आर्थिक

८६ मुलुकमा नेपाली गलैँचा, प्रचारप्रसार नहुँदा निर्यात घट्दो

By खबरहब

July 11, 2024

काठमाडौं– घरदेखि कार्यालयका भुइँ र आशन कक्षमा प्रयोग गरिने गलैँचा उत्पादनमा नेपाल शताब्दी अघिदेखि नै प्रख्यात छ । तराईदेखि हिमालसम्म भेडापालन गर्न सकिने, भेडा या भ्याङलुङको ऊन उपलब्ध हुने र परम्परागत रैथाने बुनोट सीप पुस्तैनी हस्तान्तरण भइरहेकाले नेपाली गलैँचा विश्वभर नै लोकप्रिय छ ।

चीनले तिब्बत कब्जा गरेपछि भागेर नेपाल आएका तिब्बती शरणार्थीहरूले त नेपाललाई गलैँचा उत्पादनमा झनै प्रख्यात बनाए । सोलुखुम्बुको च्याल्सामा आएर बसेका तिब्बतीहरूले देशमै पहिलो गलैँचा उद्योग खोले । यो उद्योग पछि ललितपुर जावलाखेल, कास्कीको हेम्जादेखि बागलुङको ढोरपाटनसम्म विस्तार भयो । भेडा र भ्याङलुङ पाल्ने किसानहरूसम्म ऊन प्रशोधन र गलैँचा बुन्ने सीप विस्तार भयो ।

दुई दशकअघिसम्म नेपाली गलैँचा लिन लुफ्थान्सा लगायत वायु कम्पनीहरूका जहाज नै चार्टर गरेर व्यापारीहरूले नेपाल पठाउँथे । तर, तत्कालीन नेकपा (माओवादी)ले चलाएको हिंसात्मक द्वन्द्व, गलैँचा उद्योगमा बाल श्रमिक प्रयोग र मजदूर हड्ताल लगायतका विभिन्न प्रत्यक्ष/परोक्ष समस्याले नेपाली गार्मेन्ट उद्योग खस्कियो । निकै दशकसम्म प्रमुख निर्यात बस्तु बनेको गलैँचाको निर्यात निकै घट्यो ।

वि.सं. २०७२ मा नेपालको संविधान जारी भएसँगै सत्तामा बाहेक अन्यत्र राजनीतिक अस्थिरता घट्दै जाँदा उद्योगहरूमा श्रम समस्या पनि कम भयो । अवरोह भोगेको गलैँचा उत्पादनमा पनि केही आरोह देखियो ।

७६ मुलुकमा नेपाली गलैँचा

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा उत्पादित गलैँचा ७६ मुलुक पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको हो  ।

गत आर्थिक वर्षको सोही अवधि तुलनामा भने नेपाली गलैँचा निर्यात ५.७४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ११ महिनामा  १० अर्ब ३२ करोड ४६ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो ।

 

तर, यतिखेर कच्चापदार्थ उपलब्धता र बजारीकरण अभावले गलैँचा उद्योग पुनः खस्कने जोखिम बढेको छ । आवश्यक सबै कच्चा पदार्थ उपलब्धता गराउन नसक्दा नेपाली गलैँचा निर्यात घटेको नेपाली गलैँचा उत्पादक तथा निकासी संघका अध्यक्ष तेन्जिङ शेर्पा बताएका छन् ।

अहिले नेपाली गलैँचाले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नै नसकेको उनको भनाइ छ । सम्पूर्ण कच्चापदार्थ अन्य देशबाट आयात गर्नुपर्ने बाध्यताका कारण नेपाली गलैँचा उद्योग खस्कँदै गएको उनको भनाइ छ ।

‘हामीले नेपालमा उत्पादन गरे पनि सबै कच्चा पदार्थ बाहिरबाट आयात गर्नुपर्छ । आयात गर्दा हामीलाई नै महँगो पर्न जान्छ, त्यसकारण पनि अहिले हामीले निर्यात बढाउन सकेका छैनौँ,’ शेर्पा भन्छन् ।

