काठमाडौं- घरमा बुवाआमाको दैनिक झगडा र कचकच देखेर विचलित भएकी वर्षा (नाम परिवर्तन) लाई १७ वर्षको उमेरमा आत्महत्या गर्ने सोच आएको थियो। उनलाई ठूलो छटपटी भयो । आफैं मनोविदलाई भेटिन् र आफ्ना सबै कुरा शेयर गरिन्। सही परामर्श पाएपछि उनी अहिले त्यो सोच त्यागेर स्वस्थ र खुशी जीवन बिताइरहेकी छन्। अहिले २१ वर्ष पुगेकी उनी मनोविज्ञान विषय लिएर अध्ययन गरिरहेकी छिन्।
काठमाडौंमै बस्ने एक दम्पत्ती जसको वैवाहिक जीवन सामान्य थिएन। श्रीमानले श्रीमतीप्रति बिवाहेत्तर सम्बन्धबारे गर्ने शंकाका कारण घरमा झगडा हुनु उनीहरुको दैनिकी थियो। एक दिनको कुरा हो। झगडा यतिसम्म बढ्यो श्रीमतीलाई मार्न भनेर श्रीमानले घरमै आगो लागाए। जसको शिकार बने उनीहरुका अवोध दुई छोरी। आमालाई बचाउन जाँदा किशोरावस्थाकी एक छोरीको ज्यान गयो।
एक छोरी र आमाको घाइते अवस्थामा उपचार भइरहेको छ। एकातिर श्रीमानले आफूमाथि गर्ने शंकाका कारण सहनु परेको ज्यादती र हुर्किसकेका छोरी गुमाउनुपर्दाको पीडा सहन नसकेर ती आमालाई आत्महत्या गर्ने सोच आयो। अहिले मनोविदसँगको नियमित परामर्श र एकजना बाँचेकी छोरीका लागि भए पनि आमा बाँच्नुपर्छ भनेर सबैले सम्झाउँदा उनको मानसिक स्थितिमा धेरै सुधार आएको छ।
उनका श्रीमान जेलमा आफूले गरेको कुकर्मको सजाय भोगिरहेका छन्। ती आमा अहिले बाँचेकी छोरीका लागि भए पनि म बाँच्छु भन्दै हिम्मत जुटाएर बसेकी छन्।
२१ वर्षीया शारदा (नाम परिवर्तन) उनले सानै उमेरमा विवाह गरिन् र छोरीलाई जन्म दिइन्। छोरी जन्मिसकेपछि श्रीमानको विवाहेत्तर सम्बन्ध छ भन्ने कुरा सुनेकै आधारमा उनले आत्महत्याको प्रयास गरिन्। क्षणिक आवेगमा वास्तविकता नबुझी उनले गलत कदम उठाइन् । यद्यपि आफन्तले उनलाई बचाए।
समयमै उपचार पाउँदा उनको ज्यान जोगियो। श्रीमान घरपरिवार र समाजको साथले त्यसपछिका दिनमा उनमा त्यस्तो सोच कहिल्यै पनि आएन।
अहिले उनका तीन जना छोराछोरी छन्। घरपरिवार मिलेर बसिरहेका छन्। वर्षा र शारदा जस्तै परिवारको साथ माया र समयमा परामर्श पाएर धेरैले नयाँ जीवन पाएका छन्।
नेपालमा आत्महत्याको अवस्था के छ ?
नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन्। आइतबार मात्र पत्रकार सम्मेलन गरेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरेको छ।
हरेक वर्ष सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। यस वर्ष दिवसको नारा ‘चेन्जिङ द न्यारेटिभ’ अर्थात् ‘कथन परिवर्तन गरौं’ भन्ने राखिएको छ
नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ। दीगो विकास लक्ष्य (एसडिजी) को लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको अध्ययनले देखाएको छ।
विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औँ कारण रहेको छ। विश्वमा वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्युवरण गर्ने तथ्याङ्क छ।
विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन्। साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ।
नेपाल लगायत विश्वभर नै आत्महत्याको दर हरेक वर्ष बढ्दो क्रममा छ। योक्रमलाई रोक्नका लागि हरेक वर्ष सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। यस वर्ष दिवसको नारा ‘चेन्जिङ द न्यारेटिभ’ अर्थात् ‘कथन परिवर्तन गरौं’ भन्ने राखिएको छ। जसले अवरोधहरू तोड्ने, चेतना जगाउने र आत्महत्या रोक्नका लागि बुझ्ने र समर्थन गर्ने संस्कृति सिर्जना गर्ने उद्देश्य राख्छ।
आत्महत्याको कारण र रोकथाम
मान्छेलाई आत्महत्यासम्म गर्न प्रेरित गर्ने पारिवारिक, सामाजिक, आर्थिक कारण रहेपनि ती सबैको असर मानसिकरुपमै पर्ने भएकाले मानसिक समस्याको बेलैमा समाधान गर्न सक्यो भने आत्महत्या रोकथाम गर्न सकिने मनोविद् बताउँछन्।
विभिन्न तथ्यांकलाई हेर्ने हो भने अहिले १५ वर्षदेखि ४५ वर्षसम्मको जनसंख्या बढी आत्महत्याको जोखिममा रहेको पाइएको मनोविद् घिमिरे बताउँछन्।
यो उमेरमै आफ्नो वर्तमान जीवनदेखी भविष्यसम्मको बारेमा सोच आउने, जिम्मेवारी लिनुपर्ने र गर्नैपर्छ भन्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ। कतिपयले आफूले सोचेका काम गर्नसक्ने वातावरण नहुँदा गलत कदम उठाउने गरेको उनले बताए।
वास्तवमा कसैले पनि आत्महत्या गर्न चाहँदैन आनन्दको खुशी जीवन बिताउने धेरैको चाहना हुन्छ। जब उसको जीवनमा विभिन्न बाधा व्यवधान, अवरोध आउँछन्। जसले गर्दा ऊ छटपटीन थाल्छ। त्यो सोचबाट मुक्त हुने उपाय उसले खोजीरहेको हुन्छ। कतिपय अवस्थामा आत्महत्याको सोच आएको छ भनेर नजिकको मिल्ने साथीसँग आफ्ना भावना साट्न थाल्छन्। उसको त्यो भावनालाई हामीले अन्यथाको रुपमा लिनु हुँदैन। सकेसम्म उसका कुरा धेरै सुनिदिनु राम्रो हुने उनको भनाइ छ। उसको अवस्था के छ भनेर सोध्यो भने त्यो व्यक्तिलाई बचाउन सकिने घिमिरे बताउँछन्।
घिमिरे भन्छन्, ‘एकदमै कमैले मात्रै आफ्नो भावना शेयर गर्दैनन्। धेरैले कुनै न कुनै तरिकाले लक्षण देखाएकै हुन्छन्। मसँग परामर्शको क्रममा धेरै किशोरकिशोरीले आफूमा आत्महत्याको सोच आएको भन्ने कुरा गर्ने गर्दछन्। उनीहरुमा त्यस्तो सोच आउनुको कारण, उनीहरुको पारिवाररिक तथा सामाजिक पृष्ठभूमिबारे अध्ययन गरेर सोही अनुसारको परामर्शबाट उनीहरुको समस्या समाधान गर्ने गर्दछौं।’
