समाचार

नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

By खबरहब

April 10, 2024

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।

जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सिउँ एक हजार छ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताए ।

‘गत वर्ष जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा दुई हजार नौ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ’, उनले भने, ‘यसमध्ये तोरी एक हजार दुई सय ८५ मेट्रिक टन र सर्सिउँ एक हजार छ सय ३५ मेट्रिक टन रहेको छ ।’

बर्दघाट सुस्तापूर्वमा गत आवर्ष २०७९–८० मा भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए ।

अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको कृषि बालीविज्ञ ढकालले बताए ।

नवलपरासी ‘बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ ।