आर्थिक

सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध, टीएमएस चलाउन निषेध

By खबरहब

September 10, 2024

काठमाडौं- अबदेखि सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत देशभरका सरकारी कार्यालयबाट शेयर कारोबार नगर्न निषेध गरिएको जानकारी दिएका छन् ।

उनले सरकारी कर्मचारी शेयर कारोबारमा लाग्दा जनताको काममा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय लिनुपरेको बताएका छन् । ‌ ओलीले जनगुनासोअनुसार देशैभरका सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमसएस) माथि पनि प्रतिबन्ध लगाउने निर्णय भएको बताएका छन् ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ । सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ’, उनले भनेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ ।’

उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको पनि बताए । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न पनि कर्मचारीलाई ओलीले आग्रह गरेका छन् ।