काठमाडौं- आचार्य लेखबहादुर विश्वकर्मा देशकै सर्वाधिक जेठो दरबार हाईस्कुलमा संस्कृत र नेपाली पढाउने गुरु हुन् ।
बुबाले आरनमा काम गरेको देखेका र जातीय विभेदका अनेक परिवेश झेलेका लेखबहादुरले गुरुकुलमै बसेर पढे । संस्कृतमा आचार्य गरे । अहिले उनी सनातनी संस्कार र संस्कृतिका विषयमा शिष्यलाई ज्ञान दिइरहेका छन् । मौका पाएको खण्डमा व्यासासनमा बसेर कथा वाचन गर्ने आँट र ज्ञान छ ।
उनले संस्कृत नै किन पढे ? संस्कृत किन पढ्नुपर्छ ? शास्त्रले जातीय विभेदलाई प्रश्रय दिएको छ, छैन ? यी प्रश्नको जवाफ लेखबहादुरसँग के छ ?
संस्कृतबाट सम्मोहित भएर उनले संस्कृत पढेका होइन रहेछन् । घरको आर्थिक अवस्था कमजोर थियो । होस्टलमा बसेर संस्कृत पढ्दा निशुल्क हुने भएकाले उनी त्यता तानिए ।
त्यसो त लेखबहादुरको बाल्यकालदेखि नै शिक्षक बन्ने चाहना थियो । त्यही ईच्छाशक्तिले उनलाई अहिले शिक्षक बनायो ।
पण्डित बन्नका लागि मात्र संस्कृत पढ्नुपर्छ भन्ने मान्यतासँग उनी असहमति जनाउँछन् । सम्पूर्ण ब्रह्माण्डको सारतत्व संस्कृतभित्र रहेकाले यसभित्रको ज्ञान सबैले लिनुपर्ने मत राख्छन् ।
बाल्यकाल, सामाजिक परिवेश, पठनपाठनमा गर्नु परेको संघर्ष र प्राप्त उपलब्धी उनकै शब्दमा-
शिक्षक बन्न संस्कृत सहारा
संस्कृतका विविध आयाम हुन्छन् । पण्डित हुन संस्कृत पढ्नुपर्छ भन्ने मान्यता गलत हो । संस्कृत पढेका सबै पुरोहित बन्ने हो भने शिक्षक को बन्छ ? म पढाउने सोखले नै संस्कृतको विद्यार्थी भएँ । अहिले पनि त्यही छु ।
घरको आर्थिक अवस्था एकदम टिठलाग्दो थियो । आफ्ना सन्तान पढाउनुपर्ने दबाबमा बाआमा हुनुहुन्थ्यो । अरु सबैले पढाउने समाजमा हुर्किएँ म । यस्तो अवस्थामा बालमनोविज्ञानलाई मर्न नदिन सन्तान पढाउनैपथ्र्यो । त्यसैले पैसा नतिरी पढ्न पाइने विषय खोज्दै जाँदा अन्तिम विकल्प संस्कृत बन्यो ।
मेरो जन्म २०४५ मा हुब्सीकोट गाउँपालिका वडा नम्बर–४ नवलपुरको झ्यालबासमा भयो । बुवा कर्णबहादुर र आमा तिलिसराका तीन छोरामध्ये कान्छो सन्तान हुँ । यसबाहेक चार दिदीबहिनी छन् ।
बुवा कृषिसंगै परम्परागत आरनमा फलामको काम गर्ने पेशामा संलग्न हुनुहुन्थ्यो । प्रायः गाउँमा विश्वकर्माले हातहतियार उध्याउने, बनाउने गर्थे, मेरा बुबाले पनि त्यही गर्नुभयो । अहिले बुबा अशक्त भएपछि घरमा आरन छैन ।
सात सन्तानमा अक्षर सबैले चिनेका छन् । दाइहरुले चार, पाँच कक्षा पढे । दिदीहरुले त्यतिबेला प्रौढ शिक्षा पढे । तर औपचारिक रुपमा पढेको मैले मात्रै हो । परिवारमा उच्च शिक्षा हासिल गर्ने मै मात्र हो ।
सरस्वती संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय गिरुवारीबाट कक्षा ६ देखि १० सम्म ऐच्छिक विषय अन्तर्गत मैले संस्कृत पढें । ६,७, ८ कक्षामा संस्कृत अनिवार्य थियो । ९ र १० कक्षामा ऐच्छिक थियो । ९ र १० मा पनि संस्कृत नै पढें । सय पूर्णाङ्क भाषा र सय पूर्णाङ्कको व्याकरण पढ्नुपर्थ्यो ।
