समाचार

देश विकासमा सबै एकजुट भएर लाग्नुपर्छ : तिमिल्सिना

By खबरहब

January 11, 2024

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दामाथि उठेर देशको विकासका लागि एकजुट भएर लाग्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा लाग्न दलका नेताहरुलाई आग्रह गरे ।

उनले नेपाल विकासका सम्भावना भएको देशको भए पनि त्यसको सही सदुपयोग हुन नसकेको गुनासो गरे । “यसअघि भएका कमीकमजोरी सुधार्दै काम गरेर देखाउनुपर्ने बेला आएको छ । यसका लागि हामी सबै एकजुट भएर देश बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने ।

नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल पर्यटनको लागि उपयुक्त गन्तव्य भए पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । मुलुकको अर्थतन्त्रको विकासका निम्ति पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेस पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले पछिल्लो समयमा नेपालको अर्थतन्त्रलाई हेर्दा निराश हुनुपर्ने अवस्था नरहेपनि संवेदनशील भने हुनुपर्ने टिप्पणी गरे ।