खेलकुद

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

By खबरहब

October 11, 2024

म्याग्दी– विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।

बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बी समूहलाई १—२ गोल प्रहार गर्दै उपाधि जितेको हो । एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः एक लाख एक हजार १० रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएको सहसचिव सचिन कार्कीले जानकारी दिए ।

प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताए ।