समाचार

दुई दिने भारत यात्रा सकेर फर्किए प्रधानमन्त्री

By खबरहब

June 10, 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुई दिने औपचारिक भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका थिए ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे ।

उक्त अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए ।

उनले नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरे । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरे ।

प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी अधिकारी थिए ।