अन्तर्राष्ट्रिय

जब अवतरणका क्रममा जहाजमा लाग्यो आगो…

By खबरहब

July 11, 2024

इस्लामावाद- साउदी एयरलाइन्सको एक यात्रु विमानमा आगो लागेको छ । पाकिस्तानको पेशावरमा अवतरणका क्रममा उक्त जहाजमा बिहीबार दिउँसो आगो लागेको हो ।

जहाजमा सवार रहेका सबै  २७६ यात्रु र २१ जना चालक दलका सदस्यहरूलाई स्लाइडको माध्यमबा सुरक्षित बाहिर निकालिएको छ ।

बाचा खान अन्तरराष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले बताएअनुसार साउदी एयरलाइन्सको जहाजमा आगो लागेपछि अवतरणका क्रममा टायरनजिकैबाट ज्वालासहित धुवाँको मुस्लो देखिएको थियो। त्यसपछि अग्निनियन्त्रणक र उद्धार टोली विमानस्थलको धावनमार्गमा दौडिएको थियो ।

साउदी एयरलाइन्सले विज्ञप्ति जारी गर्दै रियादबाट पेशावरका लागि गएको उडान नम्बर एसवी ७९२ को एक टायरबाट अवतरणका क्रममा धुवाँ निस्किएको जनाएको छ।

त्यसपछि जहाजलाई तुरुन्त धावनमार्गमै रोकिएको थियो ।  सम्बन्धित अधिकारीले तत्कालै आएर जाँच गरेका थिए । आगो लागेको देखिएपछि सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको र कसैलाई पनि चोट नलागेको एयरलाइन्सले जनाएको छ ।