अहिले नेपाली गलैँचाको माग अत्याधिक बढे पनि उत्पादन घटेको शेर्पा बताउँछन्‌ । उनका अनुसार; गलैँचा उद्योगलाई प्रोत्साहनस्वरूप दिइँदै आएको मूल्य अभिवृद्धि कर र आयकर छुट पनि सरकारले खारेज गरेपछि उद्योगीहरू पनि मारमा परेका छन्‌ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले गलैँचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरिदियो । उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त भएको आयमा ५० प्रतिशत कर छुट सुविधा समेत सरकारले कटौती गरेको थियो ।

भ्याट छुट हटाउँदा अहिले नेपालबाट बाहिर सामान पठाउन पनि निकै गाह्रो हुन थालेको गुनासो व्यवसायीहरूले गरिरहेका छन्‌ । थोरै थोरै सामान अर्डर हुने, त्यसलाई पानीजहाजमार्फत पठाउँदा तीन महिनाभन्दा बढी समय लाग्ने र जहाजबाट पठाउँदा गलैँचाको भाउ महँगिने हुँदा पनि नेपाली गलैँचा निर्यात घट्दै गएको व्यवसायीहरूको भनाइ छ ।

कच्चा पदार्थमा आत्मनिर्भर बन्न आवश्यक निर्यात बढाउन सबैभन्दा पहिले त देशमै कच्चा पदार्थ उत्पादनलाई प्राथमिकता दिनुपर्ने उद्योगीहरूको भनाइ छ ।

गलैँचा बनाउन प्रयोग हुने सबैभन्दा उत्तम गुणस्तरको भेडाको ऊन नेपालको हिमाली क्षेत्रमा उत्पादन गर्न सकिन्छ । मनाङ, मुस्ताङ र डोल्पा लगायत जिल्लामा उत्पादन हुने ऊनहरू चीनबाट आयात हुने ऊनकै गुणस्तर बराबर रहेको पाइएको तेन्जिङ बताउँछन् ।

सो क्षेत्रमा भेडापालनका लागि प्रोत्साहन गर्ने र कृषकहरूलाई ऊनको बजार सुनिश्चित गराउँदा नेपाल गलैँचा उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ ।

यस क्षेत्रमा आवश्यक पर्ने प्रविधि र पशु प्राविधिकहरूको व्यवस्था गर्न सकेमा धेरै फड्को मार्न सकिनेमा दुईमत नरहेको शेर्पाको दाबी छ । अहिले गलैँचा व्यवसायी संघले कच्चा पदार्थ बढाउन अध्ययन गरिरहेको शेर्पा बताउँछन्‌ ।

गलैँचा विभिन्न कच्चा पदार्थबाट बनाउन सकिन्छ । ऊनबाट उत्पादन हुने कच्चा पदार्थ सबै विदेशबाट आयात गर्नुपरे पनि अल्लो (जंगली सिस्नो) बाट प्राप्त हुने कच्चापदार्थ भने नेपालमै उत्पादन हुने गरेको छ ।

नेपालको पहाडी जिल्लामा पाइने सिस्नोलाई प्रशोधन गरी त्यसको धागोबाट बनाइने गलैँचा पनि नेपालमा धेरै उत्पादन हुने गरेको छ । अल्लो प्रशोधन गर्ने प्रक्रिया धेरै नै झन्झटिलो भएका कारण यसबाट मात्र मागलाई धान्ने व्यवस्था गर्न नसकिएको संघका अध्यक्ष शेर्पाको भनाइ छ ।

सम्बन्धित निकाय मुकदर्शक गलैँचा उत्पादन गर्न चाहिने सम्पूर्ण कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिने भए पनि सम्बन्धित निकाय मुकदर्शक भएर बसेको उद्योगीहरू बताउँछन् । सोहीकारण नेपालमा कुनै पनि उद्योग सजिलेसँग चल्ने वातावरण नभएको उनीहरूको गुनासो छ ।

गलैँचा उत्पादनमध्ये २० प्रतिशत सिल्क (रेशम) पनि आवश्यकता पर्दछ । तर, नेपालमा प्रशस्त सम्भावना भए पनि अहिले एक प्रतिशत पनि सिल्क नेपालमा उत्पादन नहुने संघका अध्यक्ष शेर्पाको भनाइ छ ।

