– तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटरलाई एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा उजुरी गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।