आर्थिक

लघुवित्त क्षेत्रमा नगन्य सुधार, नाराजुलुस घटे पनि खराब कर्जा उस्तै

By खबरहब

November 09, 2024

काठमाडौं – कर्जा लिएकाहरूको देशव्यापी प्रदर्शन, सिंहदरबारसम्म आन्दोलनको लहर, कर्मचारीमाथि आक्रमण र दूव्र्यवहार, खराब कर्जाको थेग्न नसक्ने भार… गत आर्थिक वर्षको अन्त्यसम्म नेपालका लघुवित्त वित्तीय संस्था (माइक्रोफाइनान्स)हरूको सरदर हालत यस्तै थियो ।

साउनयता लघुवित्तहरूको अवस्था केही सुधार हुँदै गएको त देखिएको छ, तर झिनो मात्रै ! अहिलेसम्म आठ लघुवित्त संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो विवरण हेर्दा धेरैले नाफा-घाटा र खराब कर्जा अवस्था सरदर नै देखिन्छ ।

सार्वजनिक विवरण अनुसार मिथिला लघुवित्तको नाफा गत आर्थिक वर्षको तुलनामा बढेको छ । मिथिला लघुवित्तले पहिलो त्रैमासमा एक करोड एक लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा ३५.८० प्रतिशतले धेरै हो ।

गत वर्षको सोही अवधिमा यो लघुवित्तले ७४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस लघुवित्तको खराब कर्जा भने केही बढेको छ । गत आर्थिक वर्षमा ४.६९ प्रतिशत रहेको खराब कर्जा बढेर ५.१८ पुगेको हो ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा भने घटेको छ । यो कम्पनीले पहिलो त्रैमासमा तीन करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा ३८.६८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा भने लघुवित्तले पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । तीन महिनामा यो लघुवित्तको खराब कर्जा पनि २.५३ प्रतिशतले बढेर ४.४४ प्रतिशत पुगेको छ ।

डिप्रोक्स लघुवित्तको नाफा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ प्रतिशतले घटेको छ । यस लघुवित्तले पहिलो त्रैमासमा ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा आठ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तको खराब कर्जा पनि बढेको छ । गत आर्थिक वर्षमा ५.१४ प्रतिशत रहेको खराब कर्जा बढेर नौ प्रतिशत पुगेको छ ।

ग्रामीण विकास लघुवित्तले भने नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले आठ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ६ करोड ७३ लाख रुपैयाँमात्रै नाफा गरेको थियो ।

यो संस्थाले खराब कर्जा घटाउनेतर्फ पनि सुधार गरेको छ । गत वर्ष ११.५ प्रतिशत रहेको खराब कर्जा घटाएर ४.७८ प्रतिशतमा झारेको हो ।

आरएसडीसी लघुवित्तले भने पहिलो त्रैमासमा नाफा घटाएको छ । साउनयता तीन महिनामा लघुवित्तले दुई करोड ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने आरएमडीसीले चार करोड सात लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस लघुवित्तको पनि खराब कर्जा बढेको छ । लघुवित्तको खराब कर्जा १.०८ प्रतिशतले वृद्धि भएको छ ।

यता हिमालयन लघुवित्तले भने नाफामा व्यापक सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले एक करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४ गुणाले बढी हो । गत वर्षको सोही अवधिमा लघुवित्तले १० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

नाफामा व्यापक सुधार हुदाँहुँदै पनि यो लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्ष २.९२ प्रतिशत रहेको खराब कर्जा बढेर ३.७२ प्रतिशत पुगेको छ ।

गुराँस लघुवित्तको नाफामा पनि उल्लेखीय सुधार देखिएको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८९ प्रतिशतल बढी हो ।

कम्पनीले गत वर्षको सोही अवधिमा नौ लाख ३३ हजार मात्रै नाफा कमाएको थियो । कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । यसपटक कम्पनीले खराब कर्जा १.११ प्रतिशले घटाएर ३.१६ प्रतिशतमा झारेको छ ।

सर्पोट लघुवित्तले पनि नाफामा सुधार गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन गत वर्षका तुलनामा ६३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १५ लाख ९८ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो । यस पटक कम्पनीले खराब कर्जामा पनि सुधार गरेको छ । यस अवधिमा कम्पनीको खराब कर्जा १.६७ प्रतिशतबाट १.६४ प्रतिशतमा झारेको छ ।

आत्मनिर्भर लघुवित्तको खराब कर्जा अघिल्लो आर्थिक वर्षमा भन्दा पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७.५८ प्रतिशत मात्रै रहेको यस लघुवित्तको खराब कर्जा गत आर्थिक वर्ष भने १३.२२ प्रतिशत पुग्यो ।

