समाचार

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

By खबरहब

April 10, 2024

काठमाडौं–  मोरङ, अर्घाखाँची र नवलपरासी पश्चिममा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

मोरङकाे बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसतै, अर्घाखाँचीकाे पाणीनी गाउँपालिका-८ पोल डाँडास्थित सडकमा ग.३ च ४५७४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक भुमिकास्थान नगरपालिका-८ किमडाँडा बस्ने ३४ वर्षीय ईश्वरी क्षेत्रीको छोरा ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्दीखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पश्चिमकाे बर्दघाट नगरपालिका-४ बासखोलामा ना.८ ख ३४०९ नम्बरको टिपरले बा.७२ प ७१५७ नम्बरको मोटरसाइकल, लु.९५ प ८४८८ नम्बरको स्कुटर र ना.७ ख ४९६६ नम्बरको बसलाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ आबुखैरेनी नगरपालिका-६ बस्ने ३४ वर्षीय उज्ज्वल गुरुङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।