अन्तर्राष्ट्रिय

‘भारत आशियानको महत्वपूर्ण साझेदार’

By खबरहब

July 10, 2024

काठमाडौं – लाओसका एक जना वरिष्ठ अधिकारीले भारत दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको महत्वपूर्ण साझेदार भएको बताएका छन् ।

लाओसको विदेश मन्त्रालयअन्तर्गत आशियान विभागका महानिर्देशक चाटोउलोङ वौसिसवथले भारत आशियानको महत्वपूर्ण साझेदार भएको बताएका हुन् ।

लाओसको राजधानी भिएन्टिएनमा एएनआईसँग कुराकानी गर्दै महानिर्देशक वौसिसवथले हालै भारतले आशियान मुलुकका लागि नयाँ डिजिटलाइजेशनको प्रस्ताव अघि सारेको भन्दै उक्त प्रस्ताव पारित भए भारत र आशियानबीचको सम्बन्ध थप सुदृढ हुने उल्लेख गरे ।

उनले आशियानसँगको सम्बन्धलाई भारतले पनि महत्व दिएको भन्ने आफूलाई लागेको बताए ।हालैमात्र आशियानका केही मुलुक र भारतबीच भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।

यस किसिमको सम्झौताबाट आशियान मुलुकहरुमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि हुने वौसिसवथको विश्वास छ ।