अन्तर्वार्ता

शास्त्रले काटमार नभई अहंकार चढाउनुलाई बलि मान्छ

By खबरहब

October 11, 2024

दशैँ भन्नासाथ त्यसको सांस्कृतिक र धार्मिक साइनो गरिन्छ। यसै समयमा पशुअधिकारवादी, शाकाहारी, भेगनवादीहरुले पशु हिंसा विरुद्ध बहस छेड्ने गर्छन्। के बलि चढाउनु शास्त्रीय मान्यता नै हो ? यी र यिनै विषयमा संस्कृतिविद् डा. गोविन्द टण्डनसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

दशैँ मनाउनु पछाडिको सांस्कृतिक र धार्मिक महत्त्व के छ ? दशैँ कहिलेदेखि मनाउन थालिएको हो ? दशैँ भनेको हाम्रो सनातन हिन्दु धर्मावलम्बीहरूको एउटा पर्व हो। यो पर्व सबैलाई एक ठाउँमा ल्याउने पर्व हो। यो कहिलेदेखि सुरु भयो भनेर ठ्याक्क भन्न चाहिँ सकिँदैन। नेपालको सन्दर्भमा मल्लकालमा दशैँसंगै देवी देवताका पूजा गरिएका प्रसङ्गहरू आउँछन्। त्यो भन्दा अगाडि लिच्छवीकालमा त्यस्तो किसिमको देखिँदैन। मानव सृष्टि भएदेखि नै शक्तिपीठको पूजा आराधना सुरु भयो होला।

जहाँसम्म अब पर्वकै रूपमा जसरी अहिले स्थापना गरेर पूजाआजा सुरु गर्छौँ, यो मल्लकालदेखि नै भएको पाइन्छ। १५ औँ १६ शताब्दीदेखिको इतिहासहरूबाट पनि प्रष्ट हुन्छ। यसअघि परम्परागत रूपमा देवीदेवताको पूजा मातृशक्तिको पूजाआजा गर्ने परम्परा पैतृक कालदेखि नै सुरु भएको हो।

दशैँका के त्यस्ता सन्दर्भहरु छन, जुन सांस्कृतिक हिसावले जोगाउनुपर्ने जोगाउन सकेनौं ? विजयादशमीलाई धेरै नामबाट चिनिन्छ। कसैले दशैँ भन्छन्, कसैले नवरात्री भन्छन्। देवीदेवताको श्रद्धा साथसाथै त्यो नामबाट सामाजिक एकीकरण जस्तो वर्षैपिच्छे यो पर्व आउँछ। बर्षेनी मनाउँछौँ, भेटघाट गर्छौँ। रमाइलो गर्छौँ। पोहोर गइएन यसपाली त त्यहाँ जाऊँ न भनेर जान्छौँ। कसैले खबर नगरी पनि हामी जान्छौँ।

यसले गर्दाखेरि यसभित्र रहेको जुन चाहिँ एउटा सामाजिक सद्भाव र सामाजिकीकरण समेटिएको छ, त्यो नै यसको सबल पक्ष हो। यसले बोलाउने, जुटाउने वर्षौँदेखि नबोलेको मान्छेलाई पनि बोलौँ, जाऊँ भन्ने राम्रो सम्बन्ध बनाउने काम यस पर्वले गर्छ।

नवरात्र भनेको साधनाको पर्व हो। साधना भनेको देवीको साधना गरेर आफूले आफूलाई चिन्ने पर्व हो– दशैँ। जुन दशैँको एउटा धार्मिक आध्यात्मिक पक्ष छ, त्यसलाई मान्छेहरूले बिर्सिँदै गएर अब अहिले मात्रै यो दशैँ भनेको एउटा खाने रमाउने हाम्रो मात्रै दशैँ हो, पशुपन्छीको दशा हो भन्ने पनि देखिएको छ।

दशमीसम्मको जुन नवरात्र छ, त्यो नवरात्र भनेको साधनाको पर्व हो। साधना भनेको देवीको साधना गरेर आफूले आफूलाई चिन्ने पर्व हो– दशैँ। जुन दशैँको एउटा धार्मिक आध्यात्मिक पक्ष छ, त्यसलाई मान्छेहरूले बिर्सिँदै गएर अब अहिले मात्रै यो दशैँ भनेको एउटा खाने रमाउने हाम्रो मात्रै दशैँ हो, पशुपन्छीको दशा हो भन्ने पनि देखिएको छ।

शक्तिको पूजाको सन्दर्भमा दशैँले सांस्कृतिक र सामाजिक हिसाबबाट समाजलाई कतिको बाँध्न सकेको छ ? समाजलाई एक गराउन अनेकताभित्र पनि एकता छ भन्ने कुराको आभास दिनको लागि दशैँले ठूलो काम गरेको छ। कतिपय मान्छेहरू हामीले दशैँ मनाउँदैनौं, दशैँ हाम्रो हैन भनेको जस्तो पनि कुरा गर्छन्।

