आर्थिक

बढ्दैछ प्लाइउड निर्यात, पछिल्लो नीतिले उद्योग नै बन्द हुने जोखिम

By खबरहब

July 10, 2024

काठमाडौं– अहिले नेपालबाट प्लाइउड निर्यात बढ्दो छ । केही समयम अघिसम्म शून्य रहेको प्लाइउड निर्यात गत आर्थिक वर्षदेखि बढ्न थालेको हो ।

भारतीय बजारमा नेपाली प्लाइउडको माग उच्च छ । भन्सार विभागका अनुसार पछिल्लो २३ महिनामा मात्रै नेपालबाट साढे ११ अर्ब रूपैयाँ बराबरको प्लाइउड निर्यात भएको तथ्याङ्क छ ।

२०७९ को साउनदेखि २०८० असारसम्म ४ अर्ब ७१ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो । २०८० साउनदेखि २०८१ असारसम्म ६ अर्ब ६८ करोड रूपैयाँ बराबरको प्लाइउड भारतीय बजारमा पठाइएको छ ।

त्यस अघिका वर्षहरूमा झिनो परिमाणमा मात्रै प्लाइउड निर्यात हुने गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा जम्मा एक करोड ४६ लाख रूपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो । त्यसको ठीक पछिल्लो आर्थिक वर्ष २०७८/७९ मा  ३५ करोड रूपैयाँ बराबरको प्लाइउड निर्यात भयो।

व्यवसायीहरूका अनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्य तिरबाट भारतमा प्लाइउडको माग बढी भएको हो । पछिल्लो दुई आर्थिक वर्षदेखि प्लाइउड नै नेपालको प्रमुख निर्यात सामग्री बनेको छ ।

चालु आर्थिक वर्षमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाँचौ नम्बरमा छ ।

नेपालमा कति छन् प्लाइउड कम्पनी ? प्लाइउड काठबाट बनाइएको पाता हो, जुन पातला पानाहरू जोडेर बनाइएको हुन्छ । अहिले नेपालमा ८० भन्दा धेरै प्लाइउड कम्पनीहरू छन् ।

अधिकांश उद्योगमा नेपाली कच्चापदार्थ नै प्रयोग गरेर प्लाइउड उत्पादन भइरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताउँछन्‌ । अहिले नेपालबाट प्लाइउड मात्र नभएर प्लाइउड बनाउने कच्चा पदार्थ पनि निर्यात हुने गरेको उनको भनाइ छ ।

घिमिरेले भने, ‘नेपालमा सबै कुरा सम्भावना भएर पनि काम गर्न नसक्ने यो सरकार र राज्यको नीतिबाट व्यवसायीहरू जहिल्यै पिसिँदै आएका छन् । भारतले यसअघि लगाएको निर्यात प्रतिबन्ध हटाए पनि नेपालको नीति र व्यवस्था नेपाली उद्योगीहरूको बाधक बनिरहेको छ ।’

भारतीय अवरोध हट्यो, सरकारबाट सहयोग नभएको गुनासो

भारततर्फ उच्च गतिमा निर्यात भइरहेको प्लाइउड २०८० को माघ दोस्रो साताबाट एकाएक रोकियो । भारतले भारतीय गुणस्तर चिह्न (आइएआई) प्राप्त उत्पादन मात्रै आयात गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्दा नेपालबाट प्लाइउड निर्यात रोकिएको थियो ।

त्यसपछि नेपाली उद्योगी र सरकारका तर्फबाट लबिइङ भयो । त्यसको केही समयपछि भारतले निर्यात खुलाएको थियो ।

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

भारतले २०२५ को फेब्रुअरीबाट आइएसआई अनिवार्य गर्दै अहिलेलाई खुला गरेको हो। हाल नेपाली उद्योगीरूले आइएसआई लिन सुरू गरेका छन् ।