संस्कृत ऐच्छिक ‘क’ र ऐच्छिक ‘ख’ भन्ने थियो । ‘क’ मा संस्कृत ९० पूर्णाङ्कको व्याकरण पढें । ‘ख’ मा नेपाली साहित्य अध्ययन गरें । पूजापाठका लागि कर्मकाण्ड विषय पढ्नुपर्छ । त्यो धर्मशास्त्रअन्तर्गत पर्दछ । मैले लिएको ऐच्छिक व्याकरण भएका हुनाले कर्मकाण्ड गर्न मिल्दैन । निष्कर्षमा भन्दा मैले संस्कृत ज्ञानका लागि पढें ।
बुबा अशक्त भएपछि अहिले घरमा आरन छैन । सात सन्तानमा उच्च शिक्षा हासिल गर्ने मै मात्र हो । जुन उद्देश्यका लागि संस्कृत पढेको थिएँ, त्यो पूरा भएको छ । पुराण वाचनका लागि अवसर पाएको छैन । कसैले बोलाएमा वाचन गर्न सक्छु
पढिसकेपछि भोलि यो पढाइ कहाँ काम लाग्छ भनेर पनि सोच्नुपर्यो । विद्यालय र विश्वविद्यालयमा यही विषय पढेपछि पढाउन सकिने भयो । काम गर्ने अवसर मिल्ला भनेर अध्ययन गरेको हो ।
कक्षा ९ र १० मा संस्कृत पढाउने गुरु धनपति कोइराला हुनुहुन्थ्यो । उहाँले पनि दाङकै संस्कृत विश्वविद्यालयबाट आचार्य गर्नुभएको थियो । धनपति गुरुले नै दाङ गएर पढ्न मलाई पहिलो सल्लाह दिनुभयो ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले पनि यो सल्लाह मेरा लागि अन्तिम विकल्प बन्यो । छात्रवृत्तिमा पढाइदिने क्याम्पस खोजी गर्नुपर्ने अवस्था थियो । त्यही अनुरुप आफूले पढ्दै आएको विषयमा छात्रवृत्ति पाउने भएँ । अझ गुरुले
त्यहाँ निशुल्क पढ्न र छात्राबासको पनि व्यवस्था हुन्छ भनेपछि त झन् पढाइका लागि पैसा जुटाउने झन्झटबाट मुक्ति मिल्यो ।
परिवारको दायित्वभित्र मेरो पढाइ मात्र थिएन । त्यत्रा सन्तान हुर्काउने, पढाउने, बढाउने, बिहेदान गर्ने कर्तव्य बुबाको काँधमा थियो । आम्दानीको बाटो केही थिएन । बालीनालीको आयले खान पुग्दैनथ्यो । परिवारको आर्थिक अवस्था हेरेर पढ्ने विषय रोज्नुपर्ने बाध्यता थियो ।
०६२/६३ आन्दोलनपछि दलितले पाए राहत
झ्यालबासमा अधिकांश मगर समुदाय, त्यसपछि क्षेत्री, बाह्मण, चौधरी, दलितलगायत जातजातिका मानिसको बसोबास थियो । मैले थाहा पाउँदासम्म पनि समाजमा जातीय विभेद थियो । मैले र मेरो परिवारले अनेकानेक पीडा व्यहोर्नुपर्यो ।
चेतनास्तर माथि नउठ्दासम्म विभेद गर्ने र भोग्ने दुवै पात्रलाई स्वाभाविक लाग्दो रहेछ । अनुभव प्रशस्त थियो तर विभेद किन गरेको भनेर प्रतिवाद गर्ने आँट थिएन । ज्ञान पनि थिएन । सबै मान्छे समान हो भन्ने जान्दाजान्दै विभेद किन होला भनेर मनमा बिझाउँथ्यो ।
गाउँमा ०६२/६३ सालको जनआन्दोलनले एक किसिमको प्रभाव पारिसकेको थियो । छुवाछुत गरेको थाहा पाउनेबित्तिकै माओवादीको निशानामा पर्ने भय थियो । जनआन्दोलनले त्रास पैदा गरेको थियो । छुवाछुतलाई केही हदसम्म माओवादी आन्दोलनले सचेत गराएको हो । समाजमा थिचिएका, मिचिएका वर्ग त्यो आन्दोलनमा सामेल थिए । सबैभन्दा धेरै यो समाजमा कोही थिचिएको थियो भने त्यो दलित समुदाय थियो ।
