आर्थिक

अर्थसंक्षेप : रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्चको आदेश, नेप्सेमा २९ अंकको वृद्धि

By खबरहब

July 11, 2024

नेपाली गलैंचा ८६ मुलुकमा निर्यात हुने गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा मिडियाहरूमा प्रकाशित समाचारमा तथ्य फरक परेको जनाएको छ । रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएको छ । नेपाल स्टक एक्सञ्जेच (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ ।

त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि भुक्तानी नभए सरकारविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएकोमा शेयर बजारका ४ संगठनले स्वागत गरेका छन् । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्  ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठोकिँदा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अक्र्स ग्रुप प्रालि चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीले गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ । 

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ । चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ । पाकिस्तानको कराँचीमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ ।

 आजका प्रमुख आर्थिक समाचारहरूः

८६ मुलुकमा नेपाली गलैँचा, प्रचारप्रसार नहुँदा निर्यात घट्दो

घरदेखि कार्यालयका भुइँ र आशन कक्षमा प्रयोग गरिने गलैँचा उत्पादनमा नेपाल शताब्दी अघिदेखि नै प्रख्यात छ । तराईदेखि हिमालसम्म भेडापालन गर्न सकिने, भेडा या भ्याङलुङको ऊन उपलब्ध हुने र परम्परागत रैथाने बुनोट सीप पुस्तैनी हस्तान्तरण भइरहेकाले नेपाली गलैँचा विश्वभर नै लोकप्रिय छ ।

चीनले तिब्बत कब्जा गरेपछि भागेर नेपाल आएका तिब्बती शरणार्थीहरूले त नेपाललाई गलैँचा उत्पादनमा झनै प्रख्यात बनाए । सोलुखुम्बुको च्याल्सामा आएर बसेका तिब्बतीहरूले देशमै पहिलो गलैँचा उद्योग खोले । यो उद्योग पछि ललितपुर जावलाखेल, कास्कीको हेम्जादेखि बागलुङको ढोरपाटनसम्म विस्तार भयो । भेडा र भ्याङलुङ पाल्ने किसानहरूसम्म ऊन प्रशोधन र गलैँचा बुन्ने सीप विस्तार भयो ।

दुई दशकअघिसम्म नेपाली गलैँचा लिन लुफ्थान्सा लगायत वायु कम्पनीहरूका जहाज नै चार्टर गरेर व्यापारीहरूले नेपाल पठाउँथे । तर, तत्कालीन नेकपा (माओवादी)ले चलाएको हिंसात्मक द्वन्द्व, गलैँचा उद्योगमा बाल श्रमिक प्रयोग र मजदुर हड्ताल लगायतका विभिन्न प्रत्यक्ष-परोक्ष समस्याले नेपाली गार्मेन्ट उद्योग खस्कियो । निकै दशकसम्म प्रमुख निर्यात बस्तु बनेको गलैँचाको निर्यात निकै घट्यो ।

आईपीओ प्रकरणमा रिलायन्सको तर्क : सेबोनले अद्यावधिक नगर्दा विवरण तलमाथि

रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा मिडियाहरूमा प्रकाशित समाचारमा तथ्य फरक परेको जनाएको छ । खबरहबले बुधबार ‘आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सका वित्तीय विवरणमा गडबडी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

प्रकाशित समाचारबारे प्रतिक्रिया दिँदै कम्पनीका प्रबन्ध सञ्चालक अक्षय गोल्यानले अद्यावधिक संशोधित विवरणपत्र तथा संशोधित वित्तीय विवरण सेबोनको वेबसाइटमा नराखिएको कारण फरक परेको बताए । रिलायन्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा ११ लाख ५५ हजार ९६० कित्ता शेयर जारी गर्न खोजेको छ । तर, वित्तीय विवरण र आर्थिक अवस्थालाई लिएर सरोकारवालाहरू संसदीय समितिदेखि अदालतसम्म पुगेपछि कम्पनीको आईपीओ रोकिएको छ ।

