मनोरञ्जन

विजयका लागि ‘पूर्णबहादुरको सारङ्गी’ : १७ वर्षे कलायात्राको अपर्झट प्रस्ताव

By संगम ढकाल

November 10, 2024

काठमाडौं– अहिले सर्वव्यापी चर्चा पाएको फिल्म हो ‘पूर्णबहादुरको सारङ्गी’ । निर्माण पक्षका अनुसार प्रदर्शनको पहिलो साता यस फिल्मले ८ करोड २६ लाख ग्रस कलेक्सन गरेको छ । यसभन्दा अगाडि कुनै फिल्मले पहिला साताको व्यापारमा यो आँकडा छुन सकेका थिएनन् ।

प्रदर्शनको दोस्रो साता पनि फिल्मको अनुकपेन्सीमा कमी आएको छैन । हलहरुले शो संख्या बढाइरहेका छन् । एकैदिन ४६५ भन्दा बढी शो पाएर यस फिल्मले इतिहास रचेको छ ।

यही फिल्मको अनुपेन्सीलाई हेरेर अन्य फिल्मले प्रदर्शनसमेत स्थगन गरेका छन् । गन्धर्व परिवारको बुवा–छोराको भावनाको कथामा निर्मित यस फिल्म हेर्ने अधिकांश दर्शकको मन छोएको छ । मनग्य दर्शकलाई फिल्मले रुवाएको छ । हाँस्दै हाँस्दै हलमा छिरेकाहरू रुँदै रुँदै निस्केका सयौँ भिडियो भाइरल छन् ।

फिल्मको यो सफलताको कारक ‘मेल सेन्टिमेन्ट’ हो । फिल्म हेरेका पुरुष दर्शकको आँसु यसको अकुपेन्सीको मूल कारण होभन्दा फरक पर्दैन । यसरी पुरुष दर्शक हलमा रोएको दृश्य विरलै देख्न पाइन्छ ।

दर्शकले बगाएको आशु फिल्मका केन्द्रीय पात्र ‘पूर्णबहादुर गन्धर्व’ प्रतिको साहनुभूति हो । उक्त पात्र निर्वाह गर्ने कलाकार विजय बराल हुन् । जसलाई यसभन्दा पहिला ‘कमेडी एक्टर’को ट्याग लागेको थियो ! उनलै अहिले दर्शकलाई यसरी रुवाए ।

विजय १७ वर्षदेखि अभिनय कर्ममा छन् । उनले फिल्मै अभिनय गर्न थालेको १३ वर्ष भयो तर सहायक भूमिकामै सीमित थिए । उनी ‘लिड रोल’मा रहेको यो पहिलो फिल्म हो । जुन सुुपरहिट सावित भयो ।

विजय भन्छन्, ‘अभिनय नगरेर सरकारी नोकरीमा गएको भए पेन्सन पाक्ने बेला भयो । १७ वर्ष लामो अवधि हो । लिड रोल पाएँ भने आफूलाई प्रमाणित गर्छु भन्ने थियो । विजयले यस फिल्ममा चाहिँ अभिनय गरेछ है भन्ने गरी काम गर्छु भन्ने थियो । त्यसमा केही हदसम्म सफलतामा मिल्यो ।’

अपर्झटको प्रस्ताव

विजय भन्छन्, ‘मलाई एक दिन लिड रोल पाउने त आत्माविश्वास थियो तर नपाएकामा निराश भने कहिल्यै थिइनँ ।’

हुन पनि उनी सहायक भूमिकाबाट दर्शकमाझ स्थापित कलाकार हुन् । यस दौरान विजयले निर्वाह गरेको फिल्म ‘कबड्डी’को पात्र ‘बीके’ उनको उपनाम जस्तै बनेको छ ।

निराश नहुनुको कारणबारे उनी भन्छन्, ‘म कहिल्यै टाइप कास्ट भइनँ । मैले फरक चरित्रको अनुभव पाइरहेँ ।’

हुन पनि विजय हरेक फिल्मम भिन्न भूमिकामा देखिइरहेका छन् । जुन एउटा कलाकार लागि सौभाग्य हो । गत असोजमा प्रदर्शनमा आएको फिल्म ‘आँखा’मा उनको एउटै मात्र संवाद छ ।

विजय प्रष्ट पार्छन्, ‘केन्द्रीय भूमिका कलाकारका लागि महत्त्वपूर्ण होइन । तर चाहना नहुने भन्ने होइन । मलाई लाग्छ– फरक चरित्रमा बाँच्न पाउनु कलाकारका लागि ठूलो कुरा हो । जुन मैले पाएको थिएँ । शीर्ष भूमिका गर्न नपाउँदा मलाई निराश हुन नदिने तत्व नै यही हो ।’

यिनै तत्वले १७ वर्षे अभिनय कर्ममा पनि पूर्णबहादुरको सारङ्गीको केन्द्रीय भूमिकाको प्रस्तवलाई विजयका लागि ‘सरप्राइज’ थियो । अर्थात्, उनी केन्द्रीय भूमिका लागि मनस्थितिमा थिएनन् ।