त्यो आन्दोलनमा अरु समुदाय भन्दा दलित समुदायको सहभागिता धेरै थियो । अन्य समुदाय पद र प्रतिष्ठाका लागि लडे, तर दलितहरु आफ्नो अधिकार सुनिश्चित गर्न लडे । त्यो संघर्षले आफ्नो अधिकार संघर्ष गर्न सिकायो ।
आजको दिनसम्म जनआन्दोलनको उपलब्धी कति हुनुपर्ने थियो ? कति भयो ? यसमा मैले केही बोलिनँ तर दलितलाई राज्यसँग विद्रोह गर्न सिकाएको जनआन्दोलनले नै हो भन्ने कुरामा कन्जुस्याइँ गर्न मिल्दैन । आन्दोलनले सामाजिक अथवा जातीय रुपान्तरण गरेको थियो ।
आफन्त र समाजको कुरा सुनिनँ, गुरुको मात्र सुनें
बुवाआमालाई संस्कृत भनेको के हो ? संस्कृत किन पढिन्छ ? संस्कृत पढेर के हुन्छ ? यसबारे केही पनि ज्ञान थिएन र छैन पनि । त्यही भएर नै गुरुको सल्लाहमा चलेको हुँ । छोरो दाङ गएर पढ्या छ भन्ने मात्रै थाहा भयो । अहिले पनि काठमाडौंस्थित दरबार हाइस्कुल पढाउँछ भन्ने थाहा छ, संस्कृत पढाउँछ भन्ने थाहा छैन ।
त्यतिबेला एसएलसी सकेर धेरैले साइन्स, म्यानेन्जमेन्ट, आर्टस् पढ्ने चलन थियो । राम्रो पढाइ भएकाहरु डाक्टर, इन्जिनियर पढ्ने योजना बनाउने । तर मैले संस्कृत पढ्ने मनसाय बनाएँ । संस्कृत पढेर के भविष्य छ ? तिमीले संस्कृत पढेर के गर्छौ ? जस्ता प्रश्न गरे ।
मेरो संस्कृतप्रतिको जिज्ञासालाई अरुले बुझ्ने कुरा भएन । अथाह ज्ञानको भण्डार भएको विषय हो । अरु केही नभए पनि ज्ञान हासिल गर्छु भन्ने थियो । मैले आफन्त र समाजको कुरा सुनिनँ, मात्रै गुरुको कुरा सुनेर उहाँले भनेको कुरालाई विश्वास गरें ।
विद्यालय तहमा मध्यमस्तरको विद्यार्थी थिएँ । पढ्नै मन नलाग्ने, किताबको पाना पल्टाउनै मन नलाग्ने । बिहान–बेलुका घरमा काम सघाउनुपर्थ्यो । किसानको छोरा भएपछि सबै काम भ्याउनुपथ्र्यो । वस्तुभाउ चराउन हिँड्नुपर्यो । जंगल जाने, घाँसदाउरा गर्दा बाल्यकाल दुखैमा बित्यो । घरको आम्दानीको स्रोत भनेकै खेतीपाती थियो । मैले मात्र नभई घरका सबैले काम गर्नुपर्थ्यो ।
विद्यालयमा जति पढ्यो, पढ्यो । ट्यूसन पढ्ने भन्ने थाहै भएन । त्यो व्यस्तताका बाबजुद विद्यालयको पढाइका भरमा आएको नम्बर उच्च नै थियो । त्यो आत्मसन्तुष्ट गर्ने नै थियो । लेख्न पढ्न नभ्याएका बेला शिक्षकको गाली पनि खाइयो । तर, कुनै शिक्षकले ममाथि विभेद गरेको अनुभव भएन ।
एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर एक्लै दाङ गएँ । आउजाउका लागि दोहोरो गाडी भाडा बोकेको थिएँ ।
मलाई पढाउनुभएका योगराज शर्मा सरको घरमा गएर पहिलो दिन बास बसें । गुरुले मेरो आगमनबारे परिवारमा पहिल्यै जानकारी गराउनुभएको थियो । क्याम्पसमा आवश्यक सहयोग गर्ने आश्वासन त छँदै थियो ।
सरको घरमा खानपीन गरी एकरात त्यहीँ बसें । यहाँबाट भदौमा गएको थिएँ । शर्मा सरले अब दशैंपछि मात्रै पढाइ निरन्तर हुने बताएपछि तत्काल फर्किएँ । संयोगवस होस्टलको वार्डेन पनि उहाँ नै हुनुहुन्थ्यो । भर्ना गरिदिने बताउनुभयो ।
तिहारपछि होस्टल बसेर पढ्ने गरी गएँ । ओढ्ने ओछ्याउनसमेत बोकेको थिएँ । होस्टलमा आफैं खाना बनाएर खान्थ्यौं । तीन–चारजनाको समूह–समूह बनाएर खाना खान्थ्यौं ।
