अपराध

कलियुगका जोगीसँग तीन करोड !

By खबरहब

January 10, 2024

काठमाडौं – श्रीमद्भागवतमा त्यसै लेखिएको होइन रहेछ – कलियुगमा साधु र लुटेराको भिन्नता बस्त्रले मात्रै छुट्याउँछ ।

भगवान् गौतमबुद्धको पवित्र नाम लिएर आफूलाई ‘लिटल बुद्ध’ एवं ‘तपस्वी’ बताउने बाराका रामबहादुर बमजन अन्ततः कलियुगका असली प्रतिनिधि ठहरिएका छन् ।

तपश्वीको भेषमा आफ्नो आश्रममा बस्ने आनीमाथि यौन दुराचार गरेको अभियोग लागेका बमजन २०७६ सालदेखि नै प्रहरीको खोजी सूचीमा थिए । मंगलबार काठमाडौंको बूढानीलकण्ठबाट झ्यालबाट हाम्फालेर भाग्न लाग्दा पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

उदेकलाग्दो त के छ भने आफूलाई जोगी एवं बुद्धत्वप्राप्त बताउने बमजमका साथबाट ३ करोड ३७ लाख भन्दा बढी नगद फेला परेको छ । उनका साथबाट विभिन्न १७ देशका करिब ३० लाख बराबर विदेशी मुद्रासमेत बरामद भएको छ ।

चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बूढानीलकण्ठ, हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे ।

मंगलबार साँझ पक्राउपछि बमजनका विषयमा धेरैको चासो थियो । हामीले पनि प्रहरीसँग उनका बारेमा जानकारी लियौं । बुधबार बिहान केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीसँग कुरा गर्दा उनले बुधबार दिउँसो बमजनलाई सार्वजनिक गर्ने बताएका थिए । दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेर सीआइबीले बमजनलाई सार्वजनिक मात्र गरेन, जोगीको भेषमा बमजनको विलासी जीवनशैली पनि उजागर गरिदियो ।

सीआइबीका अनुसार बमजन बस्ने घरबाट १७ देशका मुद्रा र तीन करोड तीन लाख ७५ हजार नेपाली रुपैयाँ बरामद भएको छ । बमजनले व्यक्तिगत प्रयोजनका लागि मात्रै १४ वटा मोबाइल बोक्ने गरेको सीआइबीले जनाएको छ ।

यतिमात्र होइन, बमजनसँग तीनवटा मोटरसाइकल र एउटा टोयटा हाइलक्स गाडी रहेको पाइएको छ ।

उनका साथबाट पाँचवटा आइप्याड, दुईवटा ल्यापट, २० वटा पेन्ड्राइभ, २ वटा मेमोरी कार्ड र भ्वाइस रेर्कडरमेत बरामद भएको छ ।

त्यस्तै, ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ पेश्की बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।

‘लिटल बुद्ध’ बताउने बमजन बुद्धका सामान्य मान्यताविपरीत धन–सम्पत्तिको मोहमा लिप्त भएको देखिएको छ । बमजनको सम्पत्तिको स्रोत खुलेको छैन ।

उनी बाल यौनदुराचार र वैदेशिक मुद्रा अपचलनको आरोपमा प्रहरीको फन्दामा परेका हुन् । बमजनले आश्रमको आडमा आफ्नो बिलासी जीवन यापन गरिरहेको कुरा अब नौलो रहेन ।

तर, उदेकलाग्दो पक्ष के छ भने बमजनलाई भगवान मान्नेहरुको लहर पनि ठूलै छ । उनको गिरफ्तारीपछि पनि बुधबार सीआइबी परिसरमा उनका समर्थकको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो ।

तपश्वीको भेष धारण गरेका बमजनका विषयमा अनेकन कुरा आए पनि उनका समर्थकले उनलाई अझै भगवानकै रुपमा हेर्दै आएका छन् ।

सीआइबी परिषरमा भेला भएका समर्थकहरु धेरै बोल्न नचाहे पनि आफ्नो भगवानको साक्षात् दर्शन गर्न आएको बताउँदै थिए । उनीहरुले बमजनलाई आश्रम फिर्ताका लागि प्रहरीमा सक्दो दबाव दिएका थिए ।

बमजनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी थिइन् । उनले बमजनका बारेमा गलत प्रचार गरिएको भन्दै उनको बचाऊ गरिन् । बमजनलाई भेटेपछि पत्रकारसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले उनी सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकसँगै आफू पनि आएको बताइन् ।

उनले भनिन्, ‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो,’ तर त्यसो भएन । बरु आफूहरुले नै बमजनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरीले आफैं अदालतमा उपस्थित गराउने बताएको उनले सुनाइन् ।

को हुन् बमजन ?

रामबहादुर बमजन भन्ने यी व्यक्तिको असली नाम रामलाल बमजन हो । उनी बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा ०४६ साल चैत २६ गते जन्मेका हुन् । ०७१ सालमा नागरिकता लिएका उनले ५ कक्षासम्म पढेका छन् ।

बाराको जंगलमा केही पनि नखाइकन तपस्या गरेको भन्दै उनको नाम प्रचारमा आयो । त्यसयता उनले आफूलाई ‘लिटिल बुद्ध’ बताएर बारा, सर्लाही आदि जिल्लामा आश्रमहरु चलाउँदै आएका थिए । आश्रममा उनले आफूमाथि यौन शोषण गरेको भन्दै ०७६ मा उनीविरुद्ध एक बालिकाको उजुरी परेको थियो ।

बमजनलाई सर्लाही जिल्ला अदालतबाट ०७६ माघ २३ मा पक्राउ आदेश जारी भएको थियो । ०७६ माघ २४ गते जिल्ला प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरे पनि उनी फेला पर्न सकेका थिएनन् । यही क्रममा प्रहरीले उनलाई मंगलबार काठमाडौंको बूढानीलकण्ठबाट समातेको हो ।

मंगलबार बेलुका सवा ५ बजे उनी बसेको स्थानमा प्रहरी पुग्दा बमजनले झ्यालबाट हाम्फालेर भाग्ने असफल कोसिस गरेका थिए ।