समाचार

सामुदायिक स्कुलले भाडा लगाएका सटरमा महानगरको ताला

By खबरहब

June 10, 2024

काठमाडौं- सामुदायिक विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरूलाई बन्द गराउँदै ताला लगाएको हो ।

यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो ।

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायीक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीतिअनुसार ताला लगाएको जानकारी दिए ।

महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए ।

यसअघि महानगरले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको थियो ।