समाचार

इच्छाकामनाका चेपाङ परिवारलाई नयाँ घर

By खबरहब

July 10, 2024

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् ।

सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नम्बर ७ मा आयोजित कार्याक्रम मार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए ।

उनले पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको बताए ।

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरेको बताए ।

गाउँपालिकाको वडा नम्बर १ मा पाँच, वडा नम्बर २ मा दुई, वडा नम्बर ३ मा दुई, वडा ४ मा दुई, वडा ५ मा दुई, वडा ६ मा तीन र वडा ७ मा छवटा घर निर्माण गरेको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताइन् । उनले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिइन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिइन् ।

उनले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताइन् । पालिकाले आगामी आर्थिक वर्षका लागि तीन करोड ३० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ ।