देश/प्रदेश

मध्यपहाडी लोकमार्ग अवरुद्ध, बागलुङ बजार जलमग्न

By खबरहब

July 11, 2024

बागलुङ– भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध भएपछि पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायात ठप्प भएका छन् । यातायात नचल्दा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।

यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले करिडोर पुरिएको हो ।

करिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ । फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।