तस्विर युएनबी

अन्तर्राष्ट्रिय

बंगलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण

By खबरहब

January 10, 2024

ढाका– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद पदको सपथ लिएका छन् । सांसदहरूलाई बंगलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराएका थिए । 

समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए । निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ । 

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए । 

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा हुनेमा आशंका व्यक्त गर्दै बङ्लादेश नेशनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन् ।