स्वास्थ्य

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

By पवन मुडभरी

October 10, 2024

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्वभर नै नसर्ने रोगहरू वर्षेनी बढ्दो क्रममा छ । त्यसमा मानसिक रोग पनि पर्दछ । उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव छ । तर पनि चेतनाको अभाव र मानसिक रोगप्रतिको दृष्टिकोणले गर्दा केही समययता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा रहेको विज्ञहरू बताउँछन् ।

मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ । नेपालमा के छ मानसिक स्वास्थ्यको अवस्था ? परामर्श दिएरै मात्रै निको हुने खालका बिरामीहरूको सन्दर्भमा हामीले के गरिरहेका छौँ ? मानसिक स्वास्थ्य समस्याको उपचार पद्धति कत्तिको लामो हुन्छ ? एकपटक उपचार गरेपछि दोहोरिने सम्भावना कत्तिको हुन्छ ? यिनै विषयमा नसा तथा मनोरोग विशेषज्ञ डा. अनन्तप्रसाद अधिकारीसँग गरिएको कुराकानीः

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा के छ मानसिक स्वास्थ्यको अवस्था ? सधैँ झैँ यसवर्ष पनि अक्टोबर १० मा नेपाल लगायत विश्वभर यो दिवस मनाइँदैछ । यसको प्रतिकात्मक अर्थ रहन्छ । एकदिन मात्रै दिवस मनाएर हुँदैन । यो दिन भनेको मानसिक स्वास्थ्य सेवा प्रवाह, मानसिक स्वास्थ्य प्रतिको जागरणको एउटा साङ्केतिक दिन हो । जसमा नेपालमा मानसिक स्वास्थ्यप्रति जनचेतना धेरै छैन । मानसिक स्वास्थ्य सम्बन्धी समस्याको उपचारको व्यवस्था पनि धेरै छैन । जनशक्तिको अभाव छ । मानसिक स्वास्थ्य समस्याबाट गुज्रेका व्यक्तिहरुलाई विभिन्न किसिमका लाञ्छनाहरू लगाइन्छ । यी यावत कुराहरूलाई चिर्नका निमित्त र ८५ प्रतिशत भन्दा बढी उपचारबाट वञ्चित रहेका मानसिक स्वास्थ्यका बिरामीहरूको सहज उपचारको निम्ति जागरण सुरु गर्ने दिनको सुरुवात हो जस्तो पनि लाग्छ ।

नेपालमा मानसिक स्वास्थ्य अवस्थाको कुरा गर्ने हो भने विगतको भन्दा चेतना अलि वृद्धि भएको अवस्था छ । सेवाको पहुँच अझै कम भएको अवस्था छ भने सरकारी तवरबाट केही नीतिहरू बनेर स्थानीय तह र प्रादेशिक स्तरसम्म पनि केही कामहरू भएका छन् । मानिसको घरदैलोसम्म यसबारे चेतना फैलाउने काम र उपचारको पहुँच पनि पुऱ्याउनका लागि केही पहल कदमी लिएको अवस्था छ ।

यहाँको भनाई अनुसार १५ प्रतिशत बिरामी अर्थात औषधी चलाउनुपर्ने खालका बिरामी मात्रै उपचारको पहुँचमा छन् हो ? औषधी उपचार गरिनुपर्ने खालका पनि धेरै बिरामीहरु उपचारको पहुँचमा छैनन् ।

परामर्श दिएरै मात्रै निको हुने खालका बिरामीहरूको सन्दर्भमा हामीले के गरिराखेका छौँ ? मानसिक स्वास्थ्यको उपचारका पद्धतिहरु धेरै छन् । जसमध्ये मनोपरामर्श पनि एउटा हो । अलिकति कम गहन खालका विक्षिप्तता उत्पन्न नभइसकेका, एञ्जाइटि, रिलेटेड, माइल्ड खालको डिप्रेशन, तनाव जन्य समस्याहरुलाई मनोपरामर्शले पनि धेरै हदसम्म उपचार गर्न सकिन्छ । तर समस्या के भने मनोपरामर्शदाताहरु प्नि हाम्रो तल्लो तहसम्म छैनन् । जो देशमा उत्पादन भएका छन् उनीहरुलाई पनि सरकाले दरबन्दी खोलेर हाम्रो स्वास्थ्य संरचनाभित्र समावेश गराएर स्वास्थ्य सेवा दिलाउन सक्ने व्यवस्था अहिलेसम्म छैन ।

