ब्रेकिङ स्टोरी

राष्ट्रियसभा निर्वाचन : उजुरीमाथि छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

By खबरहब

January 11, 2024

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारहरूको आज नामावली प्रकाशन हुँदैछ ।

हिजो र अस्ति उम्मेदवारमाथि उजुरी र छानबिन गरेको निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाले उमेदवारी मनोनयन दर्ता गराएका थिए ।  जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुटाइएको थियो ।

उक्त अवधीमा दुई उमेदवारविरुद्ध उजुरी परेको थियो ।  सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो ।

आज नामावली प्रकाशन भएपछि उमेदवारी फिर्ता लिन चाहनले भोलि फिर्ता लिन सक्नेछन् । आयोगले भोलि नै अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगले पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न दिनेछ । आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।