नेपालमा सम्पूर्ण कुराको सम्भावना भएपनि त्यसलाई उपयोग गर्न नसकिएकाले गर्दा अहिले गलैँचा उद्योगमा पनि समस्या आएको उनले बताए ।

२०० भन्दा बढी उद्योग दर्ता, तर बन्द हुने अवस्थामा अहिले नेपालमा २०० भन्दा बढी गलैँचा उद्योगहरू दर्ता भएर सञ्‍चालनमा छन् । तर त्यसमध्ये पनि केही बन्द हुने अवस्थामा पुगेका छन् ।

केही बन्द नै भइसकेका छन् । राज्यको नीतिका कारण उद्योगहरूले लय समात्न नसकेको उद्योगीहरूको आरोप छ । २०० भन्दा बढी दर्ता भए पनि नेपालमा ५०० भन्दा बढी नै गलैँचा उत्पादन हुने साना तथा घरेलु उद्योगहरू छन् ।

घरका सदस्यले फुर्सदको समयमा बनाउने र घरमै २ वटा जति तान हालेर बनाइने खालका गलैँचा उत्पादन हुने उद्योग नेपालका धेरैजसो समुदायमा रहेको गलैँचा उत्पादक तथा निकासी संघका अध्यक्ष शेर्पाको भनाइ छ ।

साना तथा घरेलु उद्योगका रूपमा सञ्चालित कतिपय गलैँचा उद्योगमा परिवारका सदस्य (आमा, बुबा, छोराछोरी) मात्रै संलग्न छन् । ठूला उद्योगमा भने १ सय जनासम्म कामदार संलग्न रहेको पाइन्छ ।

अहिले ठूला उद्योगहरूले पनि धमाधम कामदार घटाउँदैछन् । निर्यात घट्दै गएपछि माग पनि कम हुने र कामदार पनि धेरै आवश्यक नपर्ने महाबौद्ध गलैँचा उद्योगका संचालक हिरा बहादुर लामा बताउँछन् ।

उनको उद्योगमा केही समयअघि १५० जना जति कामदार थिए । तर अहिले भने ९० जना मात्रै रहेको उनको भनाइ छ । ‘पहिले धेरै गलैँचाको माग थियो र कामदार पनि धेरै थिए । अहिले माग पनि छैन । हामीले कामदार मात्र राखेर के गर्नु ? काम नै नभएपछि उनीहरूलाई पाल्न पनि गाह्रो भएका कारण हटाए,’ उनी भन्छन् ।

नेपालबाट गलैँचा बढी निर्यात हुने १० देशमा अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, चीन, बेल्जियम, अस्टे«लिया र स्वीट्जरल्याण्ड पर्छन् ।

निर्यात हुने कूल गलैँचामध्ये ५५.८३ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैँचा हाल तेस्रो नम्बरमा पर्छ ।

सन्‌ २०१८ मा ७ अर्ब ५२ करोड १ लाख रुपैयाँको गलैँचा निर्यात भएकोमा २०२२ मा आइपुग्दा १० अर्ब ६२ करोड २६ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो ।

शुद्ध नेपाली उत्पादनका रूपमा नेपालबाट ठूलो परिमाणमा निर्यात हुने वस्तुभित्र गलैँचा पहिलो नम्बरमा रहँदै आएको छ ।

गलैँचा व्यवसायमा देखिएका मुख्य समस्या भ्याट र भन्सार शुल्क : चालू आर्थिक वर्षदेखि सरकारले गलैँचा निर्यात गर्दा भ्याटमा दिएको छुट खारेज गरेको छ । भ्याट नलगाउन आग्रह गर्दै गलैँचा उत्पादक उद्योगीहरू सम्बन्धित व्यक्ति र मन्त्रालयसम्म पुगेर अनुनयविनय गर्दा पनि सुनुवाइ नभएको संचालक लामा बताउँछन् । अन्ततः सरकारको नीति निर्देशन पालना गर्नु उद्योगी/व्यवसायीको दायित्व भएकाले अहिले धमाधम भ्याटमा दर्ता भइरहेका छन् ।