तर त्यसो हुँदाहुँदै पनि दशैँ भनेको नेपालभरि नेपाली सबैले कुनै न कुनै रूपबाट कसैले सेतो टीका लगाए, कसैले रातो लगाएर मान्ने नै गरेको देखिन्छ। तर समाजमा एक दुई जना अथवा एक पक्षले किन भन्ने प्रश्न त उठाउँछ नै । न त्यो प्रश्न राम्रो हुन्छ, न सभ्य नै। किनभने त्यसले गर्दाखेरि राम्रो नराम्रो भनेर बहस छलफल गर्न सकिन्छ। प्राय सबै मुलुकमा नेपालीहरू पुगेका छन्। ती सबैको चाड दशैँ हो। यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि आफ्नो ख्यातिलाई आर्जन गर्न मद्दत गर्छ। यसको राम्रा पक्ष भनेको सबैलाई जुटाउनु मिलाउनु हो। यो सबैले मान्ने पर्व भइदियो भने यसप्रति श्रद्धा भाव बढ्दै जान्छ। श्रद्धा आस्था बढाउनै मात्रै पनि कुनै न कुनै पर्व चाहिन्छ। नेपालमा त धेरै पर्व हुन्छन्, त्यसमा तिहार र दशैँ जस्ता पर्वमा त्यो सम्भावना झन् बढ्दै गएको देखिन्छ।

दशैँमा लगाउने टीका र जमराको महत्त्वका विषयमा शास्त्रमा कस्तो वर्णन छ ? मान्छे भनेको मात्रै एउटा एकाइ हो। त्यो एकाइको मूल रूप भनेको ईश्वरीय र दैवी शक्ति छ। त्यसैले त्यसलाई परमात्मा भन्छन्। हामी आत्मा भन्छौँ। हामीले देवी देवताको पूजाआजा गर्नु भनेको पनि त्यो दीपले शिवको लागि वा सानो ज्योतिले ठूलो ज्योतिमा जाने विशाल प्रयास हो। त्यसले गर्दा देवीदेवताको पूजाआजा गर्ने यस्तो देखिन्छ दशैँको सन्दर्भमा।

टीका अक्षता भनेको जुनसुकै चामललाई पनि अक्षरको अक्षता भन्न थाल्यौँ तर अक्षता भनेको क्षद नभएको नटुक्रिएको त्यो अक्षता जस्तो जीवन होस् भनेर देवीदेवतालाई अर्पण गरेर निधारमा लगाउने चलन हो।

जहाँसम्म टीकाको कुरा छ, टीका अक्षता भनेको जुनसुकै चामललाई पनि अक्षरको अक्षता भन्न थाल्यौँ तर अक्षता भनेको क्षद नभएको नटुक्रिएको त्यो अक्षता जस्तो जीवन होस् भनेर देवीदेवतालाई अर्पण गरेर निधारमा लगाउने चलन हो। यही अक्षता सँगैसँगै अन्य अन्न मिलाएर जमरा उमारी लगाउने चलन छ।

जौ भनेको पौष्टिक रूपमा अन्नेक स्वास्थ्यको रूपमा महत्त्वपूर्ण छ, त्यसलाई हाम्रा पुर्खाले महत्व दिएका रहेछन्। त्यही जौ मिसाएको जमरा ठूलाले सानालाई आर्शिर्वाद दिने र प्रसाद स्वरूप त्यो ग्रहण गर्ने चलन छ। त्यसमा दीर्घायुको कामना छ। दशैँको आशिर्वादमा जौ जस्तो एकदम महत्त्वपूर्ण बन भनेर दीर्घायुको कामना गरिएको हो। त्यसैले दशैँको टीका र जमराको अन्योन्याश्रित सम्बन्ध छ।

कसैले रातो रंगको टीका लगाउँदैनौँ भन्छन् भने सेतो लगाइन्छ। त्यो लगाएर मनाउन सकिन्छ। त्यसकारण त्यो देवीको प्रसाद स्वरूप लगाउने गरेको हो। देवी भनेको ईश्वरीय शक्ति हो। त्यसलाई श्रद्धा गर्नु, सम्मान गर्नु भनेको समाजमा पनि हामीले आफ्ना अग्रजलाई सम्मान गर्नु हो।

