तुलसीपुर– गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ । मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ । तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने गिद्ध लोपोन्मुख अवस्थामा छन् ।
गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार नेपालमा नौ प्रकारका गिद्ध पाइने भएपनि पछिल्लो समय हराउँदै जाने चिन्ता बढेको छ । ‘हामीले संरक्षण अभियान चलाइरहेका छौं’, उनले भने, ‘त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।’
हाल गिद्ध संरक्षणका लागि नेपालभर सात वटा गिद्ध रेस्टुराँ सञ्चालनमा छन् । यद्यपि ती रेष्टुराँ सञ्चालन गर्न निकै चुनौती रहेको पंक्षी संरक्षण सङ्घका कार्यक्रम अधिकृत भुपाल नेपालीको भनाइ छ । हाल दाङमा दुई वटा, घोचोक पोखरा, गैडाताल रूपन्देही, नवलपरासी पूर्व, कैलाली, कोशी टप्पुमा एक-एक वटा यस्ता रेस्टुराँ छन् ।
रेस्टुराँ सञ्चालन धेरै खर्चिलो हुने गरेकाले समस्या हुने गरेको अध्यक्ष रावतले बताए। उनका अनुसार रेष्टुरामा बूढा भएका गाईवस्तुहरू राखिन्छ । ‘उनीहरुको रेखदेखका लागि खर्च ठूलो हुन्छ । उनीहरुलाई पराल खुवाउनु पर्ने र हेरचाह गर्न कर्मचारी राख्नुपर्ने हुन्छ । त्यहाँ पालिएका पशु मरेपछि मात्रै गिद्धको आहारा बन्ने गर्छन्’, उनले भने। गिद्ध रेष्टुरामा पर्यटक आउने भएपनि त्यसलाई सरकारले संरक्षण गर्न सके निरन्तरता पाउने उनको भनाइ छ ।
हाल पशुमा दिइने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध हराउने अवस्थामा रहेको उनको भनाइ छ । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबारलगायतका कारण गिद्धको सङ्ख्या घट्दो रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका अधिकृत धनिश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको व्यवस्थापनको काम भइरहेको छ । सरोकारवाल, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको बताए।
गिद्ध संरक्षणका लागि सरकारी स्तरबाट पहिलो पटक लुम्बिनी प्रदेश सरकारले मात्रै बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले गिद्ध संरक्षणसँगै लोपन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतका लागि रु तीन करोड २८ लाख बजेट विनियोजन गरेको छ । यसअघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख वनस्पति संरक्षणका लागि बजेट बिनियोजन भएको थिएन ।
नेपालमा विभिन्न नौ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमालीबाहेक सबैजसो स्थानमा पाइन्छन् । नेपालमा डङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ ।
नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिब १० हजारको हाराहारीमा रहेको तथ्याङ्क छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्यान्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् ।
विश्वमै पहिलोपटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका तिनको संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ । प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको छ ।
विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव नौ प्रतिशत गिद्ध मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।