त्यसैले जे जती कामहरू अहिलेसम्म भएको छ । हाम्रो पुरानो संरचना जस्तो हाम्रो साविकका अञ्चल अस्पताल भनेका अहिले प्रादेशिक अस्पताल तथा जिल्ला अस्पतालमा परीणत भएका छन् । केही अस्पतालहरुमा मानसिक स्वास्थ्य विशेषज्ञकोे दरबन्दी राखिएको छ केहीमा छैन । केन्द्रिय अस्पतालहरुमा मानसिक स्वास्थ्यको डिपार्टमेण्टहरु राख्ने भनेर भनिएको छ तर कति ठाउँमा फुलफिल भएको छैन । त्यसैले विशेषज्ञ जनशक्तिले मात्रै हुँदैन भनेर सरकारले अब के गर्दैछ भने विशेषज्ञता सेवा प्रदान गर्ने संस्थाहरुबाट यो टास्कलाई शेयर गरेर तल्लो तहसम्म पु¥याउने उद्देश्यले जुन ठाउँमा जुन खालको स्वास्थ्य जनशक्ति उपलब्ध छ । उनीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिएर जनताको घरदैलोमा सेवा दिने हिसाबले काम गरिरहेको छ ।

परिस्थितीजन्य घटनाले निम्त्याएको समस्या विशेषतः कोभिड, बेरोजगारी, आर्थिक विपन्नता र त्यो भन्दा पछाडीका राजनीतिक, आर्थिक सामाजिक कारणहरु होलान् । यसबाट निम्तिएका समस्याहरुको न्यूनीकरणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ होला । स्थानीय तहबाट केही व्यवस्थाहरु भएका छन् की छैनन् ?

मानसिक स्वास्थ्यका कारक तत्त्वहरू पनि बहु आयामिक नै हुन्छन् । जसमा केही जैविक कारणहरू हुन्छन् भने आर्थिक, सामाजिक, मनोवैज्ञानिक लगायत यी सवै कारणले गर्दाखेरी कुनै व्यक्ति मानसिक रोगको जोखिममा छ भने यसले रोगलाई बढाउने नै हो । त्यसैले रोग लाग्न नदिनका लागि पनि समाजको अमन चयनको अवस्था जरुरी छ । भनाइको मतलव धेरै कुराहरू जस्तै जैविक कारण बाहेक मनोवैज्ञानिक, आर्थिक लगायत व्यवहारसित कारणहरू हामीले समाजमा सेटल गर्न सक्छौँ । जसको लागि लागूपदार्थ दुर्व्यसनीको मनिटरिङ राम्रो हुने, पारिवारिक वातावरणलाई राम्रो व्यवस्थापन गर्ने, स्थानीय तहको सक्रियतामा पारिवारिक विखण्डनका कुराहरुलाई व्यवस्थापन गर्न सक्ने हो भने पनि समाजकै कारण उत्पन्न हुने मानसिक समस्यालाई कम गर्न सकिन्छ ।

जुन व्यक्तिमा मानसिक रोगका लक्षणहरू देखिन्छन् । ती व्यक्तिहरुमा हाम्रो संरचनाहरू छन् । जस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरु, सामुदायिक स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरू छन् । उनीहरूको पहुँचमा खुलेर कुरा गर्नसक्ने स्थिति सिर्जना गर्न सक्यो भने झण्डै ६० प्रतिशत जति मानसिक स्वास्थ्यका समस्याहरू समुदायस्तरमै निरुपण र समाधान गर्न सकिन्छ । बाँकी कडा खालका मानसिक रोगका समस्याहरू जो हामीले समुदायमा पहिचान गर्छौँ, तिनीहरुलाई च्यानलवाइज रिफर गरेर जस्तै प्रादेशिक अस्पतालहरु र केन्द्रीय अस्पतालहरुमा रेफर गर्ने च्यानलको विकास गर्न जरुरी छ ।

विशेषतः आप्रवासी कामदारहरु नेपाल जस्तो मुलुकमा अत्यन्तै धेरै छन् । आप्रवासनमा गएका ती श्रमिकहरुसँग जोडिएको पारिवारिक तथा व्यक्तिगत आयआर्जनसँग सम्बन्धित समस्या अलिकति बढेको भन्ने कुरा तथ्यहरुले देखाइरहेको छ यसका सन्दर्भमा हामीले के गरेका छौँ ? यसवर्षको मानसिक स्वास्थ्य दिवसको नारा पनि कार्यस्थलको नागरिक स्वास्थ्यसँग जोडिएरै आएको छ । ‘इज टाइम टु प्राइरिटी मेण्टल हेल्थ इन द वर्क प्लेस’ भन्ने राखिएको छ । जसको अर्थ कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने समय हो भन्ने हुन्छ । यो क्रममा हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरु रोजगारीको सिलसिलामा बाहिर छन् ।