संसारमा अनेकौं धर्म छन् तर धर्मको शिक्षा करिब एकै छ । धर्मको उद्देश्य पनि शिक्षा दिनु हो । ज्ञान दिने ग्रन्थले विभेद सिकाउला भन्ने कुरामा विश्वास गर्न सकिन्न
पहिले मेसमा खान नमिलेर विद्यार्थीलाई खानाको पैसा दिएर आफैं पकाएर खाने व्यवस्था गरिएको रहेछ । होस्टलमा एउटा खाट दिइन्थ्यो । सबै घर छोडेर आएकाहरु थिए, साथी बनाउन धेरै गाह्रो भएन । अर्घाखाँची, स्याङजा, पाल्पा, बागलुङ, प्यूठान लगायतका धेरै जिल्लाका साथीहरु थिए ।
अग्रज दाइहरुले पनि माया गर्थे । आफूले पढिसकेका कुरा सिकाइदिन्थे । विश्वविद्यालयको वातावरण राम्रै थियो ।
ब्राह्मण परिवारमा बुवा, हजुरबुवा उमेरका पनि कर्मकाण्ड गर्छन् । सन्तानलाई पनि त्यही निरन्तरताका लागि संस्कृत पढाउँछन् । साथीहरु कसैले बोलाएमा पूजापाठमा जान्थे, दुईचार पैसा कमाउँथे । पूजापाठ गर्नेहरु प्रायः ब्राह्मण नै हुन्छन् । उनीहरुले बोलाउने कुरा भएन । मेरो कर्मकाण्डी पढाइ थिएन । मेरो ध्यान कर्मकाण्डमा भन्दा शिक्षणमा नै थियो । हाम्रै समुदायमा पनि कर्मकाण्ड गर्नेहरु छन् । तर, उनीहरु आफ्नै समुदायमा खुम्चिएका छन् ।
धार्मिक ग्रन्थमा विभेद छैन
पहिले समाजमा नियम कानुन थिएन, विधिका लागि धर्ममार्फत यो गर्न हुन्छ र यो गर्न हुँदैन भनिएको थियो । अहिले जसरी कानुन बनेको छ, संविधान बनेको छ, वेद त्यो समयको कानुन थियो ।
धर्म भनेको स्वतन्त्रता हो । कसैले संस्कृत पढ्दैमा हिन्दु र बाइबल पढ्दैमा क्रिश्चियन हुने होइन । धर्म भनेको आत्माले विश्वास गर्ने कुरा हो । सबै धर्मप्रति मेरो सम्मान छ । सबै धर्ममा ज्ञान छ, सबै धर्ममा राम्रो मात्रै छ । कुनै पनि धर्मले नराम्रो, अहित र असत्यको कुरा गरेको छैन ।
मैले पुराण वाचनका लागि भनेर अवसर पाएको छैन । कसैले बोलाएमा वा अनुरोध गरेमा गर्न सक्छु । १८ वटा पुराण छन्, कथावाचकले यी सबै पुराण पढेका हुँदैनन् । यो निकै बृहत छ । त्यसैभित्रको केही अंश पढेर वाचन गर्ने हो । ती कथाहरु जानेर, बुझेर त्यसमा भएको ज्ञान सबैलाई बाँड्ने हो ।
संस्कृत पढ्दैमा सबै ज्ञान हुन्छ भन्ने हुँदैन । पुराण, वेदको अध्ययन गरेर ज्ञान दिन सकिन्छ । पुराण नै वाचन गर्नका लागि निकै धेरै मेहेनत गर्नुपर्छ ।
पशुपतिको कोटिहोममा निमन्त्रणा थियो । सम्मान कार्यक्रम थियो, उपस्थित भएँ । नारीहरुले समेत बाचन गरे, दलित आचार्यको उपस्थिति भयो । त्यो हेर्दा सकारात्मक नै देखेको छु ।
हिन्दु धर्ममा छुवाछुत छ, विभेद छ भनेर आलोचना गर्नु व्यर्थ छ । धर्मशास्त्र र ग्रन्थले विभेद गरेको छैन । यसमा विभेद हुने बित्तिकै यसको औचित्य रहन्न । संसारमा अनेकौं धर्म छन् तर धर्मको शिक्षा करिब एकै छ । र, धर्मको उद्देश्य पनि शिक्षा दिनु हो । शिक्षा दिने, ज्ञान दिने ग्रन्थले विभेद सिकाउला भन्ने कुरामा विश्वास गर्न सकिन्न ।
दलितलाई आरक्षण किन ?
