काठमाडौं – नेपालको शासकीय नियन्त्रण र समन्वय गर्ने सङ्घीय सचिवालय सिंहदरबारस्थित प्रधानमन्त्रीमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्य कुर्सीमा यतिखेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विराजमान छन् ।
उनको कार्यालयबाट मुलुकको पहिलो र हालसम्म नै निर्विकल्प त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘एरियल डिस्टान्स’ जम्मा तीन किलोमिटर हो । अनि, हवाई क्षेत्र नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालयसम्मको सीधा दूरी सिंहदरबारको गेटबाट जम्माजम्मी २२५ मिटर हो ।
यहाँ मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको सरकारी कार्यालय, नेपालको आकाशे जीवनमार्ग त्रिभुवन विमानस्थल र हवाई नियामक प्राधिकरणबीचको दूरी उल्लेख गर्नुमा विशेष कारण छ । त्यो हो – पैदलमार्गबाटै एक घण्टामा नाप्न सकिने यी निकायका पदाधिकारीले हवाई मार्ग अवरुद्ध पारेर सरकार संरक्षित माफियातन्त्र खडा गर्नु !
गएको शुक्रबारदेखि क्यानले हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत १५ अर्ब रुपैयाँ खर्चनेगरी स्तरोन्नति गर्न भन्दै राति १० देखि बिहान ८ बजे (१० घण्टा) सम्म विमानस्थल बन्द गर्न थालेको छ । शुक्रबार (कात्तिक २३) देखि नै उल्लेखित अवधिमा सबै हवाई उडान कटौती भएको छ ।
विमानस्थलको दक्षिण पश्चिमतर्फ ट्याक्सी–वे, उत्तरतर्फ इन्टरनेशनल एप्रोन र पूर्वतर्फ ह्याङ्गर एप्रोन विस्तार गर्न उडान अवधि कटौती गरेको क्यानका पदाधिकारीहरूले बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले पनि समय छोट्याइएअनुसार नै उडान तालिका स्वीकृत गर्दै दैनिक १० घण्टे ‘नोटाम’ जारी गरेको छ ।
विमानस्थल सञ्चालन अवधि छोट्ट्याइँदा आन्तरिकतर्फ ३५ र अन्तरराष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । क्यानले निर्णय नबदले विमानस्थल अबको पाँच महिना अर्थात् चैत १८ सम्म दैनिक १० घण्टा बन्द भइरहनेछ । विमानस्थल साविकमा बिहान २ देखि ६ बजेसम्म मात्रै बन्द हुने गरेको थियो ।
यो पनि –
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द, कसरी हुन्छ काम ?
यसअघि पनि क्यानले मर्मतसम्भार र विस्तारका नाममा पटकपटक ठेक्का लगाउँदै विमानस्थल सञ्चालन अवधि छोट्याउने गरेको थियो । पछिल्लो १० वर्षमै यस्तो कामका लागि भन्दै विमानस्थल सञ्चालन अवधि दुईपटकसम्म महिनौं छोट्याइएको थियो ।
२०७५ मा धावनमार्ग पूर्ण मर्मत (कालोपत्रे) गर्ने भन्दै चार महिनासम्म दैनिक १० घण्टा र २०७७ मा धावनमार्ग विस्तार गर्न दैनिक १२ घण्टा विमानस्थल बन्द गरिएको थियो ।
टिकटमा मिलेमतो
क्यानले विमानस्थल सञ्चालन अवधि छोट्याएसँगै यात्रीले समयको सास्ती त भोग्दैछन् नै, हवाई भाडादर पनि अस्वाभाविक बढेको छ । हवाई व्यवसाय गरिरहेका कम्पनीहरूले आन्तरिक उडानमै तीन गुणासम्म भाडा बढाएका छन् ।