एउटा ऊर्जाशील समय जुन समयमा श्रीमान् श्रीमतीसँगै रहनुपर्ने, बालबालिकाहरूलाई स्याहार्नुपर्ने आत्मियताका कुराहरू बच्चाको भविष्यको कुराहरू सँगै बसेर सोच्नुपर्ने बेलामा श्रीमान् वा श्रीमती बाहिर गएर काम गर्नुपर्ने, वृद्ध बुवाआमालाई एक्लै छोड्नपर्ने, बालबालिकाले राम्रो स्याहार नपाउने हाम्रो वाध्यता छ । यो अवस्था पनि मानसिक स्वास्थ्यको लागि प्रतिकूल नै हो । त्यसैले विदेशमा बेलाबेलामा आत्महत्याका घटनाहरु विशेष गरेर कोरियामा धेरै सुनिन्छ । यो चाहीँ मानसिक स्वास्थ्यको समस्या नै हो । यसको लागि पनि हामीले के सोच्नुपर्छ भने वैदेशिक रोजगारीमा जानुअघि जसरी अन्य स्वास्थ्य परिक्षणहरु गराउँछौं त्यसरी नै मानसिक स्वास्थ्यको अवस्था, पारिवारिक अवस्था, तनावका कुराहरूलाई पनि व्यवस्थित गरेर मात्रै विदेशमा पठाउने र गइसकेका व्यक्तिहरुलाई पनि सोही ठाउँको सरकार अथवा हामीले आफ्नै राजदूतावास मार्फत भए पनि आफ्ना नागरिकको मानसिक स्वास्थ्यको अवस्था कस्तो छ भनेर श्रम मन्त्रालय मार्फत वा स्वास्थ्य मन्त्रालय मर्फत कसरी गर्न सकिन्छ त्यो गरिएन भने विदेशबाट आउने शवहरुको संख्या दिनदिनै बढ्ने नै छ ।

हामीसँग मानसिक स्वास्थ्यसँग सम्बन्धित एथेष्ट तथ्याङ्क छ त ? देशभित्रकै नागरिकको अवस्थाको बारेमा वास्तविक तथ्याङ्क नभएको बेला आप्रवासी नागरिकको अवस्था थाहा पाउन कति सम्भव छ ?

हामीसँग तथ्याङ्क नै नभएको त होइन । सन् २०२० मा राष्ट्रिय सर्वेक्षण गर्‍याैँ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा के देखाउँछ भने लगभग १० देखि १२ प्रतिशत मान्छेहरुमा जीवनको कुनै कालखण्डमा मानसिक रोग लागेको अवस्था छ । तत्काल नै पनि ४ देखि ५ प्रतिशत मानिसहरु उपचार गर्नुपर्ने खालका मनोरोगहरु लिएर बसेका छन् ।

यसैलाई प्रोजेक्शन गरेर हेर्ने हो भने पनि हाम्रो सम्पूर्ण जनसङ्ख्याको आधा भन्दा बढी मान्छे मानसिक रोगबाट ग्रसित छन् । आत्महत्याको दरसँग पनि मानसिक स्वास्थ्य समस्यालाई जोडेर हेर्दा नेपालमा १ दिनमा करिब २० जनाले आत्महत्या गर्छन् । जसको ८० प्रतिशत भन्दा धेरै कारण चाहिँ मानसिक स्वास्थ्य समस्या नै हो । यो आँकडा हेर्दा मानसिक स्वास्थ्यको अवस्था भयावह नै छ ।

यो दिनदिनै फेरिने कुरा हो । यसरी हेर्दा हाम्रो कुल जनसंख्याको कति प्रतिशत जनसंख्या बाहिर छ र कतिलाई मनोरोग हुनसक्छ भन्ने कुराहरु आँकलन गर्न सकिन्छ । टड्कारो रुपमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूमा आत्महत्याको दरलाई हेर्ने हो भने पनि डरलाग्दो छ । देशभित्र र बाहिर पनि आत्महत्याको दर बढ्दो नै छ ।

