समाचार

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

By खबरहब

June 10, 2024

काठमाडौं– सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त  इजलासमा तोकिएको छ ।

यसअघि जेठ २० गते न्यायाधीश श्रेष्ठको एकल इजलासले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटलाई अग्राधिकार प्रदान गरी अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

सर्वोच्चले कास्की सूर्यदर्शन सहकारी ठगीबारे गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीको प्रतिलिपि समेत झिकाएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।