राजनीति

प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन्

By खबरहब

June 10, 2024

काठमाडौं- भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र त्यहाँका नवनियुक्त संघीयमन्त्री एस. जयशङ्करबीच सोमबार वार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनबारे कुरा भएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा कार्यकाल सफलतको शुभकामना दिए ।

उनले आगामी दिनमा दुई देशबीचको आपसी एवम् जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । मन्त्री जयशंकर दोस्रो कार्यकालमा पनि भारतीय विदेशमन्त्रीको भूमिकामा रहने सम्भावना छ ।

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद दिए ।

उनले दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको बताए ।

तिनमा सन्तोषजनक प्रगति भइरहेको जानकारी पनि जयशंकरले प्रचण्डलाई दिएका छन् ।