काठमाडौं – दुई वर्ष अघि नै राष्ट्रिय खेलकुद परिषद्ले नेपाल उसु महासङ्घ विघटन गरेको थियो। त्यही समयमा नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घ विघटन गर्दै नेपाल तेक्वान्दो महासङ्घ गठन भयो। यो दुवै निर्णयको विरुद्धमा उच्च अदालत पाटनमा परेको मुद्दामा उसु महासङ्घको सवालमा राष्ट्रिय खेलकुद परिषद्को निर्णयले कानुनी मान्यता पायो।
जनक बर्तौलाको नेतृत्वमा रहेको नेपाल उसु महासङ्घले कानुनी मान्यता मात्र पाएन, सोही संघले साधारण सभा सम्पन्न गर्दै उसु गतिविधिमा सक्रिय भयो। त्यसपछि नेपाल ओलम्पिक कमिटीका गतिविधि भने नेपालको कानुनकै बर्खिलाप अगाडि बढेका छन्। परिषदले खेलकुद सङ्घमा अनावश्यक विवाद सिर्जना गर्दै वीरबहादुर तामाङ नेतृत्वको महासङ्घलाई मान्यता दिँदै आएको छ।
नेपाल ओलम्पिक कमिटीकै कारण नेपाली उसु गतिहीन बनेको थियो। नेपाल ओलम्पिक कमिटी नेतृत्वको मनोमानीको विषयमा कोही पनि बोल्ने पक्षमा छैनन्। कतिसम्म भने आफ्नो अनुकूल सङ्घ नभए मान्यता नै नदिने मानसिकताले नेपाल ओलम्पिक कमिटी वर्षौँदेखि चलेको छ।
नेपालका थुप्रै ओलम्पिक खेल सङ्घलाई सबै मापदण्ड पुरा गरे पनि ओलम्पिक मुभमेन्टमा प्रवेश हुन नदिने नीति नेपाल ओलम्पिक कमिटीले लिएको छ। उसु खेलको हकमा पनि बर्तौला नेतृत्व भन्दा वीरबहादुर नेतृत्व आफू अनुकूल लागेको कारण अदालतीको फैसलासमेत कार्यान्वयन भएन।
‘बारम्बार भिन्नभिन्न भेटमा बर्तौला नेतृत्वको उसु महासङ्घको विरुद्धमा अर्कोलाई उकास्ने काम ओलम्पिक नेतृत्वले गर्ने गरेको छ’, एक जिम्मेवार अधिकारीले भने, ‘यसमा ओलम्पिक कमिटी शीर्ष नेतृत्वका धेरै जना लागेको देखिएको छ।’
ओलम्पिक कमिटीको कारण विवादमा रहेको नेपाल उसु महासङ्घको विवादलाई थप तन्काउने काम राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ। विघटन गरेको नेपाल उसु महासङ्घले गरेको कार्यक्रममा अतिथिको रूपमा टंकलाल घिसिङ उपस्थित हुनु गैरजिम्मेवार प्रवृत्तिबाहेक केही होइन।
ओलम्पिक कमिटीको कारण विवादमा रहेको नेपाल उसु महासङ्घको विवादलाई थप तन्काउने काम राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ। आफैले विघटन गरेको नेपाल उसु महासङ्घले गरेको कार्यक्रममा अतिथिको रूपमा टंकलाल घिसिङ उपस्थित हुनु गैरजिम्मेवार प्रवृत्तिबाहेक केही होइन।
आफैले गरेको निर्णयमा आफै अडिग रहन नसक्ने परिषद् नेतृत्व पछिल्लो समय उसु खेललाई बन्दी बनाउन थप सक्रिय छ। ‘आफूले गठन गरेको उसु महासङ्घका अध्यक्ष बर्तौलासँगको व्यक्तिगत पूर्वाग्रहको कारण उच्च अदालतले मान्यता दिए पनि परिषद् सदस्य सचिव विवाद बढाउन सक्रिय छन्,’ एक प्रशिक्षक भन्छन्।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ।