अहिलेसम्म नेपालमा उत्पादन भएका प्लाइउड भारतमा मात्र निर्यात हुने भएका कारण भारतले निर्यात बन्द गरेको थियो । यस्तै अवस्था रहिरहे नेपाली प्लाइउडले बजार नपाउने हुनाले अन्य देशहरूसँग पनि सम्झौता गर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरिरहेका छन्‌ ।

कच्चापदार्थ निर्यात खुकुलो, नेपाली उद्योग बन्द हुने खतरा आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले नेपाली उद्योगीहरूलाई व्यापार बन्द गनैुपर्ने अवस्थाको सिर्जना गरेको संघ अध्यक्ष घिमिरे बताउँछन्‌ ।

नेपालका ठूला उद्योगीहरूको कुरा सुनेर बजेटमा निर्यात भन्सारमा लाग्दै आएको कर पनि पूरै घटाएपछि नेपाली उद्योगीहरूलाई ठूलो मार परेको छ । पहिले गोलिया काठ निर्यातमा २०० प्रतिशत लाग्दै आएको कर बजेटमा घटाएर ५० प्रतिशतमा झारिएको छ ।

यसको प्रत्यक्ष असर नेपाली प्लाइउड बजारमा परेको उनीहरूको भनाइ छ । आर्थिक ऐन २०८१ बाट ४६ प्रकारका रुखका गोलिया काठको निर्यात शुल्कलाई डेढ सय प्रतिशत सम्मले कम गरिएको छ ।

व्यवसायीहरूका अनुसार गोलियाबाट भेनियर बनाउने क्रममा १५ प्रतिशत मूल्य अभिवृद्धि हुन्छ भने प्लाइउड बनाउँदा ७० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ ।

विगतमा धेरै व्यवसायीहरूले निर्यातलाई सहजीकरण गर्न भेनियर निर्यात महसुल घटाउन आग्रह गर्दै आएका थिए । प्लाइउड व्यवसायीहरूले निर्यात शुल्क नघटाउन आग्रह गरेका थिए ।

नेपाली प्लाइउड निर्यात गर्दा धेरै फाइदा हुने; साथै नेपालीले आफ्नै देशमा रोजगारी पाउने अवसरलाई सरकारले जानीजानी खोसेको उद्योगीहरूको भनाइ छ ।

अहिले प्लाइउड उद्योगमा प्रत्यक्ष रूपमा २५ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यसलाई प्रोत्साहन गर्न सकेको खण्डमा नेपालबाट धेरै मात्रामा निर्यात गर्न सकिने उद्योगीहरूको भनाइ छ ।

गोलिया नै निर्यात गर्दा नेपामा उत्पादन हुने प्लाइउडका लागि नै कच्चा पदार्थ नपाउने अवस्था आउने र नेपाली उद्योगहरू बन्द हुने संघका अध्यक्ष बताउँछन् ।

‘कच्चा पदार्थ निर्यातमा कडाइ गर्न सरकारलाई हामीले बारम्बार आग्रह गरेका थियौं ।  तर केही ठूला व्यापारीहरूसँग मिलेर नेपाली उद्योगलाई मार्ने खालको व्यवस्था गरियो । यसले गर्दा हामी नेपाली प्लाइउड उद्योगीहरू मारमा परेका छौं,’ घिमिरेले भने ।

अब सबै कच्चा पदार्थ नै भारततर्फ निर्यात भएपछि नेपाली तयारी प्लाइउड निर्यात नहुने र नेपाली उद्योग पनि विस्थापन हुने घिमिरे बताउँछन् ।

प्लाइउडकव प्रारम्भिक कच्चापदार्थ निर्यात क्रममा नेपालको वनजङ्गल पनि पूर्ण रूपमा विनाश हुनेमा चिन्तित देखिइन्छन्‌ । नेपाललाई खास लाभ नहुने हुनाले  गोलिया लगायत कच्चापदार्थ निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने घिमिरेको भनाइ छ ।

प्लाइउड उद्योगले प्रयोग गर्ने गोलिया काठमा चिलाउने उतिस मसला, लहरे पीपल, देवदारु लगायतका रूख हुन् ।