दलितले पाएको आरक्षणको आलोचना गर्नु भनेको पहिलेदेखिको अभ्यास अथवा दलितलाई हेप्ने परम्परा हो । आरक्षण महिला, जनजाति, मधेसीलगायतका समुदायलाई छ । तर, प्रहार दलितमाथि मात्रै हुने गर्छ । आरक्षण पनि लिने र दलित पनि भन्न नहुने तर्क हामीले सुन्दै आएका छौं ।
आरक्षण के हो र केका लागि ? आरक्षणको व्यवस्था हुँदासमेत आज मन्त्रिमण्डलमा एकजना दलितको सहभागिता छैन । आरक्षण अझै पाएको अवस्था छैन । दुई दशकदेखि बहस मात्रै भएको छ । हिजोका दिनको तुलनामा केही पनि भएन भन्न मिल्दैन । तर, गणतन्त्र आएपछि पिछडिएका समुदायको हितमा राज्यले जति गर्नुपर्ने हो, त्यो भएको छैन ।
आरक्षण देखेर अरु समुदायले तर्सिनु आवश्यक छैन । राज्यमा पहुँच नहुनेहरुका लागि समावेशी व्यवस्था हुन्थेन भने हाम्रो समुदायको सहभागिता शून्य हुने थियो
आरक्षण देखेर अरु समुदायले तर्सिनु आवश्यक छैन । वर्षौं वर्ष पिछडिएकाको उत्थानका लागि बनेको अवधारणा हो आरक्षण । दलित कहिल्यै माथि नआओस् भन्नेहरुको विरोध हो आरक्षण विरोध । राज्यमा पहुँच नहुनेहरुका लागि समावेशी व्यवस्था हुन्थेन भने हाम्रो समुदायको सहभागिता शून्य हुने थियो ।
क्षमता र दक्षता भन्ने कुरा अवसरले प्राप्त गर्ने हो । गाउँ, पाखापखेरा वा निम्न वर्गमा जन्मिएको मान्छेले अवसर पाएन भने उसको विकास कसरी हुन्छ ? राज्यको हरेक निकायमा बराबरी उपस्थिति नभएसम्म यो आवश्यक छ ।
जुन उद्देश्यका लागि संस्कृत पढें, त्यो पूरा भएको छ
म एक दशकदेखि शिक्षण पेशामा संलग्न छु । सुरुमा दाङ तुलसीपुरबाटै पढाउन थालेको हो । त्यहाँ एक निजी विद्यालयमा चार वर्ष नेपाली पढाएँ । त्यसपछि गाउँमै फर्किर ढेड वर्ष पढाएँ । चार वर्षदेखि दरबार हाइस्कुलमा पठनपाठनमा संलग्न छु ।
हाइस्कुलमा कक्षा ११ र १२ लाई बिहानको समयमा पढाउँछु । दिउँसो स्कुल तहलाई पढाउँछु । शिक्षक सेवा आयोगमा तीन वर्षअघि स्थायीमा नाम निकाल्न सफल भएको हुँ । पहिले करार दरबन्दीमा थिएँ, त्यही दरबन्दीमा नाम निकालें । काठमाडौंबाटै परीक्षा दिएको थिएँ ।
जुन उद्देश्यका लागि संस्कृत पढेको थिएँ, त्यो पूरा भएको छ । बाँकी जीवन पनि पढ्ने र पढाउनेमा बिताउने इच्छा छ ।