गलैँचा कारोबारमा भ्याट तिर्नुपर्दा अन्तर्राष्ट्रिय बजारमा थप मूल्यवृद्धि भएको छ। सरकारले निर्यातजन्य उद्योगको भ्याट फिर्ता दिने भने पनि झन्झटिलो प्रक्रियाका कारण उद्योगीले लाभ लिन सकिरहेका छैनन्। त्यस्तै सरकारले गलैँचा उद्योगको आवश्यक कच्चापर्दाथमा पनि भन्सार शुल्क लगाउँदै आएको छ। व्यवसायीले भन्सार शुल्क शतप्रतिशत छुट हुनुपर्ने माग राखे पनि सुनुवाइ भएको छैन । भ्याट र भन्सार शुल्कका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमतामा ह्रास आएको व्यवसायीहरूले बताइरहेका छन्‌ ।

दक्ष जनशक्ति : नेपाली गलैँचाले मूल्यमा प्रतिष्पर्धा गर्न नसक्ने भएपछि उद्योगीले बजार माग ध्यान दिएर व्यापार विस्तार गर्न लागिपरेका छन् । ग्राहक मागअनुसार उच्च गुणस्तर र डिजाइनका गलैँचा ग्राहकलाई समयै दिन सकेका कारण नेपाली गलैँचामा अन्तर्राष्ट्रिय जगतको आँखा गएको हो ।

तर, ग्राहकको इच्छाअनुसार गलैँचा उत्पादन गर्न आवश्यक दक्ष जनशक्ति (सम्बन्धित काममा निपूण) आवश्यक छ । दक्ष जनशक्ति पनि पलायन भइसकेका र आवश्यक पर्दा श्रमिक नै नपाइने उद्योगीहरूको गुनासो छ ।

महँगो ऋण : सरकारले निर्यात उद्योगका लागि ५० लाख रुपैयाँसम्म कर्जामा ब्याज अनुदान दिने घोषणा गरेको दुई वर्ष बितिसक्दा पनि घोषणामै सीमित छ । राष्ट्र बैंकले निर्यातजन्य उद्योग र साना तथा घरेलु उद्योगका लागि आधार दर (बेसरेट) मा २ प्रतिशत थपेर कर्जा दिनुपर्ने गरी निर्देशन जारी गरेको थियो । तर, गलैँचा उद्योगीले सहुलियत ऋण उपयोग गर्न पाएका छैनन् । अहिलेसम्म यस्तो ऋण उपभोग गर्न नपाएको पारामाउन्ट गलैँचा उद्योगका सञ्‍चालक समीकविक्रम साह बताउँछन् ।

प्रचारप्रसारमा बेवास्ता : नेपालमा उत्पादन हुने गलैँचा प्रायः नै विदेश निर्यात हुने कारण नेपाली गलैँचाको प्रचासप्रसार विदेशमा शून्य रहेका कारण पनि माग घटेको उद्योगीहरूको भनाइ छ ।

महाबुद्ध गलैँचा उद्योगका संचालकका साहका अनुसार सरकारले नेपाली गलैंचा उद्योगलाई बेवास्ता गरेको छ । अन्य देशहरूले आफ्नो सामानको प्रचारप्रसार व्यापक रूपमा गरिरहँदा नेपाल भने ओझेलमा परेको उनको भनाइ छ ।

नेपाली गलैँचा विश्वमा उत्पादन हुने गलैँचामध्ये टपटेनमा पर्ने गलैँचा हो । यस्तो गलैँचालाई अलिकति मात्रै प्रचासप्रसार गर्न सकेको खण्डमा नेपाली गलैँचाको माग ह्वात्तै बढने उनी बताउँछन् ।

‘विश्वबजारमा अन्य देशहरूले विभिन्न मेलाहरू सञ्चालन गर्ने त्यहाँ आफ्ना स्टलहरू राख्ने जस्ता कामहरू सरकारले नै गरिदिन्छ तर हाम्रोमा भने आफुले गर्न खोज्दा पनि सरकारले सहयोग गर्दैन,’ उनी बताउँछन् ।