१० देखी १२ प्रतिशतमा जीवनको कुनै न कुनै कालखण्डमा मानसिक रोगको समस्या देखिएको तथ्याङ्क छ । त्यस्तै ४ देखि ५ प्रतिशतले उपचार खोजिराखेको भन्ने देखियो । यी तथ्याङ्कमा बाँधिएकाहरू उपचारको पहुँचमा जोडिएकी जोडिएनन् भनेर हामीले  हे¥यौँ कि हेरेनौँ ? त्यसरी हेर्नसक्ने अहिले सम्भावना छैन । किनभने हाम्रा संरचनाहरुले जुन हाम्रो रिर्पोटिङ सिष्टम छ हेल्थको त्यसमा पनि भर्खर भर्खर मानसिक स्वास्थ्यका समस्याहरुलाई समावेश गर्न सुरु गरिएको छ र त्यसले पूर्ण रुपमा अँगाल्न सकेको छैन । यसको कारण के हो भने मानसिक स्वास्थ्यसँग सम्बन्धित ह्युमन रिसर्च जसले डाइग्नोसिस गरेर राष्ट्रिय अभिलेखमा हाल्दिनसकोस् त्यो छैन । र अस्पतालहरुमा आएको डाटाहरुलाई हेर्दा पनि लगभग आँकडा त्यस्तो नै देखिन्छ ।

यो पालिकामा अथवा यो वडामा यो खालको मानिसलाई यो समस्या छ भन्दाखेरी त पहिचान भएकै मानिन्छ नि होइन ? पहिचान भएको त मानिन्छ तर उपचारमा ल्याउने कुरा चाहिँ झण्डै झण्डै ५० जति जिल्लामा मेडिकल अफिसर र पारामेडिक्शहरुलाई बेसिक आधारभूत खालको मानसिक स्वास्थ्यको तालिम चाहिँ दिइएको छ र केही समय यता स्थानीय जुन पालिकाहरूले पनि आफ्नो पालिकामा मानसिक स्वास्थ्यका लागि केही बजेट छुट्याएको अवस्था छ । तर कार्यक्रम कसरी गर्ने भन्ने कुरा अहिले पनि अन्योल छ ।

केन्द्रमा हाम्रो राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना त बन्यो त्यसलाई स्थानीय निकायले स्थानीय क्षेत्रमा कसरी इम्प्लोइमेण्ट गर्ने भन्ने कुरामा अन्योल छ अब कति पालिकाहरुले चाहीँ साइक्यष्ट्रिकहरु राखेर सेवा दिइरहेका छन् भने कतिले चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेर चेतना फैलाइरहेका छन् । तर एकरुपता छैन । केही केही स्थानीय तहले राम्रो काम गरेका छन् । जुन प्रभावकारी पनि छन् । जस्तै उदाहरणका लागि काभ्रे जिल्लामा धुलिखेल नगरपालिकाले आफ्नै स्टाडिजी बनाएको छ । त्यस्तै पनौति नगरपालिकाले कार्यक्रम नै सञ्चालन गरेको छ । बाहिरी जिल्लाहरुमा पनि सदूरपश्चिमको डोटीमा कार्यक्रम सञ्चालन गरिएको छ । तर पनि समग्रमा भन्नुपर्दा उपचारको पहुँचमा सम्पूर्ण नागरीकहरु पुग्नका लागि २–४ वटा कुराहरुले बारियरको रुपमा काम गरेका छन् । जस्तै मानसिक रोगप्रतिको दृष्टिकोण पुरातनवादी सोच अर्थात लागुभागु, देवीदेउता लगायतका कुराहरू कायमै छन् । यी कुराहरुलाई चिर्नका लागि स्वास्थ्य प्रणाली संगसंगै समाज, सञ्चारमाध्यम लगायत सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

जनचेतनासँग जोडिएको विषय भयो । अलिकति जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरुका सन्दर्भमा राज्यले केही कार्यक्रम बनाएदेखि प्रभावकारी हुने थियो की ? केन्द्र स्तरमा पनि स्वास्थ्य सामग्रीहरू अडियो भिडियो निर्माण गर्ने, प्रचार गर्ने संयन्त्र नै छ । राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्र छ यो केन्द्रले पनि बेलाबेलामा साना भिडियो क्लिपहरु बनाउने काम गरिरहेको छ । कोभिडको बेलामा पनि चेतना फैलाउने काममा यो प्रभावकारी भएको थियो ।

