देश/प्रदेश

७२ वर्षीया युट्यूबर नरकुमारी : घरदेशदेखि परदेशसम्म पालाम र धाननाच

By खबरहब

July 11, 2024

धरान– आम मानिसहरूले नरकुमारी लिम्बूलाई याक्थुङ लिम्बू गहनाले चिरिच्याट्ट सजिएर पालाम गाउदै हिँड्ने लाहुरेनी महिला भनेर चिन्छन् ।

आफूसँग हुँदा औपचारिक होस्‌ वा अनौपचारिक कार्यक्रम- जहाँ जहिल्यै सुनौला गहनामा सजिएर लिम्बूनी हुनुको गर्व गर्दै परिचय दिन नहिच्किाउने नरकुमारी लिम्बू यतिबेला ७२ वर्षको वृद्धावस्थामा छिन् । तर पालाम गाउने र धाननाच्ने उनको मनको तन्नेरी लालसालाई उमेरको वृद्धावस्थाले छेक्न सकेको छैन ।

उमेर छँदा तन्नेरी सोल्टीहरूसँग पालाम र ख्याली गाउँदै तीनदिनरतीनरात धाननाचे पनि उनले ती पालामका भाकाहरूलाई कुनै म्युजिक स्टुडियोमा रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने अवसर पाइनन् । जीवनको उतरार्द्धमा आइपुग्दा एकाएक पालाम रेकर्ड र छायाङ्कन गर्ने जाँगर पलाएपछि हिजोआज रातदिन त्यसैमा व्यस्त छिन् ।

त्यसैको नतिजा हो- उनले आफै पालाम तयार गरेर ‘बिर्सेको माया –२’ पालाम रेकर्ड र छायाङ्कन पछि युट्यूबमा राखेको एक महिनामै १ लाख १६ हजारभन्दा बढीले हेरिसकेका छन् । त्यसो त एक वर्षअघि उनले नेपालको पूर्वी भेगमा छायाङ्कन गरेको पालाम ‘युके नु हङकङ’लाई ६ लाख जनाभन्दा धेरैले हेरिसकेका छन् ।

‘यो वृद्धाअवस्थामा पालाम गाउने र छायाङ्कन गर्ने अनि युट्यूबमा राख्ने प्रविधि सिक्ने जोश-जाँगर चाही कसरी आयो रु’ प्रश्नको जवाफमा उनी याक्थुङ लिम्बू टोनमा भन्छिन्-

‘हाउ पत्रकार भाइ ! उहिले त म पहाड ताप्लेजुङमा निमावि, मावि तहमा पढ्दा नै पालामै गाएर पनि एसएलसी गरियो । यो त लिम्बूको आफ्नौ मौलिक सांस्कृतिक सङ्गीत पो त ! तर उसबेला रेकर्ड गर्ने, डिजिटल क्यामेरा केही थिएन । तन्नेरीहरूसँग पालाम गायो सकियो । अहिले नयाँ नया प्रविधि आएको छ । त्यो प्रविधि प्रयोग गरेर आफ्ना पालाम गीतहरू युट्यूबमा लगाउन पाइएको छ । म मरेर गए पनि पछि नातीरपनातीरखनाती पुस्ताले त हाम्रो बोजुले गाएको पालाम भनेर कसो नहेर्लान्‌ हाउ ?’

‘देखिसो माया’ ‘कक्फेक्वा’ ‘सेम्मुई’ ‘माइवेनी तेम्धा’‘सिङ्जाङ्गो फुङ’ ‘मारोती फुङ’ जस्ता शीर्षक राखेर उनले हालसम्ममा करिब १९ वटा पालाम र धाननाचहरू आफ्नो युट्यूब च्यानल लिम्बू कल्चरमा अपलोड गरेकी छन् । याक्थुङ लिम्बू समुदाय पछिल्लो समय सांस्कृतिक पुनर्जागरणकालमा रहेकाले होला : उनका ती पालाम गाउँदै धाननाचेका म्यूजिक भिडियोलाई युवा पुस्ताले समेत खोजी खोजी हेर्ने र सुन्ने गरेका छन् ।

२००९ साल मंसिर २१ गते ताप्लेजुङको तेम्बेस्थित पोक्लामामा जन्मेकी नरकुमारी वनेमले सोचेकै थिइनन् कि बुढेसकालमा पालाम गाउँदै छायाङ्कन गरेर युट्यूबमा अपलोड गर्न पाइएला !

उनकै उमेरका महिलाहरू यतिबेला जोश जाँगर हराएर लट्ठीको सहारामा हिड्ने र बिहान बेलुका भजन गाउँदै बसिरहेका बेला नरकुमारी भने कहिले बेलायतको रमणीय स्थलमा त कहिले नेपालका रमणीय स्थलमा आफ्ना पालाम छायाङ्कन गर्न व्यस्त हुन्छिन् ।

पुराना यादहरू सम्झँदै उनी भन्छिन्, ‘बैंशमा खुबै धान नाचियो । ताप्लेजुङको भानु स्कूलमा पढ्दा पढ्दै आठराई फूलबारी बस्ने श्यामकुमार सेन्दाङ् लिम्बूसँग २०२६ सालमा बिहे भइहाल्यो ।’

स्याम सेन्दाङलाई नरकुमारी फकाउन ११ दिन लागेको थियो । नरकुमारीको उमेर त्यसबेला १५ वर्षको मात्र थियो । त्यसबेला ब्रिटिस गोर्खा सैनिक श्याम पहिलो छुट्टीमा आएका थिए ।

नरकुमारीले सुनाइन्‌, ‘छोरी सानै रहेकी र पढिरहेकी भनेर नदिनका लागि ‘१० तोला सुन ल्याएर आउनू भनेर बाबू !’ डिल्लीराम वनेमले भनेका मात्र के थिए, नाङ्लोमा १० तोला सुन नै राखिदिएपछि बोलेको वचनअनुसार म पनि स्याम सेन्दाङको पछि लाग्नु परेको थियो । तर बाबुले १० तोलामा तत्कालै ५ तोला फिर्ता दिनुभयो ।’

वनेमको घरपरिवार वि.सं. २०३० साल तिर धरान झरे । ‘महेन्द्रनगरमा धानखेती थियो । हामी चाँहि धरानमा भाडामा बस्थ्यौं । बिहे भएर छोराछोरीहरू भए पनि  पालाम गाउन र धाननाच्न चाहिँ छाडिना हौ !’ नरकुमारीले भनिन्‌ ।

मनमा पालाम गाउने र धाननाच्ने उत्कट इच्छालाई उनले करिब २० वर्ष जति विश्राम दिइन् । त्यो समय उनी नेपाली कांग्रेसको राजनीति र सामाजिक सेवामा सक्रिय भइन् । धरानको कांग्रेसी राजनीतिमा उनको नाम नलिए अधुरो हुने गरी खटिन् ।

लाहुरेनी भए पनि बेलैमा मावि तहसम्म अध्ययन गरेकी लिम्बूनी भएकाले लिम्बू लवजमा भाषण गर्दै धरानको कांग्रेसी राजनीतिमा आफ्नो स्थान बनाइन् । उनको बुझाइ छ, ‘०४६ साल पछिको आन्दोलनपछि धरानमा भएको चुनावमा मलाई १० नम्बर वडामा वडाध्यक्षको टिकट दिए । मैले एमालेका योगेन्द्र लिम्बू (नातामा काका पर्ने)सँग ३४ भोटले हारेँ नि हाउ ! हारे पनि मलाई त्यसपछि गिरिजाबाउले पत्याएछ । अनि मेरो राजनीतिक सक्रियता झन्‌ बढेर गयो । पालाम गाउने र धाननाच्ने काम कम भयो ।’

उनी कांग्रेसको राजनीतिमा सक्रिय हुँदा आफ्नो जिम्मामा आएका कार्यक्रमहरू आफ्नै खर्चमा गरिन् । कसैलाई पैसा मागिनन्, न त पार्टीलाई नै !

उनी त्यसबेला गिरिजाप्रसाद कोइराला, तारानाथ रानाभाट, सुजता कोइराला, विजय गच्छादार, शैलजा आचार्य, नोना कोइरालासँग सीधै सम्पर्क गर्ने हैसियतमा पुगिसकेकी थिइन् । धरान पुग्दा अधिकांश कांग्रेसी नेताहरूको गाँसबास उनकै घरमा हुने गरेको थियो । पछिल्लो पुस्ताका नेता  गगन थापा आउँदा समेत नरकुमारीले ‘यो केटो पछि ठूलै मान्छे हुन्छ’ भनी सम्मान गरेर धरानमा आफ्नै घरमा खाना र बास दिने गर्थिन् ।

उनी भन्छिन्, ‘अरू त सिनियर नेता भइहाले । म ती सिनियर नेताहरूसँग मेरो लिम्बू संस्कार अनुसार हक्कि तरिकाले ठाडै बोल्नेमा परें । गगन चाहिँ अलिक युवा नै थियो । तर त्यो मान्छे इमान्दार थियो । धरानमा पार्टीको कामले ऊ आउँदाखेरि उसको खानेबस्ने व्यवस्था मेरै घरमा मिलाइदिन्थें । सायद बिर्स्यो कि ! नबिर्सिनु पर्ने !’

नेपाली कांग्रेसको संस्थापन पक्षमा ज्यान दिएर लागेकी उनी वीपी कोइरालाको राजनीतिक विचारबाट प्रभावित भएर कांग्रेसी बने पनि धरान चु्म्लुङ्ले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यसो त उनी कांग्रेसको अन्तरकलह र राजनीतिक खिचातानीबीच क्षेत्रीय उपसभापति र दुईपटक महाधिवेशन प्रतिनिधि भइन् । अहिले पनि पुरानो योगदानको आधारमा युकेबाट महासमिति सदस्य बनेकी छिन् ।

श्रीमान ब्रिटिस गोर्खा सैनिकमा रहेकाले उनी हङकङमा २ वर्ष र ब्रुनाईमा १ वर्ष बसिन् । त्यसबेला उनी विशुद्ध गृहिणी भएर बसिन् । आफ्ना तीन सन्तानको स्याहारसुसार गर्दै समय बिताइन् । फेरि श्रीमान श्याम बेलायत गए । केही वर्षपछि हङकङकै पल्टनमा फर्किए । तीन वर्ष त्यतै बसे । उनी भन्छिन्, ‘श्रीमानले अवकाश पाएपछि धरानमा घर बनाएर बसियो ।’

लिम्बूले २५ वर्षसम्म किरात याक्थुङ चुम्लुङमा आवद्ध रहेर आफ्नो जाति, भाषा लिपि र धर्म संस्कृति जगेर्नामा लागिन् । कियाचुको उनी केन्द्रीय उपाध्यक्ष पनि भइन् । हाल पनि उनी चुम्लुङ युकेकी सल्लाहकार छिन् । चुम्लुङमा रहँदै उनी लायन्स क्लब अफ दन्तकाली धरान जस्तो सामाजिक संस्थाको अध्यक्ष पदमा पनि दुई पटकसम्म निर्वाचित भइन् ।

२०५० को दशकमा धरान लाहुरे समुदायका युवायुवतीहरू लागुपदार्थ सेवन गर्ने भनेर बदनाम भइरहेको थियो । प्रहरीले सेवन गर्ने र ओसारपसार गर्नेहरूलाई पक्राउ र कारबाही गर्दै थियो ।

तर उनले सेवनकर्ता अपराधी नभएको भन्दै ओसारपसार गर्नेलाई कारबाही माग गरिन् । पक्राउ परेका कयौं सेवनकर्तालाई प्रहरी कारबाही हुनबाट बचाइन् ।

यस विषयमा उनको आफ्नै भनाइ छ, ‘प्रहरीले सेवन गर्नेलाई पनि समातेर कडा कारबाही गर्न थालेपछि इलाका प्रहरी कार्यालयमा गएर ओसारपसार गर्नेलाई नियन्त्रण गर्नू, त्यसपछि सेवनकर्ताले लागुपदार्थ पाउँदैनन्‌, आफैँ खाँदैनन् भनेर तर्क गर्दै धेरै लाहुरे दाजुभाइका छोराछोरीलाई छुटाएर ल्याएँ । तर पैसा खाएर छुटायो भन्दा चाहिँ अझै पनि मन दुखेको छ । पार्टीको काम गर्दा र कार्यकर्ता पाल्दा त आफ्नै गोजीको पैसा खर्च गर्ने मान्छे हो म । झन आफ्नै लाहुरे दाजुभाक्ष छोराछोरी थानाबाट उकास्न म किन पैसा खान्थेँ र !’

१९ वर्षअघि आफ्नो श्रीमानको अचानक देहान्त भएपछि घर-परिवार धान्ने सबै जिम्मेवारी उनकै काँधमा आयो । उनी घरको आर्थिक अवस्था सुधार्न र छोराछोरीको शिक्षादीक्षामा सहयोग गर्न बेलायत पलायन भइन् ।

उनी भन्छिन्, ‘पार्टीमा लाग्दालाग्दै आर्थिक रूपमा आत्मनिर्भर हुने काम गर्न सकिएन । श्रीमानको पनि देहान्त भएपछि घर-परिवार चलाउन लागेँ नि युकेतिर !’

कतैबाट पैसा आउने स्रोत नहुँदा बाध्य भएर बेलायततिर प्रवास हिँडेपछि अलिअलि भए पनि आर्थिक रूपमा सुधार आएको नरकुमारीले बताइन् । श्रीमानको पेन्सनले अहिले धरानको घर धानिएको छ । बेलायतले पनि वृद्धभत्ता दिन्छ ।

उनी भन्छिन्, ‘पहिले जस्तो नियमित काम गर्दिन । पैसाको जोहो गरेर भए पनि पालाम र धाननाचको छायाङ्कन गर्दै यो बुढेसकालमा संस्कृति जगेर्ना गर्ने सानो भूमिका पूरा गर्दैछु जस्तो लाग्छ । अब सकिन्जेल यस्तै सांस्कृतिक काम गर्छु ।’

उनले लिम्बू समुदायमा दिएको राजनीतिक योगदान, जीवनमा गरेको संघर्ष र समाजसेवाको कदर गर्दै नेपाल आदिवासी जनजाति महासंघले पोखरामा निर्माण गरेको जातीय संग्रहालयमा लिम्बू जातिको भेषभुषा अन्तर्गत उनको पूर्णकदको प्रतिमा समेत राखेको छ ।

धरान-१०, लोकपथ स्थायी बसोबास भए पनि हाल उक्त घरमा छोरा विष्णु बस्दै आएका छन् । उनी बेलायतको सेल्बोरी सिटी सेन्टरमा कान्छा छोरा दीपकसंँग बसेर पालामको भाका तयार गर्दै आएकी छन् । उनका छोरी कमला पनि विवाहपछि बेलायतमै बस्दै आएकी छन् ।