तस्बिर एएफपी

अन्तर्राष्ट्रिय

गाजाको विद्यालयमा इजरायली हमला, एक सयभन्दा बढीको मृत्यु

By खबरहब

August 10, 2024

गाजा– गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्याएक सयभन्दा बढी पुगेको अनुमान छ ।  

‘मृतकको सङ्ख्या हालसम्म एक सयभन्दा बढी पुगेको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो’, विभागका प्रवक्ता महमुद बासलले बताए। 

गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल-ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।  

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ । 

गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय  भन्दा बढीको मृत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् ।