खबरहबमा प्रकाशित समाचारमा कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुक बिल्डिङको लागि आवेदन दिँदा एउटा वित्तीय विवरण देखाएको र आईपीओ जारी गर्ने स्वीकृति पाइसकेपछि अर्को विवरण सार्वजनिक गरेको उल्लेख छ । ‘हामीले धितोपत्र बोर्डले निर्देशन दिएअनुसार विगतको नेटवर्थमा पनि परिवर्तन गरेका थियौँ’, गोल्यानले खबरहबसँग भने, ‘त्यो वित्तीय विवरण हामीले सार्वजनिक गरेका थियौँ । तर, बोर्डले सार्वजनिक गरेन, त्यसकारण हाम्रो वित्तीय विवरणमा फरक देखिएको हो ।’

धितोपत्र ऐन बमोजिम प्रतिशेयर नेटवर्थको गणना गर्दा विद्युत प्राधिकरणको पत्र बमोजिमको दायित्व रकम घटाएर गणना गर्नुपर्ने उल्लेख भएकाले नेवटर्थमा फरक परेको कम्पनी गोल्यानको दाबी छ । कम्पनीले धितोपत्र बोर्ड र ग्लोबल आईएमई क्यापिटलको वेबसाइटमा प्रकाशित अपरिस्कृत वित्तीय विवरण आश्विन मसान्तसम्मको मात्रै भएको जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डको निर्देशानुसार सारा १४ गते विवरणपत्र संसोधन गरी पेश गरेको, तर उक्त संशोधित विवरण बोर्डले सार्वजनिक नगरेको कारण विवरण फरक परेको गोल्यानले बताएका हुन् ।

 रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्च अदालतको अन्तरिम आदेश

रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएको छ । रिलायन्स स्पिनिङले आजबाट सर्वसाधारणको लागि जारी गर्न लागेको आईपीओ  रोक्न माग गर्दै दिएको निवेदनमा अदालतले सो आदेश दिएको हो ।

उच्च अदालत पाटनमा काठमाडौं–४ का हरिबहादुर र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाएर रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चाटर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तर्राष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेको लगायतका विषयहरू उठाउँदै आईपीओ निष्कासन रोक्न असार २५ गते निवेदन गरेका थिए ।

अदालतका न्यायाधीश अन्जु उप्रेती ढकालले बिहीबार उक्त निवेदनमाथि सुनवाई गर्दै ‘निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु हेर्दा दुवै पक्ष राखी छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने देखिएकोले निवेदकलाई छलफलको लागि २०८१–०४–१४ को पेसी तोकी सो दिन छलफल हुने जानकारी विपक्षीहरूलाई दिनु’ भनी आदेश दिएकी छन् ।

साथै अदालतले लगानीकर्ताहरूको लगानी सुरक्षाको लागि बिहीबारदेखि निष्कासन जारी नगर्न र नगराउन ‘उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिक अन्तरिम आदेश जारी गरिदिएको’ आदेशमा उल्लेख गरेको छ । रिलायन्स स्पिनिङ मिल्सको आर्थिक विवरणमा देखिएको विवादका कारण बुधबार नै नेपाल धितोपत्र बोर्डले सो कम्पनीको आइपिओ निष्कासनलाई अर्को निर्णय नभएसम्मका लागि रोक लगाएको छ ।

 नेप्सेले पार गर्‍यो २२ सयको विन्दु, कारोबार कति ?

नेपाल स्टक एक्सञ्जेच (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ । लामो समयदेखि नेप्से १८ सय र २२ सयको बिचमा घुमिरहँदा बिहीबार २२ सयको विन्दु पार गरेको हो ।

नेकपा माओवादीसँगको सत्ता गठबन्धन तोडेर नेकपा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन हुने भएसँगै नेप्सेमा उछाल आएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने र उनले विश्वासको मत नपाउने देखिपछि आज एकै दिन नेप्से २९ अंकले बढेको छ । 