एअरलाइन्स कम्पनी र ट्राभल एजेन्सीको मिलेमतोमा अन्तरराष्ट्रिय उडानको भाडा पनि ३०० प्रतिशतभन्दा बढी बढाइएको छ । क्यानले तोकेको न्यूनतम र अधिकतम भाडादरकै बीचमा खेलेर हवाई टिकटको मूल्यमा कार्टेलिङ भएको हो ।
यही कारण आन्तरिक र वाह्य गन्तव्यका यात्रु, नेपाल घुम्न आउने पर्यटक र मुख्यतः वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले हिजो (शनिबार) पत्रकार सम्मेलन नै आयोजना गरी हवाई भाडा अत्यधिक बढ्दा कामदार पढाउने स्थिति नै नभएको, ३०/३५ हजार रुपैयाँमा पाइने टिकटलाई ट्राभल एजेन्सीहरूले अहिलेहाल एक लाख रुपैयाँसम्म लिने गरेका र महँगो रकम तिर्न तयार हुँदा पनि टिकट पाउन मुस्किल भइरहेको बताइसकेका छन् ।
उनका अनुसार नेपालबाट दैनिक १५ सयसम्म नयाँ श्रमिक विदेश जाने गरेका र बिदामा आएर फर्कनेसमेत गरी यो सङ्ख्या दुई हजार पुग्छ । कामदार बाहेक पनि दैनिक हवाई मार्ग प्रयोग गर्ने विद्यार्थी, विकसित मुलुकमा रहेका नेपाली तथा पर्यटकको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ ।
क्षमता विस्तारका लागि विमानस्थल बन्द गर्नुअघि नै हवाई कम्पनी र ट्राभल एजेन्सीले मिलेमतोमा शनिबार यताको भाडा बढाइसकेका थिए । भाडा अचाक्ली बढाए पनि पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चासो दिइरहेका थिएनन् ।
शनिबारमात्रै सरकारी पदाधिकारी र वायुसेवा कम्पनीका प्रतिनिधिबीच यसबारे पाँचबूँदे कागजी सम्झौता भयो । तर, सो सम्झौता कार्यान्वयन भएको देखिनेगरी हवाई भाडा घटेको छैन ।
सरकारी पदाधिकारी र वायुसेवा कम्पनीका प्रतिनिधिबीच शनिबार भएको सम्झौता ।
‘विमानस्थल विस्तार बहानामात्र’
अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको टिकट बेच्ने गरेका एक बिक्रेताले हवाई टिकटको भाडा अस्वाभाविक बढ्नुमा विमानस्थल विस्तार बहानामात्र भएको बताए ।
नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग कुरा गर्दै उनले भने, ‘यसअघि बाढीपहिरोलाई बहाना बनाएर दशैँका बेला आन्तरिक हवाई भाडामा जे–जस्तो मिलिभगत भएको थियो, अहिले अन्तरराष्ट्रिय हवाई टिकटको मूल्य बढाउन विमानस्थल विस्तार उस्तै बहाना बनेको छ । उडान अवधि घटाउँदा चाप त पर्छ नै ! तर यसमा पूरापूर सेटिङ छ । महँगोमा टिकट बेचेबापतको भागशान्ति सिंहदरबारसम्म पुगिरहेको छ ।’
हेर्दा विमानस्थलको ठेक्का र कामजस्तो देखिए पनि राज्यका पदाधिकारीले मिलाएको सेटिङको आडमै हवाई भाडावृद्धि भइरहेको अर्का एक ट्राभल एजेन्टले खबरहबलाई बताए ।
‘फाइदा त हामीलाई नै भइरहेको छ । तर, यथार्थ कुरा चाहिँ विमानस्थल ठेक्काको भागले नपुगेर होला – सरकारी अधिकारीहरूले नै फलानो दिनदेखि विमानस्थल १० घण्टा बन्द हुन्छ, टिकटको मूल्य बढाउने तयारी गर्नु भनिरहेका थिए’ ती एजेन्टले भने, ‘राज्यले नै संरक्षण गर्ने देखिएपछि हामीले न्यूनतमबाट उच्चतम भाडादरमा टिकट बेच्न थाल्यौँ ।’
