समाचार

मनसुन पुनः सक्रिय हुँदै, राति हल्कादेखि मुसलधारे वर्षाको सम्भावना

By खबरहब

July 10, 2024

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नेपालमा मनसुन पुनः सक्रिय हुने बताएको छ ।

बुधबार एक सुचना जारी गर्दै महाशाखाले आगामी तीन दिन ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी दिएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने महाशाखाले जनाएको छ ।

आगामी तीन दिन बाढी, पहिरो, डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आज राति कोशी, बागमती र गण्डकीसहित मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएको छ ।

मनसुनी न्यूनचापीय रेखा आज रातिबाट नेपालतिर सर्ने भएको र पश्चिमी न्यून प्रणाली पनि सक्रिय हुने सम्भावना रहेकाले धेरै पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका १३, मधेशका ८, बागमतीका ७, गण्डकीका ९, लुम्बिनीका ६ जिल्ला उच्च जोखिममा रहेका छन् ।