राजनीति

संसदको मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गर्‍यो : महेश बर्तौला

By खबरहब

April 10, 2024

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरूलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रीक काम गरेको समेत बताए । उनले आन्दोलनका स्वरूप फेरेर सदनलाई सहज रूपमा चल्ने वातावरण बनाउन आग्रह गरे ।

बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको तर्क गरे । सरकारबाट हट्ने बितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उनले यसको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले सहकारी पीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए ।