राजनीति

एमालेको माग : भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

By खबरहब

June 11, 2024

काठमाडौं- सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण र त्यस क्रममा भएको छलफलबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।

उनले भारतमा जुनसुकै दलको सरकार आए पनि नेपाललाई दमन गर्ने नीति अपनाएको बताए । पन्तले भारतलाई नेपालले हेर्ने नीति के हो भन्दै सरकारसँग प्रश्न गरे ।

भारतले नै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निष्कृय पार्न खोजिएको उल्लेख गरे ।

सार्कको अध्यक्षको हैसियतले नेपालले यसबारेमा भारतसँग छलफल गर्नुपर्ने पनि पन्तले बताए ।

अहिले पनि नेपाल-भारत सीमाको समस्या, ईपिजीको मुद्दा जस्ताको तस्तै रहेकोले प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका छलफलका बिषय जानकारी गराउन रुलिङका लागि पन्तले माग गरे ।

आइतबार भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भई प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किएका थिए ।