यस फिल्मका लागि निर्माता विनोद पौडेलले गत वैशाख पहिलो साता फोनमा केन्द्रीय भूमिका प्रस्ताव गर्दा मनमा खेलेका कुराबारे विजय भन्छन्, ‘लिड कलाकार भनेपछि तनाव भयो । जिस्काएको हो कि ? न अरुले नभ्याएर मलाई नै पो सोच्नुभयो कि भन्ने लाग्यो ।’

विनोदको कम्पनी ‘सेभनसिज’सँग यसअघि सहकार्य नगरेकाले निर्णय दिन थप संकट परेको विजय सुनाउँछन् । भन्छन्, ‘के गर्ने के गर्ने भएँ । अनि निर्णयका लागि दुई साता पर्खनू भनेँ ।’

फिल्मको शीर्षक नै आफूलाई प्रस्ताव आएको चरित्रको नामबाट भएकाले तत्कालै निर्णय दिन नस्कनुको अर्को कारण रहेको विजय बताउँछन् ।

भन्छन्, ‘फिल्मै मलाई प्रस्ताव गरेको चरित्रको भयो । यो भएपछि जिम्मेवारी बढी नै छ भन्ने भयो । समग्रमा मलाई यो प्रस्ताव आएपछि ठूलो चिठ्ठा परेपछि एकछिन अमलममा परिन्छ नि त्यस्तै भयो ।’

उता निर्माता पौडेल कामले विदेश जान लागेका थिए । उनलाई फिल्मका कलाकार चयन गरेर विदेश उड्न थियो । विजयलाई उनले निर्णय छिटो दिन दबाब दिइरहेका थिए ।

विजय थप्छन्, ‘लिडमै भएपछि अन्य कलाकार चयन गर्न सजिलो हुने भन्दै हुनुहुन्थ्यो । उहाँले छिटो निर्णय दिनु भन्दै हुनुहुन्थ्यो । मैले निर्णय दिएँ । अनि अरु कलाकारसँग पनि कुरा गरिरहनु भएको रहेछ । काजगी सम्झौता गरेर उहाँ विदेश उडिहाल्नुभयो ।’

पूर्णबहादुरको अवसर

विजयले ‘पूर्णबहादुरको सारङ्गी’लाई आफ्नो करिअरको टर्निङ प्वाइन्टका रुपमा लिएका छन् । फिल्मको ‘पूर्णबहादुर’हरू बन्न उनले १७ वर्षको लगनले आफूलाई तयार गरेका छन् ।

अर्को कुरा यस फिल्मबाट विजयले आफूले नरुचाएको ‘कमेडी एक्टर’ ट्यागलाई थिच्ने अवसर पाएका छन् ।

भन्छन्, ‘मलाई कमेडी एक्टरको परिचयसँग प्रेम थिएन । मैले कमेडी पात्रको चरित्र मात्रै बाँचेको हो । यो फिल्ममा मैले भावुक चरित्र निर्वाह गरेँ । जुन दर्शकले मन पराउनुभयो । यसले मलाई पहिला लाग्ने ट्याग मेट्छ जस्तो लाग्छ ।’

हुन पनि यस फिल्मपश्चात विजयले ‘नेचुरल स्टार’को ट्याग पाउन थालेका छन् ।

कलाकारहरूलाई दर्शकले सम्झने उनीहरुले निर्वाह गरेको चरित्रले हो । उनीहरूलाई बढीभन्दा बढी चरित्रबाट दर्शकले चिनिदिए हुन्थ्यो भन्ने लोभ पनि हुन्छ । त्यहीकारण चिनिएको भएको पात्रभन्दा सशक्त भूमिकाको खोजीका कलाकार हुन्छन् ।

विजयलाई धेरै दर्शकले फिल्म ‘कबड्डी’को ‘बीके’को भूमिकाबाट चिन्छन् । स्वभाविक रुपमा विजय पनि बीकेभन्दा सशक्त पात्रको खोजीमा हिँडेकै हुन् । तर उनी दर्शको नजरमा बीकेभन्दा अर्को पात्रका रुपमा स्थापित हुन सकेका थिएनन् ।

‘पूर्णबहादुरको सारङ्गी’मा विजयले निर्वाह गरेको पात्र ‘पूर्णबहादुर’ दर्शकमाझ स्थापित हुने सशक्त पात्र हो । हलमा दर्शकले पूर्णबहादुरप्रति सहानुभूति देखाएर झारेको आँसुले त्यही संकेत गर्छ ।

विजय आशावादी छन्, ‘मैले अभिनय यात्रामा स्थापित हुने क्यारेक्टर हो पूर्णबहादुर । बिन्दास बीके मात्रै नभएर भावुक पूर्णबहादुर भनेर दर्शकले चिन्नुहुन्छ भन्ने आशा छ ।’

विजयले यस फिल्ममा युवा, अधबैँसे र वृद्धको भूमिका निर्वाह गरेका छन् । यसलाई पनि उनले अवसरका रुपमा लिएका छन् ।

उनी यसबारे थप्छन्, ‘एकै फिल्मम तीन अवस्थाको चरित्र निर्वाह गर्न पाउँदा अभिनय क्षमता देखाउन थप सहयोग पुग्छ । राम्रोसँग भूमिका निर्वाह गरे दर्शकले अभिनय क्षमता देख्न पाउनुहुन्छ । त्यो मैले पहिलो लिड रोलको फिल्मबाट देखाउन पाएँ ।’