समाचार

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

By खबरहब

October 10, 2024

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासमा सहयोग पुग्नेछ ।

३८ करोड रुपैयाँभन्दा बढी मूल्यका ती पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साँझ हस्तान्तरण गरिन् । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा उपलब्ध गराइने जनाइएको छ ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराएर मानवीय सहयोग गरेको छ ।