समाचार

सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा : श्रममन्त्री अर्याल

By खबरहब

April 10, 2024

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 

‘डेमोक्रेसी मिडिया नेटवर्क’ले आज काठमाडौँमा आयोजना गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्नेमा जोड दिए। उनले रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने बताए । 

‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ’,  मन्त्री अर्यालले भने, ‘त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय सधैँ तयार छ ।’ 

आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उनको भनाइ थियो । ‘मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ । त्यहाँ हामीले ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्ने योजना बनाएका छौँ । त्यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत रहेको सिटिइभिटीसँग पनि समन्वय गरी हरेकलाई सीप सिकाउनुपर्छ भन्नेमा हामी छौँ’, उनले भने ।  

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहे पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन मन्त्री अर्यालले सबैलाई आग्रह गरे ।