लोकलाज ढाक्न ‘चेतावनी’
विमानस्थल विस्तार बहाना बनाएर हवाई भाडा मनलाग्दी बढाउन दिएको सरकारमाथि नागरिकस्तरबाट व्यापक दबाब परेको छ ।
उसै पनि कमजोर कार्यसम्पादन र एक पछि अर्का विवादका कारण रक्षात्मक बन्न बाध्य भएको सरकारले हवाई टिकट प्रकरणमा भने लोकलाज ढाक्ने प्रयास गर्यो ।
वायुसेवा कम्पनीहरूले भएभरको टिकट बिक्रीको एकमुष्ठ अधिकार अग्रिम रूपमा ट्राभल एजेन्सीलाई हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) भएको थाहा हुँदाहुँदै सरकारी नियामक क्यानले उडान अवधि घटाउनुअघि यसतर्फ कुनै कदम चालेको थिएन ।
तर, दबाब बढेपछि शनिबार वायुसेवा कम्पनीका प्रतिनिधिसामू क्यानका महानिर्देशक प्रदीप अधिकारी केही कडा रूपमा प्रस्तुत भएका खबर बाहिरिएका छन् । उनले पुरानै दरमा हवाई टिकट नबेचे उडान नै गर्न नदिने चेतावनी दिएको बताइएको छ ।
तर, यस्तो चेतावनी दिए पनि आइतबार अपराह्नसम्म पनि टिकटको मूल्य र उपलब्धता समस्या ज्यूँ का त्यूँ छ ।
दशैँमा पनि उस्तै
यो वर्ष दशैँमा पनि वायुसेवा कम्पनीहरूले आन्तरिकतर्फ भाडादरमा आतङ्क मच्चाएका थिए ।
असोज १० देखि तीन दिनसम्म लगातार परेको पानीले विपद् निम्त्याउँदा देशभरका मुख्य सडक बाढीपहिरोले ठप्प थियो । आकस्मिक यात्रादेखि दशैँतिहार मान्न घर फर्कनेहरूका लागि हवाई मार्ग नै निर्विकल्प थियो ।
बाढीपहिरो चलेकै बेला अमेरिका घुमघाममा रहेका प्रधानमन्त्री ओलीले भाडा घटाउन निर्देशन पनि दिएका थिए । तर, वायुसेवा कम्पनीहरूले अनेक फण्डा गर्दै अचाक्ली महँगो दरमा हवाई टिकट बेचेका थिए ।
यो पनि –
हवाई भाडा महँगो नलिन अमेरिकाबाटै प्रधानमन्त्रीको आग्रह
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा आएको भन्दै विपत्तिको समयमा पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै मूल्यमा भाडा लिन अनुरोध गरेका थिए । विभागीय मन्त्री बद्रीप्रसाद पाण्डेले पनि विशेष पहल र निर्देशनपछि हवाई भाडा घटाइएको भन्दै मिडियाबाजी गरेका थिए ।
तर वायुसेवा कम्पनीहरूले विपद्कै बेला एकाएक बढाएको भाडा तिहारको छेकोसम्म पनि खासै घटाएका थिएनन् । सामान्यतयाः पाँच हजार रुपैयाँ लाग्ने रूटको टिकटको मूल्य त्यसको दोब्बरसम्म पारेका थिए ।
पछिल्लोपटक त्रिभुवन विमानस्थल विस्तार निम्ति उडान सञ्चालन अवधि घटाएपछि आन्तरिकतर्फ पनि हवाई भाडा आतङ्क उस्तै छ ।
प्रधानमन्त्री ओली नेतृत्वको क्याबिनेटका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे हुन् । उनी नेपाली काङ्ग्रेसका सहमहामन्त्री पनि हुन् ।
देशको हवाई नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले यूरोपेली कमीशनको उडान सुरक्षा सूची (कालोसूची) बाट नेपालको हवाई क्षेत्रलाई हटाउने प्रतिबद्धतासाथ २०७८ माघ १७ गते जिम्मेवारी सम्हालेका थिए । कालोसूचीबाट हट्नुको साटो अधिकारीकै कार्यकालमा हवाई दुर्घटना लगातार बढिरहेको छ ।
यो पनि –