देश/प्रदेश

दार्चुलामा पुग्यो समयमै पाठ्यपुस्तक

By खबरहब

April 11, 2024

दार्चुला – दार्चुलामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने यस जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो ।

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरूकहाँ पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।

उनका अनुसार निःशुल्क रुपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजारभन्दा बढी पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेका छन् । यही चैत २० गतेदेखि जिल्लामा पाठ्यपुस्तक भित्रिन थालेको हो ।

“विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था छ, आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी छ”, एकाइ प्रमुख पन्तले भने।

जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक उपलब्ध छन् । अहिले स्थानीय तहका सबै विद्यालयमा पाठ्यपुस्तक पठाउने काम भइरहेको छ । समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उनले भने ।