काठमाडौं– भनिन्छ, खुवा (कुराउनी) कुहियो भने असाध्य गन्हाउँछ । गरीब जनताको पक्षमा वकालत गर्ने कम्युनिस्ट बिग्रियो भने त्यस्तै गन्हाउँदोरहेछ । यसको पछिल्लो दृष्टान्त बनेका छन्– नेकपा एमालेका तर्फबाट कोशी प्रदेशका निवर्तमान गृह तथा कानूनमन्त्री एवं प्रदेश सांसद लीलाबल्लभ अधिकारी ।
एमाले नेता अधिकारी मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्रिपरिषदमा अधिकारी आन्तरिक मामिला एवं कानून मन्त्री थिए । प्रदेशको आन्तरिक मामिला मन्त्रीलाई गृहमन्त्रीसरह मानिन्छ ।
मानव तस्करीको अभियोगमा मुछिएर मन्त्रीपदबाट राजीनामा दिएलगत्तै अधिकारीलाई आइतबार प्रहरीले घरैबाट पक्राऊ गरेको छ ।
गत साता जापान भ्रमणमा गएका मन्त्री अधिकारीलाई जापानको अध्यागमन विभागले डिपोट गरेर काठमाडौं फर्काइदिएको थियो । उनले साथमा लगेका खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटालाई पनि जापान सरकारले नेपाल फिर्ता पठायो ।
मन्त्री अधिकारी कोशी प्रदेश मन्त्रिपरिषदको अनुमति नलिई तीनजना युवालाई साथमा लिएर जापान भ्रमणमा निस्केका थिए । नेपाल फर्कनासाथ पक्राउ परेका तीन युवाको वयानका आधारमा मन्त्री अधिकारीलाई गिरफ्तार गरिएको प्रहरी स्रोतले जनाएको छ ।
मन्त्री अधिकारीले आफ्नो साथमा लगेका युवाको नक्कली सरकारी परिचयपत्रसमेत बनाएको अनुसन्धानबाट खुलेको छ । नक्कली परिचयपत्रमा मन्त्री अधिकारीकै हस्ताक्षर छ ।
पक्राउ परेका व्यक्तिहरुले प्रहरीलाई दिएको वयानअनुसार मन्त्री अधिकारीको अगुवाइमा युवाहरुबाट १० देखि १३ लाख रुपैयाँसम्म बुझेर जापान लगेर छाड्ने योजना बनाइएको थियो । तर, बहालवाला मन्त्रीबाटै मानव तस्करी भएको सुइँको पाएपछि जापान सरकारले आफ्नो विमानस्थलबाटै डिपोट गरिएपछि मन्त्री अधिकारीको अपराध छताछुल्ल भयो । लाज छोप्ने कुनै उपाय नभएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरे ।
उता, नेकपा एमालेले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यता लगायत कुनै पदमा नरहने गरी निलम्बन गरेको छ ।
गम्भीर प्रकारको फौजदारी अभियोगमा पक्रऊ परेका अधिकारी अब प्रदेशसभा सदस्य पदबाट समेत स्वतः निलम्बनमा पर्नेछन् ।
को हुन् लीलाबल्लभ ?