२०७९ चैत ६ गते राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको निर्वाचन समितिले नै बर्तौला सहितको सङ्घलाई प्रमाण पत्र दिएको थियो। परिषद् निकट एक कर्मचारी भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य समेत रहेका जनक बर्तौलासँगको व्यक्तिगत पूर्वाग्रहका कारण घिसिङ नेतृत्वले यो निर्णय गरेको हो।’
गत महिना भएको राष्ट्रपति रनिङ शिल्डको समयमा परिषद् आफैले गठन गरेको सङ्घलाई बेवास्ता गर्दै प्रशिक्षकलाई व्यवस्थापनको जिम्मा दिएका थिए।
आफूले गरेको निर्णयको विरुद्धमा आफै रहने परिषद् नीति तेक्वान्दो खेलको हकमा समेत देखिन्छ। २०७९ पुस ५ गते नेपाल उसु महासङ्घ पुनर्गठन भएकै दिन राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा रहेका दुई तेक्वान्दो सङ्घको अस्तित्वलाई अस्वीकार गर्दै प्रदीप जोशीको नेतृत्वमा नेपाल तेक्वान्दो महासङ्घ गठन गरेको थियो।
गत एसियाडमा नेपालले इतिहासकै कमजोर प्रदर्शन गरेको थियो। यसको मूल कारण नेतृत्वको मनोमानी भएको जनाइए पनि नेपाल तेक्वान्दो सङ्घको पक्षमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ अझै रहनु आश्चर्यको विषय हो।
०७९ पुस २० गते उच्च अदालत पाटनले निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको थियो। ५ पुसको निर्णय कार्यान्वयन नगराउने आदेशको मतलब प्रकाश समसेर जबरा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइराला नेतृत्वको राष्ट्रिय तेक्वान्दो सङ्घ दुवैको अस्तित्व यथावतै छ भन्ने हो। तर समसेर नेतृत्वको तेक्वान्दो सङ्घको मनपरी नेपाली तेक्वान्दोमा कायम रहँदा परिषद् नेतृत्व मौन छ।
पछिल्ला दिनमा नेपाल तेक्वान्दो सङ्घ राष्ट्रिय खेलकुद परिषद्लाई अटेर गर्दै मनोमानी ढङ्गले चले पनि परिषद्ले केही गर्न सकेको छैन। ‘आफ्नै मातहतको सङ्घलाई त केही गर्न नसक्ने सङ्घबाट कुनै कुराको अपेक्षा नै गर्न सकिँदैन,’ एक खेलाडी भन्छन्। उनका अनुसार अहिले नेपाली तेक्वान्दोका अधिक खेलाडी यही विवादका कारण विदेश पुगेका छन्।
नेपालमा सिनियर प्रशिक्षक माथिको पूर्वाग्रहका कारण नेपाली तेक्वान्दो अहिले सबै भन्दा कमजोर अवस्थामा छ। गत एसियाडमा नेपालले इतिहासकै कमजोर प्रदर्शन गरेको थियो। यसको मूल कारण नेतृत्वको मनोमानी भएको जनाइए पनि नेपाल तेक्वान्दो सङ्घको पक्षमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ अझै रहनु आश्चर्यको विषय हो।
अहिले राष्ट्रिय तेक्वान्दो सङ्घ ब्युँताइएको छ। ‘राष्ट्रिय तेक्वान्दो सङ्घ ब्युँताउनु पूर्ण समाधान होइन। पूर्ण समाधान भनेको नेपाल तेक्वान्दो सङ्घको मनोमानी रोक्ने नै हो’, एक कर्मचारीले भने।
नेपाल तेक्वान्दो संघले आफू निकट व्यक्ति भन्दा बाहेक अन्य व्यक्तिले प्रतियोगिता आयोजना गर्दा आयोजनाको मान्यता नै नदिने तथा सङ्घ नेतृत्वको विरुद्धमा आवाज उठाउने गरेका डोजाङका खेलाडीलाई सहभागिताबाट बन्देज गराउने काम संघले गरेको छ। यसको विरुद्धमा तेक्वान्दो खेलाडीले पत्रकार सम्मेलनकै आयोजना गरेर आवाज उठाएका थिए। तर अहिलेसम्म परिषद् सङ्घको मनोमानीको विरुद्धमा मौन छ।