धेरै बालबालिकामा बुवाआमाको द्वन्द्वका कारण आत्महत्या गर्ने सोच आउने गरेको पाइएको उनले बताए। एकपटक आत्महत्याको पहल गरिसकेका व्यक्ति यसको जोखिममा हुने भएकाले त्यस्ता व्यक्तिलाई परिवारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
नेपालमा अव्यवस्थित सहरीकरण, परिवारका सदस्यको बढ्दो विदेश मोह, आर्थिक अभाव, पारिवारिक बेमेल आमहत्याका कारण बन्ने गरेको मनोविद् पद्मप्रसाद घिमिरेको भनाइ छ। घिमिरेका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा आर्थिक कारण अर्थात् ऋण व्यवस्थापन गर्न नसक्दा त्यससँग सम्बन्धित रहेको पारिवारिक झगडा लगायतका कारणले मान्छेमा निरासा बढ्ने, आत्मविश्वास कम हुने भइरहेको छ। यी र यस्तै कारणले कतिपयले गलत निर्णय गर्न पुग्छन्। व्यापार र व्यवसाय घाटामा गएको हुनाले त्यसमा आश्रित परिवार छिन्नभिन्न भएको अवस्था छ। मान्छेले हरेक असफलतापछिको सहयोगी प्रणाली विकास गरेनन् भने मनमा नकारात्मक प्रभाव पर्छ। त्यसले आत्महत्या गर्ने जस्तो गलत कदम उठाउन पुग्छन्। तर समयमै यी विभिन्न समस्याको पहिचान गरेर र सही परामर्श पायो भने यसलाई रोक्न सकिने मनोविदको भनाइ छ।
मनोविद् घिमिरे भन्छन्, ‘नेपालजस्तो विकासोन्मुख देशमा भौतिक विकासलाई मात्रै जोड दिँदा मानवीय सूचाङ्क कमजोर भइरहेको छ। यसमा ख्याल नगर्दा आत्महत्याको दर बढेको छ। तर उपचारमा सहभागी भए यसलाई रोक्न सकिन्छ।’
आत्महत्या नियन्त्रणका लागि जीवन धान्नको लागि माग्नुपर्ने अवस्थाको अन्त्य, उपचारमा सहयोग प्रणालीको विकास, सहुलियत, उद्योग व्यवसाय घाटामा जाँदा परिवारका अन्य सदस्यको सहयोग, सामाजिक सहयोग प्रणालीको विकास गर्नुपर्नेमा उनको जोड छ। एउटा मान्छे संकटबाट बाच्नका लागि सरकारको नीति तथा प्रणालीसमेत सहयोगी हुनुपर्ने उनको बुझाइ छ। यस्ता विषयले मानिसलाई निरासाबाट आशा र भ्रमबाट यथार्थ, छटपटीबाट शान्त वातावरणमा रुपान्तरित गर्न पुग्छ।
आत्महत्या रोकथामका लागि परिवार, समाज र सरकारको भूमिका
हरेक व्यक्तिका लागि परिवार सबैभन्दा नजिकको सहयोगी संरक्षक र साथी बन्नसक्छ। परिवारमा कसैलाई त्यस्ता लक्षण देखिएमा सचेत बन्नुपर्छ। उसले गलत कदम उठाइहाले पनि परिवारका सदस्यले उनीहरुलाई बुझ्ने कोसिस गर्नुपर्छ। यस्तो समस्या भएको थाहा पाएपछि कसैले पनि पीडादायी प्रश्न गर्नु हुँदैन। उल्टो उसका कुरा धेरै सुनिदिनुपर्छ।
सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत मानसिक स्वास्थ्यमा यथेष्ट बजेट बढाउनुपर्ने देखिन्छ। हरेक पालिकामा एक जना परामर्शदाता, एकजना योग गुरु र एकजना आर्थिक व्यवस्थापकको व्यवस्थापन गरेमा यस्तो समस्या कम नहुने उनको विश्वास छ।
‘यस्तो व्यवस्थापन गर्नसके समस्या आउने बित्तिकै स्थानीय तहमै समस्याको सुनुवाइ हुनसक्ने सम्भावना हुन्छ’, मनोविद् घिमिरेले भने, ‘समस्या समाधानका लागि सहयोगी प्रणालीको विकास भए आत्महत्याको दर घटाउन सकिन्छ।’