मोरङ (उर्लाबारी) : कृषि कर्ममा सुरक्षित भविष्य नदेख्ने ठूलो जमात छ नेपालमा । तर कतिपय यस्ता व्यक्ति पनि छन् – जो कृषि पेशाबाटै मनग्य नाम र दाम कमाइरहेका छन् ।
तिनै सफल कृषकमध्ये एक हुन् – मोरङ उर्लाबारीका ४६ वर्षीय विष्णुकुमार बराल । निकै मेहनती बरालले लोभलाग्दो गरी फलफूल र तरकारी फलाउँदै कृषि कर्ममै आफूलाई समर्पित गरी परिवारसँग आनन्दसाथ जीवन बिताइरहेका छन् ।
फलफूल र तरकारी बिक्रीबाट वार्षिक १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको बराल बताउँछन् । यति मात्र होइन; स्वदेशमा मेहनत गरी पसिना बगाउन सके विदेशमा रोजगारको लागि भौँतारिन नपर्ने गतिलो उदाहरण पनि बनेका छन् बिष्णुकुमार ।
उर्लाबारी बजारदेखि करिब ४ किलोमिटर दक्षिणतर्फ बरालले सानो कृषि फर्म खोलेका छन् । त्यही कृषि फर्मले चर्चेको २ विगाहा क्षेत्रफलमा रहेको बारीमा काँक्रा टन्नै फलेको छन् ।
खर्बुजा, करेला लगायत फलफूल र तरकारीले बारी भरीभराउ देखिन्छ । मौसम अनुसारका तरकारी बारी लगाएर उनले विगत ८ वर्षदेखि मनग्गे आम्दानी गरिरहेका छन् ।
विष्णुकुमारले यो सिजन (चार महिना) मै काँक्रा विक्रीबाट मात्र ७ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनले प्रतिदिन १०० मन काँक्रा बिक्री गदै आएका छन् ।
नेपाल आएर विगत ८ वर्षदेखि उनले आफ्नो २ विघा जमिनमा कृषि फर्म सञ्चालन गरिरहेका छन् । बिष्णुकुमारलाई अन्य दुई सहयोगीले कृषि फर्ममा सहयोग गर्छन् । उनकी श्रीमती मेनुका र दुई छोराले पनि फर्ममा साथ दिने गरेका छन् ।
दुई दशकअघि साथीभाइ झैं विदेश मोहमा लागेर बिष्णुले पनि वैदेशिक रोजगारको बाटो रोजे। कतारमा ९ वर्ष र त्यसपछि इराकमा ५ वर्ष गरी विदेशी भूमिमा १४ वर्ष बिताए । त्यसपछि मातृभूमि फर्किए।
जतिन्जेल विदेश रहे – कम्पनीको काम जिम्मेवारीपूर्वक निभाए उनले । अमेरिकी सैनिकको गाडीले अगाडि पछाडि एस्कर्टिङ गर्थे । उनीहरू गाडी हुइँक्याउँथे । युद्धभूमि इराकमा दिनको १२ देखि १४ घण्टासम्म काममा खटिइनुपर्थ्यो ।
कतारमा बरालले करिब ९ वर्ष ड्राइभिङ पेशा गरे, पछि इराकमा ५ वर्ष । अरूको देशमा १२ घण्टा खट्नुको सट्टा नेपालमा चार घण्टा समय दिएको खण्डमा त्यो भन्दा राम्रो आम्दानी गर्ने सकिने उनको अनुभव छ ।
विदेशी भूमि र मरुभूमिको भूगोलमा कडा परिश्रम गरेको गरेको त्यो तितो अनुभवलाई स्मरण गदै बिष्णुकुमार भन्छन्, ‘त्यतिबेला इराक र अमेरिकाबीच लडाइँ चलिरहेको थियो । टाउकोमा ५ किलोको हेल्मेट र बुलेटप्रुफ ज्याकेट लगाएर ठुलो ट्रकमा खाद्यन्नलगायत अन्य समान ढुवानी गरियो ।’
ज्यान पातमाथि राखेर खट्नुको त्यो पल भन्दा परिवारसँग अहिले बिताएको पल सुखद भोगाइ छ ।
नेपाल आएर विगत ८ वर्षदेखि उनले आफ्नो २ विघा जमिनमा कृषि फर्म सञ्चालन गरिरहेका छन् । बिष्णुकुमारलाई अन्य दुई सहयोगीले कृषि फर्ममा सहयोग गर्छन् । उनकी श्रीमती मेनुका र दुई छोराले पनि फर्ममा साथ दिने गरेका छन् ।
उर्लाबारी नगरपालिकाले तरकारी खेतीद्वारा खाद्य सुरक्षा र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका भन्दै बराललाई २०७८ मा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको थियो।
फर्ममा अहिले काँक्रा र खरबुजा लटरम्मै फलेका छन् । कृषिउपज व्यवसायीहरू दैनिक १०० मनजति काँक्रा र खरबुजा लिन घरमै गाडी ल्याउँछन् ।
छरछिमेक पनि तरकारी र फलफूल किन्न उनीकहाँ नै आइरहन्छन् । बिष्णुकुमारले आफ्नो घर छेउको थप ४ विघा खेतमा खरबुजा लगाएका छन् । खरबुजा उत्पादन विक्रीयोग्य भइसकेको छ ।
‘चार बिघा क्षेत्रमा लगाएको खरबुजाबाट यो सिजनमा करिब ८ लाख रुपैयाँ आम्दानी लिने सोच छ,’ बिष्णूकुमार भन्छन्, ‘यही साताबाट खरबुजा बजार पठाउने तयारी छ । खरबुजा लगत्तै बारीमा सिजन अनुसारका अन्य फलफूल र तरकारी उत्पादन हुनेछ ।’
विदेशमा निकै परिश्रम गरेका उनले त्यस्तो परिश्रम स्वदेशमै गरे मनग्गे आम्दानी हुने बिष्णुकुमारको अनुभव छ । सुरुमा कृषि पेशा थाल्दा केही निराश भएपनि हाल उनी सन्तुष्ट छन् । परिवारका अन्य सदस्यसहित बिहानदेखि बेलुकीसम्म आफ्नै खेतबारीमा कृषिकर्ममा खटिरहेका हुन्छन् ।
नेपाल कृषिप्रधान देश भनिए पनि यस क्षेत्रमा सरकारको उचित ध्यान नपुगेको बराल बताउँछन् । सरकारले किसानलाई त्यति महत्व नदिएकोमा उनको चित्त दुखाइ छ।
‘देशमा केही हुँदैन, विदेश नै जानुपर्छ’ भन्ने भाष्य निर्माण हुँदा युवाहरूमा निराशा छाएको छ । इमान्दारितासाथ कृषि पेशामा मेहनत गरे हजारौं युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बिष्णुकुमार बताउँछन् ।
उर्लाबारी नगरपालिकाले तरकारी खेतीद्वारा खाद्य सुरक्षा र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका भन्दै बराललाई २०७८ मा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको थियो ।