समाचार

नेपालगञ्जमा ईदको रौनक

By खबरहब

April 11, 2024

राँझा– एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार  राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो । 

मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए। 

ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरिरहेका छन् ।

इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका नेपालगञ्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताए । ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ ।

मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । ईदुल फित्र मुस्लिम समुदायको सबभन्दा ठूलो र महान पर्वका रूपमा मनाउने गरिएको उनको भनाइ छ ।

ईदको अवसरमा नेपालगञ्जका मुस्लिम समुदायले सामूहिक नमाज पढ्नुका साथै हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका मुस्लिम अगुवा शकील अहमद कादरीले बताए ।