मोरङको एमाले राजनीतिमा लीला बल्लभ अधिकारी पुरानै नाम हो । उनी साबिकको अमरदह गाउँपालिका निवासी हुन् । ०७४ सालमा प्रदेशसभा सदस्य बन्नुअघिसमम उनी बिराटगरमा वकालत (कानून व्यवसायी) पेशा गर्थे । उनी आफूलाई गरीबको वकिल भएको दाबी गर्थे । क्लाइन्टहरुलाई समेत ‘कमरेड’ भनेर सम्वोधन गर्थे ।
बिराटनगर निवासी एमालेका एकजना पुराना नेताले खबरहबसँग भने, ‘उनी विगतमा एमालेभित्र ‘क्रान्तिकारी’ व्यक्तिका रुपमा परिचित थिए । निकै क्रान्तिकारी कुरा गर्थे, तर कहिलेदेखि यत्तिसाह्रो बिग्रिए, पत्तै भएन ।’
एमालेका पुरानै नेता भइकन पनि उनले राज्यका पदहरुमा भने ०७४ अघि खासै अवसरहरु पाएका थिएनन् । विगतमा एमालेभित्र नौलो जनवादी धारका रुपमा रहेको सीपी मैनालीको पक्षमा लागेको भन्दै संस्थापन पक्षले उनलाई अवसरहरु खासै नदिएको कतिपय एमाले नेताहरुको बुझाइ छ ।
तर, पछिल्लो समयमा ओली समूहका ऋषिकेश पोखरेलको साथ लिएर लीलाबल्लभले ०७४ मा प्रदेशसभा सदस्यको टिकट पाए । कांग्रेसभित्र अन्तरघात हुँदा फ्याट्ट चुनाव जिते । अनि ०७९ को चुनावमा पनि उनले मोरङ–२ (ख) बाटै चुनाव जिते र प्रदेशको कानुन मन्त्रीसमेत बन्न सफल भए ।
अधिकारीले ०७९ को चुनावमा नेपाली कांग्रेसका विनोद कार्कीलाई हराएका थिए । विनोदले १४ हजार ९५२ मत पाउँदा अधिकारीले १७ हजार ७५२ मत पाएका थिए ।
निवर्तमान मन्त्री अधिकारीकी पत्नी विराटनर महानगरपालिकामा कार्यरत कर्मचारी हुन् । उनले एक समय महानगरको सहकारी विभाग हेर्थिन् । सहकारी ठगीका विषयमा विभिन्न मिडियामा अन्तरवार्ता र लेखहरुसमेत प्रकाशित गर्थिन् ।
त्यही बिरानगरमा यतिबेला लीलाबल्लभ अधिकारीका सिनियर नेता सांसद ऋषिकेश पोखरेलकी पत्नी अध्यक्ष रहेको सहकारी ठगी प्रकरण सतहमा आएको छ । सहकारी चलाउने पनि एमाले, नियमन गर्ने ठाउँमा पनि एमाले रहेको त्यो अवस्था संयोग मात्रै हो या आपसी ‘कनेक्सन’ थियो ? यो भने अध्ययन–अनुसन्धानको विषय हो ।
कुहिने क्रम कहिलेबाट ?
त्यसो त प्रदेशसभा सदस्य भइसकेपछि एमाले नेता लीलाबल्लभ अधिकारीको व्यवहारमा एकाएक परिवर्तन आउन थालेको र विभिन्न विवादमा मुछिन सुरु भएको जिल्लाका एमाले नेताहरुको विश्लेषण छ । महानगरका एक एमाले नेताले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने,‘बिराटनगर महानगरमा गोपाल रेग्मी कार्यकारी प्रमुख भएका बेलामा लीलाबल्लभकी पत्नीमाथि भ्रष्टाचारको आरोप लाग्यो । तर, पार्टीले यताउता गरेर त्यसलाई मिलायो ।’
ती एमाले नेता भन्छन्, ‘त्यतिबेलैदेखि वकिल भएको नाताले ठेकदारहरुको मुद्दा लिने र उता महानगरमा पत्नीमार्फत् सेटिङ मिलाउने क्रम चलेको हामीले अनुमान लगाइसकेका थियौं, तर पार्टीले सचेत गराउने भन्दा पनि प्रदेशको टिकट दिने, सांसद र मन्त्री बनाएर पुरस्कृत गर्नेतर्फ लाग्दा अहिलेको अवस्था आयो ।’
