अन्तर्राष्ट्रिय

इङ्ल्यान्डविरुद्ध खेल्न लामिन यमललाई जर्मन कानुन बाधक, स्पेनले तिर्नुपर्छ लाखौँ जरिवाना

By खबरहब

July 11, 2024

एजेन्सी- जर्मनीमा चलिरहेको युरोकपमा कसैको चर्चा छ भने ती हुन् स्पेनिस किशोर स्ट्राइकर लामिन यमल । तपाईंलाई पक्कै थाहा होला, उनी केबल १६ वर्षका भएका छन् ।

यही शनिबार उनले आफ्नो १७ औँ जन्मदिन मनाउँदैछन् । तर १६ वर्षमा हिँडिरहेका उनले जारी युरोकपमा कयौँ रेकर्ड आफ्नो नाममा बनाइसकेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाको युवा एकाडेमीबाट यमलले मुख्य टोलीसम्मको यात्रा तय गरेका हुन् । जहाँ उनका आइडल अर्जेन्टाइन फुटबलर लियोनेल मेस्सी पनि हुर्किएका थिए ।

सानै उमेरमा स्टार फुटबलर भएर उदाइसकेका यमल जारी युरोकपका सर्वाधिक चर्चित खेलाडी भइसकेका छन् । झन् फ्रान्सविरुद्धको पहिलो सेमिफाइनल भिडन्तमा मेस्सीकै शैलीमा गरेको गोलका कारण उनी विश्व फुटबल जगतमा छाइसकेका छन् ।

युरोपेली फुटबल च्याम्पियनशिप २०२४ को पहिलो सेमिफाइनल भिडन्त ९ जुलाईमा जर्मनीको म्यूनिख शहरमा भएको थियो । जहाँ स्पेन र फ्रान्स भिडिरहँदा किलियन एम्बाप्पे आकर्षणका पात्र थिए ।

यसअघिका खेलमा गोल नगरेका उनी स्पेनविरुद्ध चम्किने आशा थियो । तर भइदियो उल्टो, धेरैको ध्यान एम्बाप्पेतिर गइरहँदा फ्रान्सको अग्रता तोड्दै यमलले खेलको २१ औँ मिनेटमा दर्शनीय गोल गरिदिए । उनको यो गोलसँगै एम्बाप्पे छायामा त परे नै जारी युरोकपमा एक गोल नगरी उनी घर पनि फर्किए ।

स्पेनका केबल १६ वर्षीय लामिन यमल चमत्कारिक गोल गरेपछि फुटबलका फ्यान चकित भए । बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा यमलले ऐतिहासिक गोल हानेपछि चकित नपर्ने विरलै थिए ।

किशोर फुटबलरको यस गोलबाट स्पेनले १२ वर्षपछि युरोकपको फाइनलको टिकट त काट्यो नै युरोको उपाधि चुम्ने फ्रान्सको योजना पनि भताभुंग भयो ।

आगामी शनिबार आफ्नो १७ औँ जन्मदिन मनाउनुअघि विश्व फुटबल जगतमा हटकेक भइसकेका छन् । ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका उनले आफ्नो देशसँगै बार्सिलोनाका लागि पनि गोल गरेर सबैभन्दा कम उमेरका खेलाडी भइसकेका छन् ।

फ्रान्सविरुद्धको सेमिफाइनल भिडन्तमा गोल गरेपछि यमल अब युरो कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि भएका छन् ।

किशोर खेलाडी यमलमा जुँगाका रेखीसमेत बसेका छैनन् । जब उनी खुलेर हाँस्छन् तब उनको दाँतमा ब्रेसेस देख्न सकिन्छ ।

खेलका क्रममा उनी आफ्ना किताबसँगै यात्रा गर्छन् । यसो गर्नुको कारण हो उनी आफ्नो परीक्षाको तयारी राम्रोसँग गर्न सकुन् । तपाईंहरूले याद गर्नु भएको छ, यमल जारी युरोकपमा कुनै पनि खेलमा पूरा समय मैदानमा देखिँदैनन् । यदि पूरा समय मैदानमा राख्ने हो भने उनका लागि स्पेनले कारबाहीस्वरुप जर्मनीलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।

स्पेनिस टोलीका प्रशिक्षक उनलाई मैदानबाट एक घण्टा पूरा भइसकेपछि निकालिदिन्छन् । कलिलै उमेरका उनलाई जारी युरोकपमा पूरै समय मैदानमा नराख्नुको कारण हो जर्मनीको श्रम कानुन ।

जर्मनीले हालै लागु गरेको श्रम कानुनअनुसार नाबालिग (१८ वर्षमुनि) लाई राति ८ बजेपछि कुनै काममा लगाउन पाइँदैन । यदि यमललाई स्थानीय समयअनुसार राति ८ बजेपछि पनि खेलाउनुपरेमा स्पेनी टोलीले भारी जरिवाना तिर्नुपर्ने हुन्छ ।

इङ्ल्यान्डविरुद्धको फाइनल भिडन्त आगामी आइतबार स्थानीय समयअनुसार रातको करिब ९ बजे बर्लिनमा हुनेछ ।

नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे हुने उक्त भिडन्तमा यमल मुख्य आकर्षणका पात्र हुनेछन् । नेपाल र जर्मनीबीचको समय ३ घण्टा ४५ मिनेटले फरक छ ।

तर चुनौती के छ भने राति ९ बजेदेखि हुने फाइनल भिडन्तमा यमललाई खेलाउन स्पेनले अब जर्मनीलाई ठूलो मात्रा जरिवाना तिर्नुपर्ने हुन्छ ।

स्पेनले जर्मनीको कानुनअनुसार राति ८ बजेपछिको समयमा यमललाई खेलाउन जरिवाना तिर्न तयार भएको छ । राति ८ बजेपछि नाबालिगलाई श्रममा लाउन नपाउने कानुनका कारण जरिवाना तिर्न लागिएको हो । १६ वर्षका मात्रै भएकाले यमलले फाइनलमा पनि पूरा समय मैदानमा खेल्न पाउने छैनन् ।

तर यी कयौँ कानुनी जटिलताबीच पनि उनी मैदानमा उत्रिएर आफ्नो जादु देखाइरहेका छन् । मेस्सीकै शैलीमा बल अघि बढाएर उनी देब्रे खुट्टाले जालीको दिशा दिन परांगत छन् । जारी युरोकपमा उनले आफूभन्दा दोब्बर उमेरका खेलाडीहरूला मैदानमा यता-उता नचाइरहेका छन् ।

यी सबै प्रतिभाकाबीच यमल अहिले पनि एक नाबालिग हुन् उनी अझै किशोरवयमै छन् । उनी पछिल्लो करिब एक दशकदेखि बार्सिलोनाको प्रसिद्ध युवा एकाडेमी ला मासियामा छन् । उनी खेल्न निस्किँदा पनि एक्लै आउन पाउँदैनन्, कसै न कसैको अभिभावकत्वको जरुरी हुन्छ ।

हालैमात्र उनकी आमालाई सोधिएको थियो, यमलको जन्मदिनमा के उपहार दिनु हुन्छ ? उनले भनेकी थिइन्, ‘यदि स्पेनिस टोलीले युरोकप जित्यो भने मैले कुनै उपहार किन्नु जरुरी नै पर्दैन ।’