सत्ता गठबन्धन परिवर्तनको संकेतसँगै लगातार बजार बुल ट्रेन्डमा चलिरहेको छ । बिहीबार साताको अन्तिम कारोबारको दिन नेप्से २९.२१ अंकले बढेको हो । आज नेप्से १.२४ प्रतिशतले बढेर २२०४.६१ विन्दुमा पुगेको छ ।  आज बजारमा उछाल आएसँगै लाइफ इन्स्युरेन्स समूहमा पनि उछाल आएको छ । आज एकै दिन लाईफ इन्स्योरेन्स समूह ३१८.६९ अंकले बढेर १०७२७.७३ विन्दुमा पुगेको छ । 

बिहीबार १३ वटा समूहमध्ये १२ वटा समूहमा उछाल आउँदा लघुवित्त समूह भने २५.९१ अंकले घटेको छ । आज लघुवित्त समूह ०.५३ प्रतिशतले घटेर ४९४७.२४ विन्दुमा पुगेको छ । 

ठेकेदारले पाएनन् सरकारबाट अर्बौं भुक्तानी, निर्णायक संघर्षको चेतावनी 

नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि भुक्तानी नभए सरकारविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ ।  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरूको अर्बौं रकम भुक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरि अहिलेसम्मको बाँकी रकम असार मसान्त भित्र भुक्तानी गर्न सरकारसँग माग गरेको हो । 

आफूहरूको समस्या समाधान नभए निर्णायक संघर्ष गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । भुक्तानीको विकराल समस्या भोग्न बाध्य भइ निर्माण व्यवसायीहरूले केहि स्थानीय निकाय, प्रदेश र संघका बिकासे कार्यालयहरूमा तालाबन्दी सुरु गरेको संघका अध्यक्ष रवि सिंहले बताए । 

उनले असार मसान्तभित्र सबै भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि सम्बन्धित कार्यालयलाई निर्देशन गरिदिन सरकारसँग माग गरे । अध्यक्ष सिंहले व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेन्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगाएका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरि फरफारक गर्न पनि आग्रह गरे । 

महासंघले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहेपनि त्यसतर्फ राज्यले खासै ध्यान नदिएको जनाएको छ ।  सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भए पछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ र चालू आयोजनाहरूको करिव २० अर्ब भुक्तानी हुन बाँकी रहेको महासंघको भनाइ छ ।

 रिलायन्स स्पेनिङ मिल्सको आईपीओबारे अदालतले दिएको आदेशको स्वागत 

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएकोमा शेयर बजारका ४ संगठनले स्वागत गरेका छन् । नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्ड, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतको निर्णयको स्वागत गरेका हुन् । 

उक्त ४ संघकै सक्रियतामा उच्च अदालत पाटनमा हरिबहादुर र खुसलराम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाएर मिल्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तर्राष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेको लगायतका विषयहरू उठाउँदै आईपीओ निष्कासन रोक्न निवेदन दिएका थिए । उक्त निवेदन उपर अदालतले अन्तरिम आदेश दिएको थियो । 

‘विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएकोमा सम्मानित न्यायालय र अन्य सहयोगी संस्थाहरू तथा सेयर लगानीकर्ताहरू र पत्रकारहरू प्रति आभार व्यक्त गर्दछौं र यसबाट सर्वसाधारण लगानीकर्ताहरू ठगिनबाट बचाउन सफल भएका छौं ।’, विज्ञप्तिमा भनिएको छ । 

उक्त ४ संगठनले संसद्को सार्वजनिक लेखा समितिले देखाएको सक्रियताप्रति पनि धन्यवाद र आईपीओ रोक्नको लागि धितोपत्र बोर्डले लिएको निर्णयलाई स्वागत समेत गरेको छ ।  ‘बोर्डले आगामी दिनमा कम्पनीका कमीकमजोरीहरूलाई गहन विश्लेषण गरी सेयर निष्कासनको लागि अनुमति दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’, विज्ञप्तिमा उल्लेख छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध, बागलुङ बजार जलमग्न

भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध भएपछि पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायात ठप्प भएका छन् । यातायात नचल्दा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ । यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले करिडोर पुरिएको हो ।

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्यांकअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । 

विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ ।  डुम्रे–बेँसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ । 

विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुबै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ । 

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल

बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो ।

भू तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिए ।