क्रिकेट

एसीसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित

By खबरहब

February 10, 2024

काठमाडौँ– एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा आज भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङमाथि ८ विकेटको जित निकालेको हो ।

हङकङले जितका लागि दिएको ९४ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन् । यस्तै सीता राना मगरले ३६ रन जोडिन् ।

हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको थियो ।

हङकङका लागि कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८, यास्मिन दस्वानीले १५, नताशा माइल्सले ११ रन बनाए ।

नेपालकी रुबिना क्षत्री र पुजा महतोले २–२ तथा सीता राना मगरले १ विकेट लिइन् ।

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ ।

फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्ने छन् । नेपाल रहेको समूह ‘डी’ मा हङकङ, माल्दिभ्स र भुटान छन् ।