दोस्रो धेरै खराब कर्जा रहेको युनिक नेपाल लघुवित्त अघिल्लो वर्षको तुलनामा गत वर्ष १.९७ प्रतिशतले खराब कर्जा घटाए पनि १२.७४ प्रतिशत छ । यता नेष्डो लघुवित्तको खराब कर्जा पनि १२.५८ प्रतिशत छ ।

निर्धन उत्थान, समता घरेलु, एनआइसी एसिया, मातृभूमि, नाडेप, स्वस्तिक लघुवित्तको खराब कर्जा आठदेखि १० प्रतिशत हाराहारी छ । स्वाबलम्बन, विजय, मेरो माइक्रोफाइनान्स, लक्ष्मी, सामुदायिक, फरवार्ड, ग्रामीण विकास, जनउत्थान सामुदायिक, नेरुडे मिर्मिरे, श्रृजनशील, एनएमबी, सूर्योदय वोमी लघुवित्तको खराब कर्जा ६ देखि आठ प्रतिशतसम्म रहेको तथ्याङ्कले देखाएको छ । स्वरोजगार लघुवित्तको ५.५६ र इन्फिनीटी लघुवित्तको ५.२९ प्रतिशत खराब कर्जा छ ।

झिनो सुधार, तर अवस्था यथावत्

लघुवित्तकर्मीहरू पहिलेको तुलनामा वित्तीय संस्था सञ्चालनमा केही सहज भएको बताउँछन् । तर, उल्लेखीय सुधार हासिल गर्न भने केही समय कुर्नुपर्ने उनीहरूको तर्क छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल लघुवित्त क्षेत्रमा अवान्छित गतिविधि रोकिए पनि वित्तीय अवस्थामा भने खासै सुधार नआएको बताउँछन् । अहिले पनि मानिसहरूमा परेको आर्थिक सङ्कट उस्तै रहेकाले यस क्षेत्रमा सुधार नआएको उनको भनाइ छ ।

‘अहिले लघुवित्तकेन्द्रित अवान्छित हर्कत कम भए पनि वित्तीय अवस्था भने उस्तै रहेको छ । मानिसहरूसँग पैसा छैन । लिएको ऋण समयमै तिर्न सकिरहेका छैनन् । मानिसहरूमा लिएको ऋण तिर्नुपर्छ भन्ने भए पनि अर्थतन्त्र चलायमान भएको छैन । सहज हुने अवस्था छैन,’ उनले भने । १० लाख रुपैयाँ ऋण तिनुपर्नेले दुई लाख रुपैयाँ पनि तिर्न नसकेकाले लघुवित्त संस्थाहरूको खराब कर्जा बढिरहेको लम्सालको तर्क छ ।

नेपाल लघुवित्त बैैंकर्स संघका अध्यक्ष रामबहादुर यादव पनि अहिले लघुवित्तका समस्या जहाँको तहीँ रहेको बताउँछन् । लघुवित्त क्षेत्र पहिलेकै ठाँउमा आउन निकै समय लाग्ने उनको भनाइ छ ।

‘लघुवित्त संस्थाहरूको अवस्थामा झिनो सुधारमात्रै देखिएको हो, पूर्ण सुधार भइसकेको छैन, त्यसका लागि अझै पर्खनुपर्ने हुन्छ । किनभने हाम्रो देशको आर्थिक अवस्था नै चलायमान हुन सकेको छैन,’ यादवले भने, ‘लघुवित्तका अधिकांश ग्राहक निम्न वर्गीय मजदुर परिवारका छन्, अहिले काम गरेर सबै ऋण तिर्छु भन्दा पनि काम नपाउने अवस्था छ ।’

पहिले–पहिले हप्तामा सातै दिन उद्योगमा काम गर्ने मानिसहरूले अहिले हप्ताको तीन दिनभन्दा बढी काम नपाएको यादवले उल्लेख गरे । अन्य क्षेत्रमा पनि काम गर्ने वातावरण सहज नभएका कारण सोचेजस्तो सुधार नभएको उनको भनाइ छ ।

तर, पहिलेजस्तो रातदिन आन्दोलन र नाराजुलुस गर्ने क्रम घटेकाले अहिले केही सहज भएको यादव बताउँछन् । ग्राहकहरूले पनि खाएको ऋण तिर्नैपर्छ भन्ने बुझेकाले र राष्ट्र बैंकले ऋण तिर्ने समयावधि थप गरिदिएका कारण अहिले लघुवित्तको खराब कर्जा घट्नेतर्फ झिनो सुधार देखिएको उनको भनाइ छ ।

‘फेरि आन्दोलन गर्नुपर्ने भयो’ : सङ्घर्ष समिति अध्यक्ष

लघुवित्त संस्था विरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनिराम ज्ञवाली भने लघुवित्तमा केही सुधार नभएको बताउँछन् । लघुवित्तका कारण पीडित भएका भनिएकाहरूको समस्या समाधान नभएकाले अब पुनः आन्दोलन गर्नुपर्ने अवस्था निम्तिएको उनको भनाइ छ ।

