फाइल तस्वीर

अन्तर्राष्ट्रिय

ग्यासको आयातमा लाग्दै आएको कर बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह

By खबरहब

February 11, 2024

इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई ग्यासको आयातमा लाग्दै आएको कर बढाउन आग्रह गरेको छ । आर्थिक सुधार एवम् वित्तीय सहायताबारे पाकिस्तान र आईएमएफका प्रतिनिधिहरुबीच वार्ता जारी रहेका बेला आईएमएफले यस्तो आग्रह गरेको हो ।

आईएमएफको आग्रहसँगै मध्य फेब्रुअरीबाट यस्तो कर बढेर ४१ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ । आईएमएफले ऊर्जामा लगाइएको करमा कायम अनुदानप्रति असन्तुष्टि जनाएको छ ।

त्यस्तै, पाकिस्तानले आईएमएफ समक्ष निर्यातमा आधारित उद्योगलाई ऊर्जामा अनुदान दिने प्रस्ताव अघि सारेको छ । यसबारे आईएमएफले विचार गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय तीव्र आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा खानेकुराको मूल्य अकासिएको छ भने इन्धन पनि महङ्गिएको छ ।