त्यसो त ०७४ पछि प्रदेशसभामा बोल्ने क्रममा अधिकारीले ३३ किलो सुन प्रकरणमा तस्करको पक्षमा सभामै बोलेको एमाले नेता सम्झन्छन् । ती एमाले नेता भन्छन्,‘त्यसबेला सुन तस्करको पक्षमा बोलेपछि एमालेले उनलाई तीन महिनासम्म बोल्न नपाउने गरी अनुशासनको कारवाही गरेको थियो । तर, अधिकारी सच्चिनु त परै जाओस्, मन्त्री बनेपछि उनीमाथि सरकारी छाप नै प्रयोग गरेर मानव तस्करीको धन्दा चलाएको अभियोग लागेको छ । यो हर्कतले पार्टीलाई बदनाम गर्ने काम गरेको छ ।’
रंगेली बजारका एकजना अग्रवाल थरका सुन व्यवसायीसँग अधिकारीको निकट सम्बन्ध रहेको आर्थिक लेनदेनसमेत हुने गरेको एमालेकै नेताहरुको आरोप छ । सुन व्यवसायीहरुसँगको यही कनेक्सनकै कारण उनले अघिल्लो कार्यकालमा सुन तस्करको पक्षका वकालत गरेको उनकै पार्टीका नेताहरु बताउँछन् ।
बिराटनगरको मुनालपथमा डेरा बस्दा अधिकारीले घरेबेटीसँग घरको स्वामित्वमै विवाद गरेको एमालेका ती नेता बताउँछन् । आफ्नो घर हुँदाहुँदै डेरामा बस्छु भन्दै प्रदेशसभाबाट भत्ता लिएको देखि लिएर सालोलाई निजी सचिव बनाएको सम्मका आरोप अधिकारीमाथि लाग्दै आएको ती नेताको भनाइ छ ।
पार्टीको ‘एक्शन’
अहिले नेकपा एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा पूर्वसांसद घनश्याम खतिवडा छन् । बिराटनगरका प्रभावशाली नेता विनोद ढकाललाई हराएर खतिवडा प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । सादगी नेताको छवि बनाएका अध्यक्ष खतिवडाले लीलाबल्लभ अधिकारीलाई दबाव दिएर मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीबाट तत्कालै हटाएका छन् । पार्टीभित्र लुकेका भ्रष्टप्रति कडा रुपमा प्रस्तुत हुने खतिवडाले संकेत गरेका छन् ।
प्रदेशमन्त्री अधिकारीविरुद्ध कडा रुपमा प्रस्तुत भए पनि प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलकी पत्नी जोडिएको सहकारी प्रकरणमा भने एमालेका प्रदेश अध्यक्ष खतिवडा खरो रुपमा प्रस्तुत हुन सकेका छैनन् ।
अध्यक्ष खतिवडा पनि ऋषिकेशजस्तै केपी ओली निकट नेता मानिन्छन् । तर, उनको सम्बन्ध पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि राम्रो छ र त्यही बलमा उनले प्रदेश अध्यक्षमा विनोद ढकाललाई हराएका थिए ।
मोरङ २ मा एमालेलाई धक्का !
नेकपा एमालेको आन्तरिक राजनीतिमा यसलाई एउटा दुर्भाग्य नै मान्न सकिन्छ कि मोरङ क्षेत्र नम्बर–२ बाट संघ र प्रदेश दुबै तहमा निर्वाचित बनेका जनप्रतिनिधि विवादमा फसेका छन् ।
प्रतिनिधिसभामा निर्वाचत एवं लेखा समितिको सभापति रहेका ऋषिकेश पोखरेल श्रीमतीले सहकारी अपचलन गरेको आरोपमा विवादित बनेका छन् । त्यहीँबाट प्रदेशसभामा निर्वाचित अधिकारी त झनै मन्त्री पदको दुरुपयोग गरेर मानव तस्करीको धन्दामा लागेको अभियोगमा मुछिएका छन् । यसले गर्दा आगामी चुनावमा मोरङ–२ मा एमालेलाई नेतृत्वको संकट आउन सक्ने पार्टीका जिल्ला नेताहरुको विश्लेषण छ ।
के भन्छन् अधिकारी ?
उता, मानव तस्करीको आरोपमा प्रहरीको फन्दामा फरेका निलम्बित एमाले मन्त्री अधिकारीले आफैं ठगिएको प्रतिक्रिया दिएका छन् ।
यो पनि– पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