दशैँमा प्रभु शक्ति आहान, मन्त्र शक्ति आहान, उत्साह शक्ति आहान, दुर्गा यक्ष भनेर हामी भन्छौँ। यी सबै गर्नको लागि चाहिँ बलि अपरिहार्य छ, बलिबिना हुँदैन भनेर एकातिर व्याख्या गरिन्छ। बलिबिना दशैँ हुन्छ कि हुँदैन ? अब बलि भनेको शाब्दिक अर्थ उपहार दिनु चढाउनु अर्पण गर्नु हुन्छ। हाम्रो दशैँको पाठसँग सम्बन्धी र देवी भागवतमा उल्लेख भएका छन्। त्यहाँ तीन प्रकारका पूजाको उल्लेख छन्। सात्विक पूजा, राजस्व पूजा र तामसिक पूजा। यो सबैमा स्वभाव त अनि सबैले बुझेका हुन्छौ कि शक्ति पूजा भनेको सबैभन्दा श्रेष्ठ हो। समाजमा, घरमा सबैलाई असल बन भन्ने सन्देश दिइन्छ। त्यो भनेको शाब्दिक भावलाई ग्रहण गर भनेको हो। तर त्यसको उल्टो हामीले परो भने जे पनि गरे हुन्छ भनेर पूजाको नाममा पशुलाई जोडेर बलि दिन थालेका छौं। बलि दिनु भनेको आफूसँग भएको उपहार चढाउनु हो।

देवी देवतालाई दिने भनेको त राम्रो कुरा दिनु पर्यो। अथवा आफूसँग भएका नराम्रा कुराहरू अर्पण गरेर आफू राम्रो र असल बन्नु पर्यो। अहिले मानिसमा हत्या हिंसा स्वार्थ पशुभाव छ। त्यो पशुभावलाई अर्पण गरेर आफू निष्कलङ्क भएर साधना गर्नुपर्ने हो नवरात्रीमा। तर मान्छेले त्यो बिर्सेर पाठी खोजेर देवी देवताको पूजा गर्ने र कालरात्रीमा पशुलाई मार्ने र बलि दिने र त्यो प्रसाद ग्रहण गर्ने भन्ने बुझ्छौँ।

देवी भनेको सम्पूर्ण प्राणीकी आमा। तिनै आमाको अगाडि गएर आफ्नो पश्चात्ताप अर्पण गर्नुपर्ने ठाउँमा ती अबोध पशुलाई लगेर लु माता तपाईंलाई चढाएर खुसी भएका छौँ। तर आफैंले मनले सोचेर आफू जस्तो एक प्राणीलाई मारेर त्यसले धर्म हुन्छ र ? कसैले कसैलाई मारेर धर्म हुने हो भनेर आफूले आफूलाई छातीमा हात राखेर सोच्ने हो भने त्यसको जवाफ आफै आउँछ।

यो काटमार हिन्दु धर्मको सृष्टि हैन। आफ्नो संस्कृतिभित्र अहिलेको रूपमा आएको एउटा प्रथा हो। त्यसैले हाम्रो सनातन हिन्दु धर्म महान् छ।

यो काटमार हिन्दु धर्मको सृष्टि हैन। आफ्नो संस्कृतिभित्र अहिलेको रूपमा आएको एउटा प्रथा हो। त्यसैले हाम्रो सनातन हिन्दु धर्म महान् छ। यसभित्र आत्म साक्षात्कारको सन्दर्भमा त्यो पशुलाई पनि तिमी आफू जस्तै देख, आफू पनि बाँच अरूलाई पनि बचाउ भन्ने त्यत्रो महान् सिद्धान्त बोकेको सनातन हिन्दु धर्ममा पशु बलिको सन्दर्भ छिरेको छ। तर सबैलाई धन्यवाद दिनुपर्छ, पहिला जस्तो जताततै बलि दिने चलन छैन।

सात्विक बलिको सन्दर्भ चाहिँ चन्दन, अक्षता, फूल, पञ्चामृत भए सकियो। राजस्व र तामस बलि कुन सन्दर्भमा सुरु भयो ? समाजमा विभिन्न किसिमका सोच भएका मान्छे हुन्छन्। एकथरि तामस गुण भएका मानिसहरू हुन्छन्। उनीहरूलाई त्यो बुझाउन कठिन हुन्छ। कि त कुनै दुर्घटना हुनुपर्छ कि त कुनै घटना घट्नु पर्छ। त्यसपछि मात्रै मैले गरेको त गलत रहेछ भनेर थाहा पाउँछन्। कसैले दाँतले माछा मासु चपाउन छोडेपछि थाहा पाउँछन्। माछा मासु त खान नहुने कुरा रहेछ भनेर थाहा हुन्छ र तामसी स्वभाव आउँछ। तामसिकता भनेको नकारात्मकता हो। समाजमा जबसम्म नेगेटिभिटी रहिरहन्छ त्यसले उन्नति गर्न दिँदैन।