अन्तर्राष्ट्रिय

मोदी रुस भ्रमणमा, रक्षा सम्झौता तथा भूराजनीतिक विषयमा छलफल

By खबरहब

July 10, 2024

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा पुगेका छन् । सन् २०२२ फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध शुरु भएयता प्रधानमन्त्री मोदीले पहिलो पटक रुसको भ्रमण गरेका हुन् ।

यसअघि मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विगत १० वर्षमा १६ पटक भेटवार्ता भइसकेको छ ।

पुटिनले मोदीलाई राजधानी मस्कोनजिकै रहेको नोभो ओग्य्रोभोस्थित आफ्नो निवासमा स्वागत गरेका थिए । मोदीको भ्रमणका क्रममा दुई मुलुकबीच रक्षा सम्झौतासहित भू राजनीतिक विषयमा छलफल हुने रुसी सांसद अभय कुमार सिंहले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सांसद सिंहले दुई नेताबीच रक्षा सम्झौता, साँस्कृतिक आदान प्रदानका साथै आर्थिक विषयमा पनि छलफल हुने जानकारी दिए ।

रुसले मोदीको भ्रमणलाई उच्च महत्व दिएको भन्दै उनले मोदीलाई आफ्नो मुलुकमा स्वागत गर्न रुसी जनता उत्साहित रहेको समेत बताए ।

सन् १९९१ मा रुसको कुस्र्क पुगेका सिंहले सन् २०१० मा रुसी नागरिकता प्राप्त गरेका थिए । लामो समयदेखि कुस्र्क शहरबाट निर्वाचित हुँदै उनी विधायकको जिम्मेवारीमा छन् ।