‘केही समयअघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुङगानाको संयोजक्तवमा बनेको प्रतिवेदन कार्यान्वयन भएको छैन । केही हुन्छ कि भन्ने थियो, तर भएन । राष्ट्र बैंकले आफूलाई फाइदा हुने कुराहरू थप्दै जान्छ, तर लघुवित्तका पीडितहरूलाई केही सम्बोधन गरेको छैन । हाम्रो आन्दोलन जारी नै छ । हाम्रो आन्दोलन मंसिर ३ गते सम्पूर्ण देशले नै देख्नेछ,’ उनले भने ।

गत वर्ष कुन लघुवित्तको नाफा कति ?

गत आर्थिक वर्ष २०८०/८१ मा लघुवित्तहरूले नाफामा ८७ प्रतिशतले सुधार गरेका थिए । सात अर्ब ५९ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका लघुवित्त संस्थाहरूले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने चार अर्ब पाँच करोड रुपैयाँमात्रै नाफा गरेका थिए ।

अघिल्लो वर्ष १२ वटा लघुवित्त घाटामा हुँदा गत आर्थिक वर्षमा तीनवटा मात्रै घाटामा थिए । सामुदायिक, धौलागिरी र एनएमबी लघुवित्तले गत आर्थिक वर्षमा घाटा ब्यहोरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कमैले मात्रै घाटा ब्यहोरेका छन् । अघिल्लो वर्ष १२ लघुवित्त घाटामा रहेका थिए भने यो वर्ष भने तीन वटा लघुवित्त मात्रै घाटामा रहेका छन् । गत वर्ष प्रायजसो सबैले नाफा बढाएका नै छन् ।

गत आर्थिक वर्षमा छिमेक लघुवित्तले सबैभन्दा बढी एक अर्ब नौ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष भने यो संस्थाले एक अर्ब ६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्ष घाटा ब्यहोरेका १० वटा लघुवित्तले गत आर्थिक वर्षमा नाफा कमाएका थिए ।

आठ लघुवित्तको लाभांश सार्वजनिक

सूचीकृत ५१ लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म जम्मा आठले लाभांश घोषणा गरेका छन् ।

गत वर्ष धेरै लघुवित्तहरूले लाभांश घोषणा गर्न सकेका थिएनन् । लघुवित्तहरूमा भएको समस्याका कारण केहीले मात्रै लाभांश दिने क्षमता देखाएका थिए ।

चालु आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षको नाफाबाट आठ लघुवित्तले लाभांश घोषणा गरेका हुन् । यसमा आशा, गुराँस, फरवार्ड, स्वाबलम्बन, आरएसडीसी, सर्पोट, नेशनल र फर्स्ट लघुवित्त छन् ।

अहिले लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्न पाउँदैनन् । केही वर्ष अघिसम्म लघुवित्तहरूले ७५ प्रतिशतसम्म लाभांश दिने गरेका थिए । लघुवित्तमा समस्या निम्तिँदै गएपछि राष्ट्र बैंकले कडाइ गरी लाभांशमा १५ प्रतिशतको सीमा तोकिदिएको हो ।

आशा लघुवित्त : आशा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले अघिल्लो वर्ष कमाएको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश दिने भएको हो ।

लघुवित्तको संचालक समितिको बैठकले शेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी जम्मा १५ प्रतिशत दिने निणर्य गरेको हो ।

गुराँस लघुवित्त : गुराँस लघुवित्तले पनि यस पटक १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको बैठकले आफ्ना शेयरधनीहरूलाई गत वर्षको मुनाफाबाट लाभांश दिने निणर्य गरेको हो ।

लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।

फरवार्ड लघुवित्त : फरवार्ड लघुवित्तको सञ्चालक समिति बैठकले १३.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७ नगद लाभांश गरी कुल १४ प्रतिशत दिने निणर्य गरेको छ ।

स्वाबलम्वन लघुवित्त : स्वाबलम्वन लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले शेयरधनीहरूलाई उक्त लाभांश दिने निणर्य गरेको हो ।

उक्त लाभांशमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव छ ।

आरएसडीसी लघुवित्त : आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कात्तिक एक गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सर्पोट लघुवित्त : सर्पोट लघुवित्त वित्तीय संस्थाले १४.५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनी संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट १३.७७ प्रतिशत बोनस शेयर र ०.७२ प्रतिशत कर प्रयोनका लागि नगद लाभांश दिने निणर्य गरेको हो ।

उक्त लाभांश शेयरधनीहरूले राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि मात्रै प्राप्त गर्नेछन् ।

नेशनल लघुवित्त : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगर गरी कुल ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।