एक दिन दिवस मनाएर केही हुँदैन सञ्चालन गर्ने हो भने चाहिँ लाञ्छना लगाउने कुरा, पुरातनवादी सोचलाई चिरेर यो पनि हेल्थको इस्यु हो है भन्ने खालको हो भन्ने कुराहरु आम मानिसमा पुर्‍याउन सकियो भने चाहिँ धेरै हदसम्म मानसिक स्वास्थ्यका बिरामीहरुको संकोच, लाज, घिन त्यागेर हेल्थको सिष्टममा आउँथे भन्ने लाग्छ ।

स्वास्थ्य नीतिमा पनि जोडिएन, रोजगार नितीमा पनि जोडेनौँ हामीले मात्रै एउटा मानसिक रोग हो । गम्भीर बिरामीको उपचार गर्न मानसिक अस्पताल पाटन छँदैछ भन्ने बाहेकको सोचाइबाट हामी कहिले माथि उठ्यौँ र ?

नीति त बनाएका छौँ । तर यसलाई कार्यान्वयन गर्ने कुरामा नेपालको अरु निकाय जस्तै स्वास्थ्यमा पनि त्यही नै हो । मानसिक स्वास्थ्यको हकमा रणनीति बन्नु पनि ठूलो कुरा हो जस्तो लाग्छ । तीन तहको सरकारमा कार्यक्रमहरू लैजानुपर्छ, कम्तिमा २ सय शैय्या भएको प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्यको १० बेड अनिवार्य हुनुपर्नेछ भन्ने कुराहरू तोकेरै लेखेको हिसाबले कम्तिमा केही अस्पतालहरूले सुरु गरेको अवस्था छ ।

केन्द्रमा के छ अवस्था विशेषज्ञताका हिसाबले कति विशेषज्ञ छन् ? विशेषज्ञताको सेवा प्रदान गर्ने हकमा केन्द्रमा एउटा मानसिक अस्पताल छ । त्यो बाहेक मेडिकल कलेजहरुमा पनि साइक्याष्ट्रिक, साइकोलोजिष्टहरु छन् । प्रादेशिक अस्पतालहरुमा दरबन्दी खोलिएको भएपनि फुलफिल भएको छैन । मानसिक स्वास्थ्य सेवाका लागि विशेषज्ञ मात्रै भएर मात्रै पनि हुँदैन सोही क्षेत्रको नर्सहरु पनि आवश्यक हुन्छ । देशमा सवै किसिमका सेवा प्रदयकहरु उत्पादन भएर पनि दरबन्दी खोलर उनीहरुलाई काम दिने वातावरण सिर्जना हुन सकेको छैन ।

मानसिक स्वास्थ्य समस्याको उपचार पद्धति कत्तिको लामो हुन्छ ? एकपटक उपचार गरेपछि दोहोरिने सम्भावना कत्तिको हुन्छ ? यसको उपचारबारे हाम्रो समाजमा ठूलो भ्रम छ । आम मानिसले कसरी बुझ्छन् भने मानसिक रोग चाहिँ एकपटक लागेपछि जीवनभर रहने हो, उपचार पद्धति खासै प्रभावकारी हुँदैन, औषधीहरुले लठ्याउँछ, सुस्त बनाउँछ, भन्ने मात्रै छ । यो एकदमै गलत धारणा हो । अधिकांश मानसिक समस्याको चाहीँ उपचार छ । सफल उपचार पछाडी व्यक्ति आफ्नो काम, समुदाय, परिवारमा पुनःस्थापित भएर आफ्नो सहज जीवनयापन गर्न सक्छन् । अधिकांश रोगहरु त केही महिना अर्थात वर्ष दिनको उपचारले पूर्ण रुपले निको हुन्छन् भने केही रोगहरुलाई उपचारले कण्ट्रोलमा राख्न सकिन्छ ।

उसो त अन्य रोगहरु सुगर, क्यान्सर लगायतका रोगहरु पनि लामो समयसम्म रहन्छन् । मान्छेले यसलाई चाहिँ सहज रुपमा लिन्छ र मानसिक रोग लाग्ने बित्तिकै जीवनभर यो मान्छे काम लाग्दैन भन्ने सोच छ त्यसलाई चिर्न जरुरी छ । प्रायःजसो रोगहरु उचित उपचार पश्चात पूर्ण रुपमा निको हुन्छन् ।